काठमाडौं । एनएमबि बैंक लिमिटेडले आगामी असार १ गतेदेखि लागू हुने गरी निक्षेप तथा कर्जाको नयाँ ब्याजदर सार्वजनिक गरेको छ। बैंकले बजारमा देखिएको उच्च तरलता र कर्जाको सुस्त मागलाई मध्यनजर गर्दै ब्याजदरमा समायोजन गरेको जनाएको छ।
बैंकले सार्वजनिक गरेको नयाँ ब्याजदरअनुसार विभिन्न बचत खाताहरूमा २.७६ प्रतिशतदेखि ४.०१ प्रतिशतसम्म ब्याजदर प्रदान गरिनेछ। ‘एनएमबि जन्मभूमि बचत खाता’ (रेमिट्यान्स) मा सबैभन्दा बढी ४.०१ प्रतिशत ब्याजदर कायम गरिएको छ।
त्यसैगरी, व्यक्तिगत मुद्दती निक्षेपमा अवधि अनुसार २.७६ प्रतिशतदेखि ४.७५ प्रतिशतसम्म ब्याजदर निर्धारण गरिएको छ। पाँच वर्ष वा सोभन्दा बढी अवधिको व्यक्तिगत मुद्दती निक्षेपमा ४.७५ प्रतिशत ब्याजदर प्रदान गरिने बैंकले जनाएको छ।
कर्जा क्षेत्रमा बैंकले विभिन्न आकर्षक योजनाहरू सार्वजनिक गरेको छ। ‘सुलभ घर कर्जा’ अन्तर्गत १० वर्षसम्मको अवधिका लागि ९.९९ प्रतिशत स्थिर ब्याजदर कायम गरिएको छ। यस्तै, विद्युतीय सवारीसाधन (ईभी) खरिदका लागि प्रदान गरिने अटो कर्जामा ५ वर्षसम्मको अवधिका लागि ८.८९ प्रतिशत तथा ५ देखि ७ वर्षसम्मका लागि ८.९९ प्रतिशत स्थिर ब्याजदर तोकिएको छ। साना तथा मझौला उद्यम (एसएमई/एमएसएमई) तथा व्यावसायिक कर्जाका लागि भने आधार दर (बेस रेट) मा आधारित प्रिमियम दर लागू हुने बैंकले जनाएको छ।
बैंकका अनुसार वातावरणमैत्री ‘ग्रिन होम’ कर्जामा सामान्य आवास कर्जाको तुलनामा ०.५ प्रतिशत कम ब्याजदर लाग्ने व्यवस्था गरिएको छ। साथै, सहुलियतपूर्ण कर्जा तथा नेपाल राष्ट्र बैंकद्वारा निर्देशित विशेष क्षेत्रका कर्जाहरूमा सम्बन्धित व्यवस्था अनुसार ब्याजदर लागू हुनेछ।
आर्थिकन्यूज
प्रतिक्रिया