शीर्षकहरू

काठमाडौं महानगरको नयाँ नीति तथा कार्यक्रम : डिजिटल सुशासनदेखि ‘काठमाडौं फिल्म फेस्टिभल’ सम्मका महत्वाकांक्षी योजना

काठमाडौं महानगरको नयाँ नीति तथा कार्यक्रम : डिजिटल सुशासनदेखि ‘काठमाडौं फिल्म फेस्टिभल’ सम्मका महत्वाकांक्षी योजना

काठमाडौं । काठमाडौं महानगरपालिकाले आर्थिक वर्ष २०८३/०८४ का लागि ‘सांस्कृतिक सहर, समृद्ध महानगर’ भन्ने मूल नारासहित नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ। महानगरले सुशासन, सामाजिक विकास, स्वास्थ्य, शिक्षा, सूचना प्रविधि, वातावरण संरक्षण, पूर्वाधार विकास तथा पर्यटन प्रवर्द्धनलाई केन्द्रमा राख्दै विभिन्न महत्वाकांक्षी कार्यक्रमहरू अघि सारेको हो।

महानगरले आगामी आर्थिक वर्षमा सेवा प्रवाहलाई प्रविधिमैत्री, पारदर्शी र नागरिकमैत्री बनाउने लक्ष्यसहित प्रशासनिक सुधारका कार्यक्रमलाई प्राथमिकतामा राखेको छ। कार्यालयका सूचना तथा गतिविधिहरूको प्रभावकारी सम्प्रेषणका लागि वेबसाइट, आधिकारिक सामाजिक सञ्जाल र डिजिटल प्लेटफर्महरूको व्यापक प्रयोग गरिने नीति लिइएको छ। यससँगै महानगरपालिका तथा सबै वडा कार्यालयहरूमा ‘एकद्वार सेवा केन्द्र’ सञ्चालन गरी नागरिकलाई एउटै स्थानबाट विभिन्न सेवा उपलब्ध गराइने व्यवस्था गरिनेछ।

‘अर्न ह्वाइल यु लर्न’ कार्यक्रममार्फत युवालाई अवसर

नीति तथा कार्यक्रममा युवालाई लक्षित गर्दै ‘अर्न ह्वाइल यु लर्न’ अवधारणा अनुसार इन्टर्नसिप, फेलोशिप तथा अंशकालीन संलग्नता कार्यक्रम सञ्चालन गरिने उल्लेख गरिएको छ। यस कार्यक्रममार्फत विश्वविद्यालय तथा उच्च शिक्षामा अध्ययनरत विद्यार्थीहरूले अध्ययनसँगै व्यावहारिक अनुभव प्राप्त गर्ने अवसर पाउनेछन्।

महानगरले युवा केन्द्रित स्वरोजगार तथा उद्यमशीलता विकास कार्यक्रम सञ्चालन गरी सहुलियतपूर्ण कर्जा उपलब्ध गराउने नीति पनि लिएको छ। यसबाट युवा जनशक्तिलाई उत्पादनमूलक क्षेत्रतर्फ आकर्षित गर्दै रोजगारी सिर्जना गर्ने लक्ष्य राखिएको छ।

ज्येष्ठ नागरिकका लागि घरमै स्वास्थ्य सेवा

सामाजिक विकासअन्तर्गत महानगरले ज्येष्ठ नागरिक तथा अशक्त नागरिकलाई लक्षित विशेष कार्यक्रम ल्याएको छ। ‘ज्येष्ठ नागरिक सम्मान अभियान’ अन्तर्गत ज्येष्ठ नागरिकहरूको घरमै स्वास्थ्य परीक्षण, उपचार परामर्श तथा आवश्यक स्वास्थ्य सेवा निःशुल्क उपलब्ध गराइनेछ। महानगरले ‘मानवीयताको शहर काठमाडौं’ भन्ने अवधारणालाई व्यवहारमा उतार्दै मानवकेन्द्रित सेवा प्रणालीलाई सुदृढ बनाउने जनाएको छ।

