काठमाडौं । परराष्ट्रमन्त्री शिशिर खनाल चारदिने औपचारिक भ्रमणका लागि चीनको राजधानी बेइजिङ पुगेका छन्। चीनका विदेशमन्त्री वाङ यी को निमन्त्रणामा उनी आइतबार बेइजिङ पुगेका हुन्।
बेइजिङस्थित नेपाली दूतावासका अनुसार डासिङ अन्तर्राष्ट्रिय विमानस्थलमा मन्त्री खनाललाई चीनका लागि नेपालका कार्यवाहक राजदूत रोशन खनाल तथा चिनियाँ विदेश मन्त्रालयका अधिकारीहरूले स्वागत गरेका थिए।
भ्रमणका क्रममा परराष्ट्रमन्त्री खनालको सम्मानमा नेपाली दूतावासले स्वागत समारोह आयोजना गरेको छ। सो अवसरमा उनले चीनमा रहेका नेपाली समुदायसँग अन्तरक्रिया गर्ने कार्यक्रमसमेत रहेको छ।
मन्त्री खनालले सोमबार आफ्ना चिनियाँ समकक्षी वाङ यीसँग द्विपक्षीय वार्ता गर्नेछन्। वार्तामा नेपाल–चीन सम्बन्ध, आर्थिक तथा विकास सहकार्य, पूर्वाधार, व्यापार, लगानी र आपसी हितका विविध विषयमा छलफल हुने अपेक्षा गरिएको छ।
भ्रमणका क्रममा उनले चीन सरकारका अन्य उच्च अधिकारीहरूसँग पनि छुट्टाछुट्टै भेटवार्ता गर्ने कार्यक्रम रहेको छ।
यस्तै, मंगलबार बेइजिङस्थित नेपाली दूतावासले आयोजना गर्ने लगानी सम्मेलनमा मन्त्री खनाल सहभागी हुनेछन्। सम्मेलनमा उनले चिनियाँ उद्योगी तथा व्यवसायीहरूसँग नेपालमा लगानीका अवसर र सम्भावनाबारे छलफल गर्नेछन्।
परराष्ट्रमन्त्री खनाल बुधबार स्वदेश फर्किने कार्यक्रम रहेको छ।
आर्थिकन्यूज
प्रतिक्रिया