काठमाडौं । नेपालमा डिजिटल भुक्तानी प्रणालीप्रति सर्वसाधारणको आकर्षण तीव्र गतिमा बढिरहेको देखिएको छ। दैनिक उपभोगका साना-साना भुक्तानीदेखि बिल तिर्ने, रिचार्ज गर्ने तथा किनमेलसम्मका काममा डिजिटल माध्यमको प्रयोग उल्लेख्य रूपमा विस्तार भइरहेका बेला ठूला तथा संस्थागत वित्तीय कारोबार भने केही सुस्त देखिएका छन्।
राष्ट्र बैंकको तथ्यांकले नेपाली अर्थतन्त्रमा दुई विपरीत प्रवृत्ति एकैसाथ देखाएको छ। एकातिर क्युआर, मोबाइल बैंकिङ र डिजिटल वालेटजस्ता माध्यममार्फत डिजिटल भुक्तानी तीव्र रूपमा विस्तार भई उपभोक्ताको दैनिक जीवनशैली परिवर्तन हुँदै गएको छ भने अर्कोतिर आरटिजिएस, आइपिएस र चेक क्लियरिङजस्ता ठूला वित्तीय कारोबारमा आएको गिरावटले निजी क्षेत्रको लगानी, आत्मविश्वास र व्यवसायिक गतिविधि अपेक्षित गतिमा अघि बढ्न नसकेको संकेत गरेको छ।
यसरी प्रविधिगत र उपभोक्ता–केन्द्रित सूचकहरू उत्साहजनक भए पनि समग्र आन्तरिक आर्थिक गतिविधि भने अझै पूर्ण रूपमा चलायमान हुन नसकेको देखिन्छ।
नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको चालु आर्थिक वर्ष २०८२/८३ को दश महिनासम्मको आर्थिक तथा वित्तीय प्रतिवेदनअनुसार वैशाख महिनामा क्युआर, मोबाइल बैंकिङ, डिजिटल वालेट र कार्डमार्फत हुने कारोबारमा वृद्धि भएको छ। तर आरटिजिएस (RTGS), आइपिएस (IPS) र इलेक्ट्रोनिक चेक क्लियरिङ (ECC) जस्ता ठूला रकमका कारोबार प्रणालीमा भने गिरावट देखिएको छ।
क्युआर कारोबार उकालो लाग्दा मोबाइल बैंकिङको घट्यो
क्युआर कोडमार्फत हुने कारोबार निरन्तर विस्तार भइरहेको छ। चैतमा ५ करोड ४६ लाख ४३ हजार पटक भएको क्युआर कारोबार वैशाखमा बढेर ५ करोड ९२ लाख ६० हजार पुगेको छ। यो ८.४ प्रतिशतको वृद्धि हो।
कारोबार रकम पनि १ खर्ब ५३ अर्ब ४७ करोड रुपैयाँबाट बढेर १ खर्ब ६२ अर्ब ५८ करोड रुपैयाँ पुगेको छ। रकममा ५.९ प्रतिशतको वृद्धि भएको राष्ट्र बैंकको तथ्यांकले देखाउँछ।
किराना पसल, होटल, तरकारी बजारदेखि सार्वजनिक यातायातसम्म क्युआर भुक्तानी विस्तार भएसँगै नगदरहित कारोबारको प्रमुख माध्यमका रूपमा यो स्थापित हुँदै गएको देखिन्छ।
सबैभन्दा धेरै प्रयोग हुने डिजिटल माध्यम मोबाइल बैंकिङमा कारोबार संख्या बढेको छ। चैतमा ७ करोड ४४ लाख ६६ हजार पटक भएको कारोबार वैशाखमा बढेर ७ करोड ८८ लाख ९० हजार पुगेको छ।
तर कुल कारोबार रकम भने ६ खर्ब १८ अर्ब ७१ करोड रुपैयाँबाट घटेर ६ खर्ब १२ अर्ब ३९ करोड रुपैयाँमा झरेको छ।
यसले सर्वसाधारणले मोबाइल बैंकिङ मुख्यतः दैनिक साना भुक्तानी, बिल तिर्ने, रिचार्ज र नियमित खर्चका लागि बढी प्रयोग गरिरहेको संकेत गर्छ।
डिजिटल वालेटको प्रयोग पनि बढ्दो
डिजिटल वालेटमार्फत हुने कारोबार संख्या ४ करोड ६५ लाख ६९ हजारबाट बढेर ४ करोड ९९ लाख ३६ हजार पुगेको छ। रकम पनि ५२ अर्ब ३ करोड रुपैयाँबाट बढेर ५३ अर्ब ९ करोड रुपैयाँ पुगेको छ।
यसले वालेट सेवा अझै पनि खुद्रा कारोबारको प्रभावकारी माध्यमका रूपमा स्थापित भइरहेको देखाउँछ।
डेबिट कार्डमार्फत हुने कारोबार संख्या १ करोड ३ लाखबाट बढेर १ करोड ६ लाख ५० हजार पुगेको छ भने रकम ८० अर्ब ९ करोड रुपैयाँबाट बढेर ८२ अर्ब ९३ करोड रुपैयाँ पुगेको छ।
त्यस्तै, पस (POS) मेसिनमार्फत हुने कारोबार संख्या १०.३ प्रतिशतले बढेर ७ लाख ८३ हजार पुगेको छ। कारोबार रकम ४ अर्ब १० करोड रुपैयाँ पुगेको छ।
एटीएमबाट नगद झिक्ने प्रवृत्ति अझै बलियो