शिक्षा क्षेत्रमा अनुसन्धान र सिर्जनशीलतामा जोड

शिक्षा क्षेत्रलाई आधुनिक र अनुसन्धानमुखी बनाउन विद्यालय शिक्षामा सूचना प्रविधिको अधिकतम प्रयोग गरिने भएको छ। विद्यार्थीहरूको सिर्जनात्मक क्षमता विकासका लागि विद्यालयहरूमा ‘सिप तथा सिर्जनात्मक शुक्रबार’ कार्यक्रम सञ्चालन गरिनेछ। यस कार्यक्रमअन्तर्गत नवप्रवर्तन, विज्ञान, प्रविधि, कला, खेलकुद तथा अतिरिक्त क्रियाकलापहरूलाई पाठ्यक्रमसँग जोडेर सञ्चालन गरिनेछ। त्यसैगरी, खेलकुद प्रतिभाको पहिचान, सम्मान तथा प्रोत्साहनका लागि विशेष कार्यक्रम सञ्चालन गरिने महानगरले जनाएको छ।

स्वास्थ्य सेवा थप प्रविधिमैत्री बनाइने

महानगरले शहरी स्वास्थ्य प्रवर्द्धन केन्द्रहरूको क्षमता विस्तार गरी आधुनिक तथा प्रविधिमैत्री स्वास्थ्य सेवा प्रदान गर्ने नीति लिएको छ। महानगरभित्र सञ्चालनमा रहेका अस्पतालहरूको नियमित अनुगमन गरी सेवा गुणस्तर सुधार गरिनेछ।

विपन्न तथा आर्थिक रूपमा कमजोर नागरिकका लागि अस्पतालहरूले अनिवार्य रूपमा उपलब्ध गराउनुपर्ने १० प्रतिशत निःशुल्क उपचार सेवा प्रभावकारी रूपमा कार्यान्वयन गरिने महानगरको योजना छ। साथै, आकस्मिक स्वास्थ्य संकट तथा विपद्को अवस्थामा छिटो उद्धार तथा स्वास्थ्य सेवा उपलब्ध गराउन ‘बाइक एम्बुलेन्स’ सेवा सञ्चालनमा ल्याइनेछ।

फोहोर व्यवस्थापनमा प्रविधिको प्रयोग

वातावरण संरक्षण तथा सरसफाइलाई उच्च प्राथमिकता दिँदै महानगरले काठमाडौंलाई सात वटा क्लस्टरमा विभाजन गरी प्रविधिमा आधारित फोहोर व्यवस्थापन प्रणाली लागू गर्ने भएको छ। फोहोरको वर्गीकरण, संकलन, ढुवानी र प्रशोधनलाई व्यवस्थित बनाउने लक्ष्य राखिएको छ।

यसैगरी, प्लास्टिकजन्य वस्तुहरूको प्रयोगलाई निरुत्साहित गर्न विशेष अभियान सञ्चालन गरिनेछ। वातावरणमैत्री विकल्पहरूको प्रयोगलाई प्रोत्साहन गर्दै प्लास्टिक प्रदूषण नियन्त्रणमा जोड दिइनेछ।

कर प्रणालीमा अडिट, विपद् व्यवस्थापनमा प्राथमिकता

राजस्व प्रशासनलाई थप पारदर्शी र उत्तरदायी बनाउन ‘कर प्रणाली अडिट’ सुरु गरिने नीति तथा कार्यक्रममा उल्लेख छ। यसले कर प्रणालीको प्रभावकारिता मूल्यांकन गरी सुधारका क्षेत्र पहिचान गर्न सहयोग पुग्ने अपेक्षा गरिएको छ। विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापनका लागि पूर्वतयारी, प्रतिकार्य योजना र आवश्यक पूर्वाधार विकासलाई प्राथमिकताका साथ अघि बढाइनेछ।

