काठमाडौं। कृत्रिम बुद्धिमत्ता (एआई), बढ्दो श्रम गतिशीलता तथा जलवायु परिवर्तनका बहुआयामिक चुनौतीबीच विकास प्रक्रियामा निजी क्षेत्रसँगको सहकार्यलाई अझ संस्थागत र विस्तार गर्नुपर्ने आवश्यकता औंल्याइएको छ।
काठमाडौंमा सम्पन्न “समावेशी विकासका लागि निजी क्षेत्रको संलग्नता” विषयक क्षेत्रीय सम्मेलनमा सहभागी नीति निर्माता, व्यवसायी, विकास साझेदार र विज्ञहरूले निजी क्षेत्र अब केवल लाभग्राही नभई विकासको रणनीतिक साझेदारका रूपमा स्थापित हुनुपर्नेमा जोड दिएका छन्।
नेपाल उद्योग परिसंघ (सीएनआई) र हेल्भेटास नेपालको संयुक्त आयोजनामा भएको सम्मेलनमा नेपालसहित क्षेत्रीय देशका करिब १५० प्रतिनिधिहरूको सहभागिता रहेको थियो। सम्मेलनमा सीप विकास, उद्यमशीलता प्रवर्द्धन र दिगो आर्थिक विकासमा निजी क्षेत्रको भूमिकाबारे विस्तृत छलफल गरिएको थियो।
कार्यक्रमका प्रमुख अतिथि राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. गुणाकर भट्टले सरकारले लगानीमैत्री वातावरण निर्माणमा प्रतिबद्धता जनाएको उल्लेख गर्दै सार्वजनिक क्षेत्र मात्र आर्थिक वृद्धिको एकमात्र इन्जिन हुन नसक्ने स्पष्ट पारे। उनले समावेशी विकासका लागि निजी क्षेत्रको सक्रिय भूमिकालाई अपरिहार्य बताउँदै श्रमशक्ति र साना व्यवसायलाई मूल्य शृंखलामा जोड्नुपर्नेमा जोड दिए।
पूर्व अर्थमन्त्री रामेश्वर खनालले लगानी, उत्पादन र रोजगारी विस्तारका लागि निजी क्षेत्रमैत्री नीति र नियामक सहजीकरण आवश्यक रहेको बताए। उनले सरकारले नियन्त्रकभन्दा सहजकर्ताको भूमिका खेल्नुपर्ने धारणा राखे।
सीएनआई अध्यक्ष वीरेन्द्रराज पाण्डेले रोजगारी सिर्जना र प्रतिस्पर्धात्मक अर्थतन्त्रका लागि सरकार, निजी क्षेत्र, श्रमिक र विकास साझेदारबीच नयाँ विकास सम्झौता आवश्यक रहेको बताए।
हेल्भेटास एसियाका संयोजक डा. जुएर्ग मर्जले निजी क्षेत्रको संलग्नता केवल स्रोत परिचालन नभई साझा मूल्य निर्माण गर्ने संरचित साझेदारी भएको उल्लेख गरे। स्विस विकास तथा सहयोग नियोग (एसडीसी) का उपप्रमुख माथियास मायरले दिगो विकासका लागि जोखिम, लागत र जिम्मेवारी बाँडफाँड हुने साझेदारी आवश्यक रहेको बताए।
सम्मेलनमा नेपाल, म्यानमार, बंगलादेश र भियतनामका प्रतिनिधिहरूले सीप विकास र उद्यमशीलता प्रवर्द्धनका अनुभव आदानप्रदान गरेका थिए। सहभागीहरूले निजी क्षेत्रलाई विकास योजनाको सह-लगानीकर्ता, नवप्रवर्तनकर्ता र दीर्घकालीन विकास परिणामका साझेदारका रूपमा स्वीकार गर्नुपर्ने निष्कर्ष निकाले।
हेल्भेटास नेपालका कन्ट्री डाइरेक्टर मनीष प्रधानले सम्बन्ध र विश्वासमा आधारित बलियो साझेदारीले मात्र विकासलाई प्रभावकारी बनाउन सक्ने बताए।
सम्मेलनअन्तर्गत आयोजित सीप प्रतियोगितामा सूचना प्रविधि, अटोमोबाइल र आतिथ्य क्षेत्रका प्रशिक्षार्थीहरूले आफ्नो क्षमता प्रदर्शन गरेका थिए। सो प्रतियोगितामा सुष्मा तामाङ (आईटी), प्रेम गोले (अटोमोबाइल) र सुदीप वाइबा (आतिथ्य) विजेता बनेका थिए। साथै अमृता प्रजाले CBPI प्रेसिडेन्सियल अवार्ड २०२६ प्राप्त गरेकी थिइन्।
त्यस्तै सम्मेलनमा आयोजित डिजिटल मार्केटप्लेसमा सीप विकास, रोजगारी, उद्यमशीलता र डिजिटल रूपान्तरणसँग सम्बन्धित नवप्रवर्तनशील समाधानहरू प्रस्तुत गरिएको थियो।
सम्मेलनले निजी क्षेत्रलाई विकासको सह-नेतृत्वकर्ता बनाउँदै समावेशी, दिगो र प्रविधिमैत्री आर्थिक विकासलाई अघि बढाउने साझा प्रतिबद्धता व्यक्त गर्दै सम्पन्न भएको छ।
आर्थिकन्यूज
प्रतिक्रिया