शीर्षकहरू

वाणिज्य बैंकमा १ खर्ब ३६ अर्ब निक्षेप, कुन बैंकमा कति छ पैसा ?

वाणिज्य बैंकमा १ खर्ब ३६ अर्ब निक्षेप, कुन बैंकमा कति छ पैसा ?

काठमाडौं । वाणिज्य बैंकहरूमा १ खर्ब ३६ अर्ब रुपैयाँ निक्षेप थपिएको छ । असार १ गतेदेखि असार २१ गतेसम्म अर्थात् असारको ३ हप्ताको अवधिमा वाणिज्य बैंकहरूमा सो बराबरको निक्षेप थपिएको हो । 

नेपाल बैंकर्स संघबाट प्राप्त असार २१ गतेसम्मको तथ्यांकले यस्तो देखाएको हो । हाल नेपालमा २० वाणिज्य बैंक रहेको छन् । असार २१ गतेसम्म आउँदा उक्त बैंकहरूमा भएको कुल निक्षेप ५६ खर्ब ७४ अर्ब रुपैयाँ पुगेको छ । जेठ मसान्तसम्म उक्त बैंकहरूमा ५५ खर्ब ३८ अर्ब रुपैयाँ निक्षेप थियो । 

वाणिज्य बैंकहरूमा असार महिनाको पहिलो साता २१ अर्ब ७९ करोड रुपैयाँ निक्षेप थपिएको छ । यसैगरि असार दोस्रो साता ४६ अर्ब ६ करोड रुपैयाँ र असार तेस्रो साता ६७ अर्ब ६९ अर्ब रुपैयाँ निक्षेप थपिएको संघको तथ्यांकमा उल्लेख छ । 

विशेषगरी चालु आर्थिक वर्षको अन्त्य अर्थात् असार मसान्त नजिकिएसँगै सरकारको खर्च बढेको छ । त्यसले बैंकहरूको निक्षेप बढाउन सहयोग पुगेको छ । असार २२ यता पनि सरकारले उच्च मात्रामा खर्च गरेको छ । त्यो अवस्थामा असार चौथो साता  र अन्तिम समयमा पनि निक्षेप थप बढ्ने देखिन्छ । तर, असार अन्तिम दिन भने बैंकको निक्षेप केही घट्ने छ । असार मसान्तमा कर तिर्ने हुदाँ बैंकमा भएको पैसा सरकारी खाता जाने गर्छ । 

वाणिज्य बैंकहरूले कर्जा प्रवाह भने १६ अर्ब रुपैयाँले मात्रै बढेको छ । जेठ मसान्तसम्म वाणिज्य बैंकहरूको कुल कर्जा प्रवाह ४५ खर्ब ४२ अर्ब रुपैयाँ थियो । असार २१ गतेसम्म आउँदा त्यो ४५ खर्ब ५८ अर्ब रुपैयाँ रुपैयाँ पुगेको छ । 

असार पहिलो साता ५६ करोड रुपैयाँ, दोस्रो साता १० अर्ब ३९ करोड रुपैयाँ र तेस्रो साता ४ अर्ब ७९ करोड रुपैयाँले वाणिज्य बैंकहरूको कर्जा प्रवाह बढेको छ । आउटस्टान्डिङ (बक्यौता) को आधारमा वाणिज्य बैंकको कर्जा प्रवाहको अवस्था देखिएको हो । 

समीक्षा अवधिमा वाणिज्य बैंकहरूको कर्जा निक्षेप अनुपात (सीडी रेसियो) ७०.०१ प्रतिशतमा झरेको छ । सीडी रेसियो ९० प्रतिशत हुने गरि बैंकहरूले कर्जा प्रवाह गर्न पाउछन् । त्योअनुसार बैंकहरूमा निक्षेपको करिब ११ प्रतिशत अर्थात् ६ खर्ब २४ अर्ब हारहारीमा कर्जा प्रवाह गर्न मिल्ने पैसा छ । 

गत विहीबार (असार २० गते) सम्म भने बैंक तथा वित्तीय संस्थामा कुल निक्षेप ६३ खर्ब ८७ अर्ब रुपैयाँ पुगेको राष्ट्र बैंकले सार्वजनिक गरेको तथ्यांकमा उल्लेख छ । त्यस दिनसम्म वाणिज्य बैंकहरूमा मात्रै ५६ खर्ब ६३ अर्ब रुपैयाँ निक्षेप जम्मा भएको देखिन्छ । यसैगरि अन्य बैंक तथा वित्तिय संस्थामा ७ खर्ब २४ अर्ब रुपैयाँ निक्षेप भएको देखिन्छ । 

यस्तै, बिहीबार बैंक तथा वित्तिय संस्थाहरूको कुल कर्जा प्रवाह ५१ खर्ब ५२ अर्ब रुपैयाँ भएको देखिन्छ । त्यसदिनसम्म वाणिज्य बैंकहरूको ४५ खर्ब ५७ अर्ब  रुपैयाँ कर्जा प्रवाह भएको देखिन्छ । अन्य बैंक तथा वित्तीय सस्थाले भने ५ खर्ब ९५ अर्ब रुपैयाँ कर्जा प्रवाह  गरेको देखिन्छ । 

प्रतिक्रिया