काठमाडौं । संयुक्त राज्य अमेरिकासँग सम्भावित शान्ति सम्झौताको चर्चा तीव्र भइरहेका बेला इरानभित्र त्यसको विरोध चर्किएको छ। उत्तरपूर्वी सहर मशहदमा विदेश मन्त्रालयको कार्यालय बाहिर प्रदर्शनकारीहरूले सम्भावित सम्झौताविरुद्ध नाराबाजी गर्दै विदेशमन्त्री अब्बास अराघचीको राजीनामा माग गरेका छन्।
इरानी समाचार संस्था फार्सले सार्वजनिक गरेको भिडियोमा कालो पोशाक लगाएका महिलासहित दर्जनौँ प्रदर्शनकारी रातो र कालो झण्डा बोकेर विदेश मन्त्रालयको कार्यालय अगाडि भेला भएका देखिन्छन्। उनीहरूले “अराघची, राजीनामा देऊ” र “घुसपेठीहरू मूर्दावाद” जस्ता नारा लगाएका थिए।
विरोधको पृष्ठभूमिमा विदेशमन्त्री अराघचीले हालै राज्य टेलिभिजनमा दिएको अन्तर्वार्ता रहेको बताइएको छ। उक्त अन्तर्वार्तामा उनले सम्भावित अमेरिका–इरान सम्झौताका केही पक्षबारे संकेत गरेपछि देशभित्र राजनीतिक बहस थप चर्किएको हो।
सम्झौताका आलोचकहरूले प्रस्तावित व्यवस्थाले इरानको रणनीतिक हित कमजोर पार्न सक्ने दाबी गरेका छन्। विशेषगरी हर्मुज जलघाँटीमाथिको तेहरानको प्रभाव घट्ने र वार्ताकारहरूले अत्यधिक रियायत दिएको उनीहरूको आरोप छ।
राज्य टेलिभिजनमार्फत सम्भावित सम्झौतामा इरानी बन्दरगाहमाथिको अमेरिकी नौसैनिक नाकाबन्दी हटाउने प्रावधान समावेश हुन सक्ने जानकारी सार्वजनिक भएपछि असन्तुष्टि अझ बढेको बताइएको छ। लामो समयदेखि अमेरिका र इरानबीच हर्मुज जलघाँटीको नियन्त्रण महत्वपूर्ण विवादको विषय रहँदै आएको छ।
अराघचीले अन्तर्वार्तामा “हर्मुज जलघाँटीको प्रशासन अब पहिले जस्तै रहने छैन” भन्दै उक्त जलमार्ग इरानको प्रतिरोध क्षमताको महत्वपूर्ण साधन रहेको बताएका थिए।
यसैबीच सामाजिक सञ्जालमा प्रसारित केही अप्रमाणित भिडियोहरूले तेहरानस्थित विदेश मन्त्रालयको मुख्यालय बाहिर पनि यस्तै प्रदर्शन भएको दाबी गरेका छन्। ती दृश्यहरूमा प्रदर्शनकारीहरूले विदेशमन्त्री अराघचीसँगै संसद्का अध्यक्ष मोहम्मद बाघेर गालिबफ को समेत राजीनामा माग गरेका देखिन्छन्।
अर्कोतर्फ अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प तथा पाकिस्तानी अधिकारीहरूले सम्झौता छिट्टै अन्तिम रूप लिन सक्ने संकेत दिएका छन्। इस्लामाबादले आइतबार नै विद्युतीय हस्ताक्षरमार्फत सम्झौता सम्पन्न हुन सक्ने सम्भावना औँल्याएको छ।
तर तेहरानले भने समयसीमाबारे सावधानी अपनाएको छ। इरानी विदेश मन्त्रालयका प्रवक्ता इस्माइल बाघाई ले सम्झौता तत्काल सम्पन्न हुने दाबीलाई कम महत्त्व दिँदै “यो भोलिपल्ट हुने विषय होइन” बताएका छन्। यद्यपि आगामी दिनहरूमा सम्झौताले औपचारिक रूप लिन सक्ने सम्भावनालाई उनले पूर्ण रूपमा अस्वीकार गरेका छैनन्।
आर्थिकन्यूज
प्रतिक्रिया