स्मार्ट प्रविधिसहितको पूर्वाधार विकास

महानगरले स्मार्ट प्रविधिको प्रयोग गरी स्ट्रीट लाइट तथा हाइमास्ट बत्तीहरूको विस्तार गर्ने योजना अघि सारेको छ। यसबाट शहरलाई थप उज्यालो, सुरक्षित तथा व्यवस्थित बनाउने लक्ष्य लिइएको छ।

महिला, अपाङ्गता भएका व्यक्ति तथा ज्येष्ठ नागरिकका नाममा आवासीय भवन निर्माण गर्दा नक्सापास दस्तुरमा २० प्रतिशत छुट प्रदान गरिने व्यवस्था पनि प्रस्ताव गरिएको छ।

 ‘खुला संग्रहालय’ का रूपमा काठमाडौं

सम्पदा, संस्कृति तथा पर्यटन प्रवर्द्धनका लागि काठमाडौंलाई ‘खुला र जीवन्त संग्रहालय’ का रूपमा विकास गर्ने नीति लिइएको छ। ऐतिहासिक सम्पदा, सांस्कृतिक धरोहर र परम्परागत कलालाई संरक्षण तथा प्रवर्द्धन गर्दै पर्यटन आकर्षण बढाउने लक्ष्य राखिएको छ।

त्यसैगरी, अन्तर्राष्ट्रिय स्तरको ‘काठमाडौं फिल्म फेस्टिभल’ आयोजना गरी काठमाडौंलाई सांस्कृतिक तथा चलचित्र गतिविधिको केन्द्रका रूपमा स्थापित गर्ने योजना पनि सार्वजनिक गरिएको छ।

सूचना प्रविधिमा ‘केएमसी ड्यासबोर्ड’

महानगरले सेवा प्रवाह, योजना कार्यान्वयन, गुनासो व्यवस्थापन तथा सार्वजनिक निगरानीलाई प्रभावकारी बनाउन स्थापना गर्ने भएको छ। यस प्रणालीमार्फत नागरिकहरूले महानगरका सेवा र योजनाको वास्तविक समयको जानकारी प्राप्त गर्न सक्नेछन्।

साथै, महानगरका सम्पूर्ण सूचना प्रणालीहरूलाई राष्ट्रिय परिचयपत्र तथा नागरिक एपसँग अन्तरआवद्ध बनाइने नीति लिइएको छ। यसबाट सेवा प्रवाह थप छरितो, सुरक्षित र एकीकृत हुने अपेक्षा गरिएको छ।

खाद्य सुरक्षा र पशु कल्याणमा विशेष ध्यान

उपभोक्ता हित संरक्षणका लागि खाद्य स्वच्छता, गुणस्तर परीक्षण तथा जंक फूड नियन्त्रणसम्बन्धी कार्यक्रमलाई प्रभावकारी रूपमा सञ्चालन गरिनेछ। विद्यालय, होटल, रेस्टुरेन्ट तथा खाद्य उद्योगहरूको नियमित अनुगमन गरिने जनाइएको छ।

त्यसैगरी, सडक कुकुर तथा बाँदरको बढ्दो संख्या व्यवस्थापन गर्न पशु कल्याणलाई सुनिश्चित गर्दै मानवीय र वैज्ञानिक उपायहरू अवलम्बन गरिने नीति तथा कार्यक्रममा उल्लेख गरिएको छ।

महानगरले सार्वजनिक गरेको नीति तथा कार्यक्रमको सफल कार्यान्वयनका लागि महानगरवासी, नागरिक समाज, निजी क्षेत्र तथा सम्बन्धित सरकारी निकायहरूको सहकार्य आवश्यक रहने जनाएको छ। नीति तथा कार्यक्रमले काठमाडौंलाई आधुनिक, प्रविधिमैत्री, वातावरणमैत्री, समावेशी तथा सांस्कृतिक रूपमा समृद्ध महानगरका रूपमा रूपान्तरण गर्ने लक्ष्य लिएको छ।
 

प्रतिक्रिया