शीर्षकहरू

नेप्सेमा बैंक-बीमा क्षेत्रको दबदबा, कुल बजार पुँजीकरणमा ५० प्रतिशत हिस्सा

जलविद्युत् दोस्रो ठूलो क्षेत्र, लगानी र उत्पादन समूह विस्तार; सूचीकृत कम्पनी र बजार आकार दुवै बढ्दै

नेप्सेमा बैंक-बीमा क्षेत्रको दबदबा, कुल बजार पुँजीकरणमा ५० प्रतिशत हिस्सा

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा सूचीकृत कम्पनीहरूको बजार पुँजीकरणमा बैंक तथा वित्तीय संस्था र बीमा कम्पनीहरूको वर्चस्व कायम रहेको छ। समग्र बजार पुँजीकरणमा यस क्षेत्रको हिस्सा ५०.७ प्रतिशत पुगेको छ।

आर्थिक वर्ष २०८२/८३ को दश महिनासम्म (२०८३ वैशाखसम्म) उपलब्ध तथ्यांकका आधारमा जलविद्युत् क्षेत्र दोस्रो ठूलो हिस्सामा रहेको छ। यस क्षेत्रको बजार पुँजीकरण हिस्सा १७.५ प्रतिशत रहेको छ।

त्यसैगरी लगानी कम्पनीहरूको हिस्सा ६.९ प्रतिशत, उत्पादन तथा प्रशोधन उद्योगको ८.८ प्रतिशत, व्यापारिक संस्थाको ४.६ प्रतिशत, होटल क्षेत्रको ३.३ प्रतिशत तथा अन्य समूहका कम्पनीहरूको हिस्सा ८.३ प्रतिशत रहेको छ।

बैंक तथा बीमा क्षेत्रको उच्च दबदबा कायम रहँदा जलविद्युत् तथा अन्य उत्पादनमुखी क्षेत्रहरू क्रमशः विस्तार भइरहेको तथ्यांकले देखाएको छ। समग्रमा पुँजी बजारमा क्षेत्रगत सहभागिता बढ्दै गएको विश्लेषण गरिएको छ।

सूचीकृत कम्पनी र धितोपत्र विस्तार

नेपाल स्टक एक्सचेञ्जमा २०८३ वैशाख मसान्तसम्म सूचीकृत शेयर संख्या ९ अर्ब ४८ करोड पुगेको छ। उक्त शेयरको चुक्ता मूल्य ९ खर्ब  ३४ अर्ब ८ करोड रहेको छ।

आर्थिक वर्ष २०८२/८३ को दश महिनामा मात्र ठूलो परिमाणमा धितोपत्र थप सूचीकृत भएका छन्। यस अवधिमा यसरी कुल १ खर्ब ३६ अर्ब ३० करोड बराबरको थप धितोपत्र नेप्सेमा सूचीकृत भएको छ।

यस अवधिमा ४५ अर्ब ५४ करोड बराबरको साधारण शेयर, ४० अर्ब ३३ करोड बराबरको बोनस शेयर, ९ अर्ब ६४ करोड बराबरको हकप्रद शेयर, २७ अर्ब ५० करोड बराबरको म्युचुअल फन्ड, ३ अर्ब ४५ करोड बराबरको डिबेन्चर, ९७ करोड १७ लाख बराबरको एफपीओ तथा २ करोड २९ लाख बराबरको अन्य धितोपत्र सूचीकृत भएका छन्।

त्यसैगरी, नेपाल धितोपत्र बोर्डले समीक्षा अवधिमा ४१ अर्ब ५३ करोड बराबरको धितोपत्र सार्वजनिक निष्काशनका लागि अनुमति दिएको छ। यसमा म्युचुअल फन्ड, साधारण शेयर, हकप्रद, डिबेन्चर र एफपीओ समावेश छन्।

बोर्डले २७ अर्ब २३ करोड बराबरको म्युचुअल फन्ड, ९ अर्ब १२ करोड बराबरको साधारण शेयर, ४ अर्ब ९४ करोड बराबरको हकप्रद शेयर, २० करोड बराबरको डिबेन्चर तथा ५ करोड बराबरको एफपीओ निष्काशन अनुमति दिएको छ।

यस अवधिमा म्युचुअल फन्ड, साधारण शेयर र हकप्रद शेयरको स्वीकृति प्रमुख रूपमा देखिएको छ भने डिबेन्चर र एफपीओको हिस्सा तुलनात्मक रूपमा सानो रहेको छ। यसले पुँजी बजारमा संस्थागत उपकरणहरूको विस्तार जारी रहेको संकेत गरेको छ।

बजार सूचक र पुँजीकरण

आर्थिक वर्ष २०८२/८३ को दश महिनामा अवधिसम्म नेप्से परिसूचक २६२०.२७ विन्दुमा कायम रहेको छ। अघिल्लो वर्षको सोही अवधिमा यो सूचक २७३०.१८ विन्दु रहेको थियो।

त्यसैगरी, कुल बजार पुँजीकरण ४६ खर्ब ४५ अर्ब ४५ करोड पुगेको छ, जुन अघिल्लो वर्षको ४३ खर्ब ५८ अर्ब ७१ करोडभन्दा बढी हो।

कुल गार्हस्थ उत्पादन सँग तुलना गर्दा बजार पुँजीकरणको अनुपात ७०.५५ प्रतिशत पुगेको छ। अघिल्लो वर्ष यो अनुपात ७०.३० प्रतिशत रहेको थियो।

समग्र तथ्यांकले नेपालमा धितोपत्र बजारको आकार विस्तार भइरहेको र सूचीकृत कम्पनीहरूको सहभागिता बढ्दै गएको देखाएको छ।

प्रतिक्रिया