काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) परित्याग गरेका धवलशमशेर राणा ले मुलुकमा बलियो राष्ट्रवादी राजनीतिक शक्तिको अभाव रहेको भन्दै नयाँ राजनीतिक दल निर्माणको अभियान अघि बढाइएको बताएका छन्।
प्रस्तावित राष्ट्रवादी पार्टी निर्माणार्थ आयोजित जिम्मेवारी हस्तान्तरण तथा परिचयात्मक कार्यक्रममा बोल्दै राणाले राप्रपाले राष्ट्रवादी शक्तिको आवश्यकता पूरा गर्न नसकेको दाबी गरे। उनले पछिल्ला उपनिर्वाचन र हालै सम्पन्न प्रतिनिधिसभा निर्वाचनको नतिजाले पनि त्यसलाई पुष्टि गरेको बताए।
राणाले मुलुकमा राष्ट्रवादी शक्तिको आवश्यकता रहेको विषयमा व्यापक सहमति भए पनि राप्रपा त्यसको प्रभावकारी विकल्प बन्न नसकेको बताए।
उनले सनातन धर्म, बौद्ध तथा किराँत धर्मलाई समेट्ने सनातनी हिन्दू अधिराज्यको एजेन्डालाई जनताले अस्वीकार गरेको भन्ने विश्लेषण सही नभएको जिकिर गरे। उनका अनुसार जनताले अस्वीकार गरेको विषय एजेन्डा नभई राप्रपाको नेतृत्व र कार्यशैली हो।
राणाले विगत ३५ वर्षमा नेपाली जनताले राजसंस्था र हिन्दू राष्ट्रको एजेन्डा स्थापित गर्न पटक–पटक राप्रपालाई समर्थन गरेको तर पार्टी नेतृत्वले त्यसप्रति इमानदार भूमिका निर्वाह गर्न नसकेको आरोप लगाए।
उनले शीर्ष नेताहरू व्यक्तिगत स्वार्थमा केन्द्रित हुँदा पार्टीको मूल राजनीतिक उद्देश्य कमजोर बनेको टिप्पणी गरे।
नयाँ पार्टीको संरचना र सञ्चालनबारे बोल्दै राणाले संगठन सहमति र लोकतान्त्रिक विधिबाट सञ्चालन हुने बताए। उनले अनुशासनका नाममा दण्डात्मक शैली नअपनाइने र सबैलाई समेटेर अगाडि बढ्ने प्रतिबद्धता व्यक्त गरे।
उनका अनुसार सातवटै प्रदेशमा संगठन विस्तारको तयारी भइरहेको छ। आगामी स्थानीय तह निर्वाचनमा भ्रष्टाचारमा संलग्न नभएका, जनतामाझ लोकप्रिय तथा योग्य व्यक्तिलाई उम्मेदवार बनाइने उनले बताए।
‘म इमानदार मानिस हुँ’ : दुर्गा प्रसाईं
कार्यक्रममा राष्ट्र, राष्ट्रियता, धर्म संस्कृति र नागरिक बचाउ महाभियानका संयोजक दुर्गा प्रसाईं ले देश निर्माणको जिम्मेवारी गम्भीर विषय भएको बताएका छन्।
आफूहरूलाई विभिन्न समयमा अराजक भन्ने आरोप लाग्ने गरेको उल्लेख गर्दै उनले आफू इमानदार व्यक्ति भएको दाबी गरे।
प्रसाईंले सत्य र इमानदारीका आधारमा समाज तथा देश परिवर्तनको अभियान अघि बढाइने बताउँदै व्यक्तिगत लाभका लागि राजनीति नगरेको दाबी गरे।
उनले झुट र स्वार्थको राजनीतिभन्दा मूल्य, मान्यता र राष्ट्रिय हितलाई केन्द्रमा राखेर अगाडि बढ्ने प्रतिबद्धता व्यक्त गरे।
आर्थिकन्यूज
प्रतिक्रिया