शीर्षकहरू

गोल्याण ग्रुपको रक्तदान कार्यक्रम: समाजसँग व्यवसाय जोड्न सांसद रञ्जु दर्शनाको आग्रह

गोल्याण ग्रुपको रक्तदान कार्यक्रम: समाजसँग व्यवसाय जोड्न सांसद रञ्जु दर्शनाको आग्रह

काठमाडौँ । गोल्याण ग्रुपले विश्व रक्तदाता दिवसको अवसरमा आयोजना गरेको रक्तदान कार्यक्रममा प्रतिनिधिसभा सदस्य रञ्जु दर्शनाले व्यवसायलाई समाज विकाससँग जोड्नु सकारात्मक अभ्यास भएको बताएकी छन्।

कार्यक्रममा बोल्दै सांसद दर्शनाले व्यवसायिक क्षेत्रले आर्जन गरेको स्रोतलाई सामाजिक उत्तरदायित्वका कार्यमा प्रयोग गर्नु समयसापेक्ष र प्रशंसनीय कदम भएको उल्लेख गरिन्। उनले गोल्याण ग्रुपले सामाजिक कार्यमार्फत समुदायसँग सम्बन्ध विस्तार गर्दै आएको भन्दै यसको सराहना गरिन्।

दर्शनाले व्यवसायलाई केवल नाफा–केन्द्रित नभई समाजसँग जोड्ने माध्यम बनाउनुपर्ने धारणा राखिन्। उनले भनिन्, “व्यापार–व्यवसायबाट कमाएको स्रोत समाज विकासमा पनि लगानी हुनुपर्छ। समाजसँग जोडिनु निकै राम्रो काम हो।”

उनले रक्तदानजस्ता कार्यक्रमले आपतकालीन अवस्थामा जीवन बचाउन महत्वपूर्ण भूमिका खेल्ने भन्दै यस प्रकारका सामाजिक अभियानलाई निरन्तरता दिनुपर्ने बताइन्।

गोल्याण ग्रुपको कार्यालय रहेको क्षेत्र आफ्नो निर्वाचन क्षेत्रसमेत भएको उल्लेख गर्दै उनले यस्ता सामाजिक अभियानमा स्थानीय समुदायलाई अझ व्यापक रूपमा सहभागी गराउन सुझाव दिइन्।

गोल्याण ग्रुपको सामाजिक प्रतिबद्धता

गोल्याण ग्रुपका अध्यक्ष तथा प्रबन्ध निर्देशक अक्षय गोल्याणले व्यवसायमार्फत राष्ट्रिय अर्थतन्त्रमा योगदान दिइरहेको उल्लेख गर्दै अब सामाजिक उत्तरदायित्वका कार्यक्रमलाई अझ प्राथमिकताका साथ अघि बढाइने बताए।

उनले रक्तदानलाई मानव जीवनसँग प्रत्यक्ष सम्बन्धित अत्यन्त महत्वपूर्ण कार्य भन्दै यसको मूल्य कुनै आर्थिक सूचकसँग तुलना गर्न नसकिने बताए।

सहिद परिवारलाई सहयोग कार्यक्रम

ग्रुपले हालैका सामाजिक अभियानअन्तर्गत सहिद परिवारका बालबालिका तथा अभिभावकलाई लक्षित गरी शिक्षा र स्वास्थ्य सहायता कार्यक्रम सञ्चालन गरिरहेको जानकारी दिएको छ।

उक्त कार्यक्रमअन्तर्गत २२ जना सहिदका ३२ जना बालबालिकालाई मासिक छात्रवृत्ति उपलब्ध गराइएको तथा सहिदका ४३ जना अभिभावकलाई स्वास्थ्य बीमा सुविधा प्रदान गरिएको बताइएको छ।

१०० जनाको रक्तदान

गोल्याण ग्रुपका निर्देशक शक्तिकुमार गोल्याणले रक्तदान कार्यक्रमले देशमा देखिएको रगत अभाव न्यूनीकरण गर्न सहयोग पुग्ने विश्वास व्यक्त गरे।

नेपाल रेडक्रस सोसाइटीका अनुसार देशमा वार्षिक करिब ३ लाखदेखि ४ लाख पिन्ट रगत आवश्यक पर्नेमा करिब १ लाख पिन्ट अभाव रहने गरेको छ।

कार्यक्रममा ग्रुपका कर्मचारी, पत्रकार तथा स्थानीय समुदायका सदस्यसहित करिब १०० जनाले रक्तदान गरेका थिए। कम्पनीले यस्ता कार्यक्रममार्फत सामाजिक उत्तरदायित्व अझ सुदृढ बनाउने लक्ष्य राखेको जनाएको छ।

null

प्रतिक्रिया