काठमाडौं। सिद्धार्थ बैंक लिमिटेड अन्तर्राष्ट्रिय स्तरको प्रतिष्ठित इन्फोसिस फिनाकल इनोभेसन अवार्ड्स २०२६ अन्तर्गत ‘म्याक्सिमाइजिङ कस्टमर इन्गेजमेन्ट - डिजिटल फर्स्ट बैंकिङ’ विधामा गोल्ड अवार्ड बाट सम्मानित भएको छ।
विश्वभरका बैंक तथा वित्तीय संस्थाहरूले प्रविधि, नवप्रवर्तन तथा ग्राहक अनुभव अभिवृद्धिका क्षेत्रमा गरेका उत्कृष्ट अभ्यासहरूको मूल्याङ्कन गरी प्रदान गरिने उक्त अवार्डले सिद्धार्थ बैंकको डिजिटल बैंकिङ क्षेत्रप्रतिको निरन्तर प्रतिबद्धता, ग्राहक केन्द्रित सेवा तथा उत्कृष्ट ग्राहक अनुभव प्रदान गर्ने प्रयासलाई अन्तर्राष्ट्रिय स्तरमा सम्मान गरेको बैंकले जनाएको छ।
बैंकले आफ्ना ग्राहकलाई सहज, सुरक्षित तथा आधुनिक बैंकिङ अनुभव प्रदान गर्ने उद्देश्यले विभिन्न डिजिटल सेवाहरू विस्तार गर्दै आएको छ। मोबाइल बैंकिङ, क्यूआर भुक्तानी, क्यूआर कर्जा, भर्चुअल क्रेडिट कार्ड तथा डिजिटल खाता सञ्चालनलगायतका सेवामार्फत ग्राहकलाई छिटो, सरल र सुविधाजनक बैंकिङ सेवा उपलब्ध गराउने बैंकको प्रयासलाई उक्त अवार्डले थप मान्यता दिएको छ।
सिद्धार्थ बैंकले आगामी दिनमा पनि आधुनिक प्रविधिको अधिकतम उपयोग गर्दै डिजिटल भुक्तानी प्रणालीको विस्तार, व्यावसायिक साझेदारीको सुदृढीकरण तथा ग्राहक सन्तुष्टि अभिवृद्धिमा केन्द्रित रहने जनाएको छ।
बैंकका अनुसार यस सम्मानले ग्राहकप्रतिको आफ्नो प्रतिबद्धतालाई अझ बलियो बनाउनुका साथै भविष्यमा थप व्यवस्थित, सुरक्षित र प्रविधिमैत्री सेवा प्रदान गर्न प्रेरणा मिलेको छ।
आर्थिकन्यूज
प्रतिक्रिया