शीर्षकहरू

राष्ट्रिय वाणिज्य बैंकद्वारा अनलाइन प्रणालीमार्फत धितो बन्धक रोक्का/फुकुवा सेवा सञ्चालन

राष्ट्रिय वाणिज्य बैंकद्वारा अनलाइन प्रणालीमार्फत धितो बन्धक रोक्का/फुकुवा सेवा सञ्चालन

काठमाडौं । राष्ट्रिय वाणिज्य बैंक लिमिटेडले धितो बन्धक रोक्का तथा फुकुवा सेवा अब पूर्ण रूपमा अनलाइन प्रणालीमार्फत सञ्चालनमा ल्याएको छ। सरकारको शासकीय सुधार कार्यसूचीअन्तर्गत नतिजामुखी शासन व्यवस्थापन कार्यान्वयन गर्दै बैंकले सेवा प्रक्रियालाई डिजिटल, समयबद्ध तथा “फेसलेस” प्रणालीमा रूपान्तरण गरेको हो।

बैंकका अनुसार यस प्रणालीमार्फत सेवाग्राहीले धितो राखिएको जग्गा रोक्का तथा फुकुवा प्रक्रिया अनलाइनमार्फत सहज रूपमा सम्पन्न गर्न सक्नेछन्। यसअघि भूमि व्यवस्था तथा अभिलेख विभाग र राष्ट्रिय वाणिज्य बैंकबीच भएको समझदारीअनुसार यो प्रणाली कार्यान्वयनमा ल्याइएको हो।

हालसम्म बैंकले अनलाइन प्रणालीमार्फत ८०० भन्दा बढी धितो बन्धक रोक्का तथा फुकुवा प्रक्रिया सफलतापूर्वक सम्पन्न गरिसकेको जनाएको छ। यसले सेवा प्रवाहलाई छिटो, पारदर्शी र पूर्वानुमानयोग्य (Predictable Time) बनाएको बैंकको दाबी छ।

बैंकका अनुसार डिजिटल प्रणाली लागू भएपछि सेवाग्राहीले बैंक तथा सरकारी निकाय धाउनुपर्ने बाध्यता घटेको छ भने समय र लागत दुवैमा उल्लेखनीय बचत भएको छ। साथै, कागजी प्रक्रिया घटेसँगै भ्रष्टाचारको जोखिम न्यून हुने अपेक्षा गरिएको छ।

वि.सं. २०२२ माघ १० गते पूर्ण सरकारी स्वामित्वमा स्थापना भएको राष्ट्रिय वाणिज्य बैंकले हाल देशभरका ७७ जिल्ला सदरमुकामसहित दुर्गम क्षेत्रसम्म सेवा विस्तार गरेको छ। बैंकका ३१५ शाखा कार्यालयमार्फत कर्जा, निक्षेप, एटीएम, मोबाइल बैंकिङलगायतका आधुनिक डिजिटल बैंकिङ सेवा प्रदान हुँदै आएको छ।

बैंकले यो डिजिटल पहलले सेवा प्रवाहलाई अझ प्रभावकारी बनाउँदै सरकारी वित्तीय प्रणालीलाई आधुनिक र प्रविधिमैत्री बनाउन सहयोग पुग्ने विश्वास व्यक्त गरेको छ।

प्रतिक्रिया