काठमाडौं । धितोपत्र बजार र बीमा क्षेत्रसँग सम्बन्धित ठूलो वित्तीय अनियमितता तथा इन्साइडर ट्रेडिङको आरोपमा नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले विस्तृत अनुसन्धान प्रतिवेदन तयार गर्दै दर्जनौँ व्यक्तिविरुद्ध मुद्दा दायर गर्न सिफारिस गरेको छ। सीआईबीको निष्कर्षअनुसार विभिन्न बीमा कम्पनी, ब्रोकर फर्म तथा लगानी संरचनामार्फत अर्बौँ रुपैयाँ दुरुपयोग भएको देखिएको छ।
सीआईबीले नेपाल धितोपत्र बोर्ड (सेबोन)को जाहेरी प्रतिवेदनका आधारमा गरिएको अनुसन्धानमा हिमालयन रि–इन्स्योरेन्स, हिमालयन लाइफ इन्स्योरेन्स, नेपाल माइक्रो इन्स्योरेन्स तथा तिनका सहायक कम्पनीहरूको रकम व्यक्तिगत स्वार्थका लागि प्रयोग गरिएको दाबी गरेको छ ।
अनुसन्धानअनुसार भृकुटी स्टक ब्रोकिङ कम्पनी (ब्रोकर नं ५५) मार्फत बीमा कम्पनीहरूको कोषबाट रकम निकालेर व्यक्तिगत लगानीकर्ताहरूको नाममा सेयर खरिद तथा सेटलमेन्टमा प्रयोग गरिएको पाइएको उल्लेख छ ।
सीआईबीका अनुसार हिमालयन रि–इन्स्योरेन्सबाट प्राप्त करिब २ अर्ब ७३ करोड ३३ लाख रुपैयाँ विभिन्न व्यक्तिहरूको नाममा रहेका ग्राहक खातामार्फत सेयर कारोबारमा प्रयोग गरिएको देखिएको छ। समग्रमा विभिन्न बीमा कम्पनी तथा सम्बन्धित संस्थामार्फत ३ अर्ब ७३ करोड ८५ लाख रुपैयाँभन्दा बढी रकम अनियमित रूपमा परिचालन गरिएको निष्कर्ष प्रतिवेदनमा उल्लेख छ ।
अनुसन्धान प्रतिवेदनमा सुलभ अग्रवाल, दीपक भट्ट, शेखर गोल्छा लगायतको समूहले नियामकीय सीमा उल्लङ्घन गर्दै बीमा कम्पनीको रकम प्रयोग गरी सेयर बजारमा कारोबार गरेको तथा बजार प्रभावित पार्ने गतिविधिमा संलग्न रहेको आरोप लगाइएको छ।
सीआईबीले लगानी समितिको स्वीकृतिबिना तथा बीमा प्राधिकरणको निर्देशन विपरीत रकम परिचालन गरिएको दाबी गर्दै यो कार्य इन्साइडर ट्रेडिङ तथा बीमा क्षेत्रको रकम अपचलन अन्तर्गत पर्ने जनाएको छ।
प्रतिवेदनअनुसार प्रकरणमा हिमालयन रि–इन्स्योरेन्स, नेपाल माइक्रो इन्स्योरेन्स, हिमालयन लाइफ इन्स्योरेन्सका पदाधिकारी तथा भृकुटी स्टक ब्रोकिङ कम्पनीका कार्यकारी सञ्चालकसहित करिब ५९ जनालाई प्रतिवादी बनाउन सिफारिस गरिएको छ।
सीआईबीले मुख्य योजनाकारका रूपमा सुलभ अग्रवालमाथि ३ अर्ब ७३ करोड ८५ लाख रुपैयाँ बिगो कायम गर्न सिफारिस गरेको छ। त्यस्तै दीपक भट्टमाथि २ अर्ब ८९ करोड २० लाख, शुभी अग्रवालमाथि ६२ करोड ९० लाख, राजबहादुर शाहमाथि ८९ करोड ७१ लाख तथा ऋषिराज मोरमाथि २३ करोड १ लाख रुपैयाँ बिगो दाबी गरिएको छ।
यसैबीच हिमालयन सेक्युरिटिज बैंकर लिमिटेडमा २२ करोड रुपैयाँभन्दा बढी तथा हिमालयन क्यापसर्भ लिमिटेडमा ३७ करोड रुपैयाँ अनियमितता भएको निष्कर्ष पनि प्रतिवेदनमा उल्लेख छ। हिमालयन इन्भेस्टमेन्ट बैंकर र हिमालयन लार्ज क्याप फन्डमा समेत २५ करोड ३७ लाख रुपैयाँभन्दा बढी रकम दुरुपयोग भएको पाइएको सीआईबीले जनाएको छ।
सीआईबीले प्रतिवादीहरूलाई बीमा ऐन, २०७९ को दफा १४० र १४१ अन्तर्गत बीमा कम्पनीको रकम अपचलन, हिनामिना, इन्साइडर ट्रेडिङ तथा धितोपत्र बजारमा मूल्य हेरफेर गरेको कसुरमा हदैसम्मको कैद, जरिवाना र बिगो जफतको मागसहित मुद्दा दायर गर्न सरकारी वकिल कार्यालयलाई सिफारिस गरेको छ । यहि व्यक्तिबाट ४२ जनालाई बीमा सम्बन्धी कसुरमा पनि मुद्दा दायर गरिएको स्रोतले जनाएको छ ।
इन्द्र बानिया
प्रतिक्रिया