शीर्षकहरू

मनोज कुमार कर्णको रिट खारेज, हिमालयन लाइफले दिने भनिएकाे २ करोड नपाउने

मनोज कुमार कर्णको रिट खारेज, हिमालयन लाइफले दिने भनिएकाे २ करोड नपाउने

काठमाडौं । हिमालयन लाइफ इन्स्योरेन्सका निवर्तमान प्रमुख कार्यकारी अधिकृत (सीईओ) मनोज कुमार कर्णले सर्वाेच्च अदालतमा दायर गरेको रिट खारेज भएको छ । नेपाल बीमा प्राधिकरण, हिमालयन लाइफ इन्स्योरेन्स कम्पनी र कम्पनीको सञ्चालक समितिलाई विपक्ष बनाउँदै दायर गरेको रिट सर्वाेच्चले खारेज गरिदिएको हो । 

कम्पनीबाट बाहिरिँदा उनलाई कम्पनीले २ करोड रुपैयाँ बढी गोल्डेन हेन्ड चेक दिने निर्णय गरेको थियो । उनले ५७३ दिन अवधि बाँकी रहँदा नै गत असोजमा पदबाट राजीनामा दिएका थिए । उक्त बाँकी अवधिको तलबको रेसियोमा २ करोड बढी रकम कम्पनीको बोर्डले कर्णलाई गोल्डेन हेन्ड चेकका रुपमा भुक्तानी गर्ने निर्णय गरेको थियो ।

यस्तै, कर्णले सीईओ हुँदाको बखत प्रयोग गरेको १ करोड रुपैयाँ मूल्य पर्ने गाडी पनि उनैलाई दिने निर्णय बोर्डले गरेको थियो । सोही शर्तमा कर्ण कम्पनीबाट बाहिरएका थिए । तर, बोर्डको उक्त निर्णयलाई कार्यान्वयन नगर्न प्राधिकरणले निर्देशन दिएको थियो ।

प्राधिकरणले बोर्डका सदस्यलाई सचेत गराएको थियो । यस्तै, कर्णलाई उक्त रकम भुक्तानी नगर्न पनि प्राधिकरणले निर्देशन दिएको थियो । यसका साथै प्राधिकरणले बोर्डका सदस्यहरूलाई चेतावनी र कम्पनीलाई २ लाख रुपैयाँ जरिवाना गराएको थियो । स्थलगत निरीक्षण गर्दा यस प्रकारको कैफियत भेटिएको भन्दै प्राधिकरणले यस्तो नियामकीय दण्ड चलाएकाे थियाे ।

यसरी प्राधिकरणले २ करोड रुपैयाँ र गाडी रोकिदिएपछि कर्णले हिमालयन लाइफ इन्स्योरेन्स कम्पनी, नेपाल बीमा प्राधिकरण र हिमालयन लाइफ इन्स्योरेन्स कम्पनीका सञ्चालक समितिलाई विपक्ष बनाएर २०८३ वैशाख १३ गते सर्वाेच्चमा रिट निवेदन दिएका थिए । जसको पेशी सोमबार थियो । जहाँ प्राधिकरणको तर्फबाट कानुन शाखाका उपनिर्देशक विरोध भट्ट र सहायक निर्देशक बुनु घिमिरेले बहस गरेका थिए । दुवै पक्षको बहस पछि सर्वाेच्चका न्यायाधीशद्वय अब्दुल अजीज मुसलमान र श्रीकान्त पौडेले कर्णको रिट खारेज गरिदिएका हुन् । 

उक्त रिट खारेज भएसँगै बोर्डले भुक्तानी गर्ने भनेर निर्णय गरेको २ करोड रुपैयाँ कर्णले नपाउने भएका छन् । यस्तै, उनले चढेको गाडी पनि हाल कम्पनीको नाममै छ । यसबारे अदालतको पूर्णपाठमा उल्लेख भए बमोजिम हुनेछ । 

बीमितले पाउने बोनस दर घटाएको भन्दै बीमा अभिकर्ताहरुले तत्कालिन सीईओ कर्ण विरुद्ध आन्दोलन गरेका थिए । कर्णलाई सीईओबाट हटाउनुपर्ने भन्दै बीमितहरुले आन्दोलन गरेका थिए । सोही आन्दोलनपछि राजीनामा दिएर कर्ण कम्पनीबाट बाहिरएका थिए ।

प्रतिक्रिया