डिजिटल भुक्तानी विस्तार भए पनि नगद प्रयोग पूर्ण रूपमा घटेको छैन। वैशाखमा एटीएममार्फत १ करोड ९७ हजार पटक नगद निकासी भएको छ, जुन चैतको तुलनामा २.७ प्रतिशत बढी हो।
निकासी रकम पनि ७७ अर्ब ७४ करोड रुपैयाँबाट बढेर ८० अर्ब ५५ करोड रुपैयाँ पुगेको छ।
प्रिपेड कार्डमार्फत हुने कारोबार रकम २२.९ प्रतिशतले बढेर ९९ करोड ३० लाख रुपैयाँ पुगेको छ।
तर क्रेडिट कार्डमार्फत हुने कारोबार संख्या र रकम दुवै घटेका छन्। कारोबार रकम २ अर्ब २२ करोड रुपैयाँबाट घटेर २ अर्ब १६ करोड रुपैयाँमा झरेको छ।
शाखारहित बैंकिङ (ब्रान्चलेस बैंकिङ) मार्फत हुने कारोबार संख्या १७.८ प्रतिशतले बढेर ७८ हजार पुगेको छ। रकम पनि १ अर्ब ७५ करोड रुपैयाँ पुगेको छ।
यसले ग्रामीण तथा बैंकिङ पहुँच कम भएका क्षेत्रमा समेत डिजिटल वित्तीय सेवा विस्तार भइरहेको संकेत गरेको छ।
ठूला वित्तीय कारोबारमा सुस्तता
साना डिजिटल भुक्तानीमा उत्साह देखिए पनि ठूला रकमका कारोबार प्रणालीमा उल्लेख्य गिरावट आएको छ।
आरटिजिएसमार्फत हुने कारोबार संख्या ८.४ प्रतिशतले घटेर ७४ हजार १८४ मा झरेको छ। कारोबार रकम ६८ खर्ब ४६ अर्ब रुपैयाँबाट घटेर ५८ खर्ब ७३ अर्ब रुपैयाँमा सीमित भएको छ।
त्यस्तै, इलेक्ट्रोनिक चेक क्लियरिङ मार्फत हुने कारोबार रकम ९ प्रतिशतले घटेर ५ खर्ब ८२ अर्ब रुपैयाँमा झरेको छ।
आइपिएस प्रणालीमार्फत हुने कारोबार संख्या १७.१ प्रतिशतले घटेर २७ लाख ६५ हजारमा सीमित भएको छ भने रकम ३ खर्ब २ अर्ब रुपैयाँमा झरेको छ।
फास्टर पेमेन्ट सिस्टम (कनेक्ट आइपिएस लगायत) मा कारोबार संख्या बढे पनि रकम ४.४ प्रतिशतले घटेको छ।
सीमापार क्युआर भुक्तानीमा तीव्र विस्तार
भारतलगायत देशमा नेपाली प्रयोगकर्ताले गर्ने क्रस–बोर्डर क्युआर भुक्तानीमा उल्लेख्य वृद्धि भएको छ।
यस्ता कारोबार संख्या १५ प्रतिशतले बढेर ३ लाख २५ हजार पुगेको छ भने रकम १९.८ प्रतिशतले बढेर ८५ करोड ५० लाख रुपैयाँ पुगेको छ।
नेपाल राष्ट्र बैंकको तथ्यांकले नेपाली अर्थतन्त्रमा डिजिटल भुक्तानीको पहुँच र प्रयोग दुवै तीव्र गतिमा विस्तार भइरहेको स्पष्ट संकेत गरेको छ। विशेषगरी क्युआर, मोबाइल बैंकिङ, डिजिटल वालेट, डेबिट कार्ड र सीमापार क्युआर भुक्तानीमा देखिएको वृद्धिले सर्वसाधारणले दैनिक जीवनका साना तथा मध्यम आकारका कारोबारका लागि नगदको विकल्प रोज्न थालेको देखाउँछ।
किराना पसल, रेस्टुरेन्ट, यातायात, बिल भुक्तानी, मोबाइल रिचार्जदेखि अनलाइन सेवासम्म डिजिटल माध्यमको प्रयोग सामान्य बन्दै गएको छ। यसले वित्तीय समावेशीकरण बढ्नुका साथै नगद व्यवस्थापनको लागत घटाउने र आर्थिक कारोबारलाई थप पारदर्शी बनाउने दिशामा महत्वपूर्ण योगदान पुर्याइरहेको छ।
राष्ट्र बैंकको तथ्यांकले डिजिटल भुक्तानीमा तीव्र विस्तार र ठूला वित्तीय कारोबारमा सुस्तता देखाएको छ। मोबाइल बैंकिङ, क्युआर र फास्ट पेमेन्ट प्रणालीमा कारोबार संख्या बढे पनि रकम घट्नुले उपभोक्ता दैनिक उपभोग, बिल भुक्तानी र साना खर्चका लागि डिजिटल माध्यमतर्फ उन्मुख भएको संकेत गर्छ।
अर्कोतर्फ, आरटिजिएस, आइपिएस र इलेक्ट्रोनिक चेक क्लियरिङजस्ता ठूला भुक्तानी प्रणालीमा कारोबार संख्या र रकम दुवै घट्दा उद्योग–व्यवसाय विस्तार, लगानी र संस्थागत आर्थिक गतिविधि सुस्त रहेको देखिन्छ। कर्जाको कमजोर माग र निजी क्षेत्रको लगानी विस्तार अपेक्षित रूपमा अघि नबढ्नुले पनि ठूला कारोबारमा गिरावट आएको हुन सक्ने विश्लेषण गरिएको छ।
आर्थिकन्यूज
प्रतिक्रिया