काठमाडौँ। नेपाल राष्ट्र बैंकले गरेको पछिल्लो अध्ययनले मुलुकको औद्योगिक क्षेत्रको विकासमा दक्ष जनशक्तिको अभावलाई प्रमुख अवरोधका रूपमा औँल्याएको छ। अध्ययनअनुसार कच्चा पदार्थको आपूर्ति, उत्पादित वस्तुको बजार अभाव, उच्च उत्पादन लागत र प्रविधिगत कमजोरीले उद्योग क्षेत्रको विस्तारमा गम्भीर असर पारेको छ।
राष्ट्र बैंकको अर्धवार्षिक प्रतिवेदनअनुसार पर्याप्त पुँजी अभाव, पूर्ण क्षमतामा उद्योग सञ्चालन हुन नसक्नु, जनशक्ति पलायन तथा पर्यावरणमैत्री उद्योग व्यवस्थापनको कमजोरीजस्ता समस्या प्रमुख चुनौतीका रूपमा देखिएका छन्।
त्यस्तै औद्योगिक पूर्वाधार कमजोर हुनु, निर्यातयोग्य वस्तुको विविधीकरण हुन नसक्नु र स्वदेशी उत्पादनको प्रतिस्पर्धात्मक क्षमता कमजोर रहनु पनि उद्योग क्षेत्रका संरचनागत समस्या रहेको प्रतिवेदनले देखाएको छ।
कर्णाली प्रदेशमा सञ्चालनमा रहेका उद्योगहरूमा पुँजी अभाव र बजार पहुँचको समस्या प्रमुख देखिएको छ। उत्पादनशील उद्योगलाई टिकाइ राख्न नसक्नु र दक्ष प्राविधिक जनशक्तिको अभावले औद्योगिक विकास सुस्त भएको अध्ययनको निष्कर्ष छ।
सुदूरपश्चिम प्रदेशमा खुला सीमा नाकाका कारण हुने अवैध आयात तथा भन्सार छली नियन्त्रण गर्न नसक्नु स्थानीय उद्योग प्रवर्द्धनका लागि चुनौती बनेको छ।
अध्ययनले नेपालमा औद्योगिक विकासका प्रशस्त सम्भावना रहेको पनि देखाएको छ। जलविद्युत् विस्तार, विशेष आर्थिक क्षेत्र तथा औद्योगिक ग्राम निर्माणलाई उद्योग विस्तारका प्रमुख आधारका रूपमा लिइएको छ।
कृषि उत्पादन, जडिबुटी तथा खानीजन्य स्रोतहरूको उपलब्धताले कृषि तथा प्राकृतिक स्रोतमा आधारित उद्योग विस्तार गर्न सकिने उल्लेख गरिएको छ।
त्यसैगरी सूचना प्रविधि सेवा, सफ्टवेयर विकास र आउटसोर्सिङ उद्योगको सम्भावना उच्च रहेको अध्ययनले देखाएको छ।
प्रदेशअनुसार औद्योगिक अवसर
मधेस प्रदेशमा कृषि उत्पादनको प्रचुरताका कारण खाद्य प्रशोधन, दुग्ध, चिनी, तेल तथा पशु आहार उद्योगको ठूलो सम्भावना रहेको छ। साथै पर्यटन, मिथिला कला तथा हस्तकलामा आधारित उद्योग विकास गर्न सकिने उल्लेख छ।
बागमती प्रदेशमा खाद्य प्रशोधन, मासु तथा दुग्धजन्य उद्योग, जडिबुटी प्रशोधन तथा साना–मझौला उद्योग विस्तारको राम्रो अवसर रहेको अध्ययनले देखाएको छ।
गण्डकी प्रदेशमा पूर्वाधार विकास, स्वदेशी उत्पादन प्रवर्द्धन र ‘मेक इन नेपाल’ अभियानमार्फत औद्योगिक विकासलाई गति दिन सकिने प्रतिवेदनको निष्कर्ष छ।
नीति सुधार र लगानी विस्तारको आवश्यकता
राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थामा उपलब्ध लगानीयोग्य रकम, न्यून ब्याजदर र डिजिटल प्रविधिको विस्तारलाई औद्योगिक विकासका अवसरका रूपमा उल्लेख गरेको छ।
सरकारी तथा निजी क्षेत्रबीच सहकार्य बढाउन सके उत्पादन वृद्धि, रोजगारी सिर्जना र निर्यात विस्तार सम्भव हुने अध्ययनले जोड दिएको छ।
प्रतिवेदनले नेपालको औद्योगिक क्षेत्रमा संरचनागत समस्या रहे पनि प्राकृतिक स्रोत, जनशक्ति र वित्तीय सम्भावनाको आधारमा ठूलो विकास सम्भावना रहेको निष्कर्ष निकालेको छ। दक्ष जनशक्ति विकास, पूर्वाधार सुधार र नीति स्थायित्वलाई उद्योग विस्तारका प्रमुख आधारका रूपमा लिइएको छ।
आर्थिकन्यूज
प्रतिक्रिया