शीर्षकहरू

नेपाल टेलिकमले ‘फिफा विश्वकप २०२६ टिभी प्याकेज’ ल्याउने, आइपीटीभी ग्राहकलाई विशेष सुविधा

नेपाल टेलिकमले ‘फिफा विश्वकप २०२६ टिभी प्याकेज’ ल्याउने, आइपीटीभी ग्राहकलाई विशेष सुविधा

काठमाडौं । नेपाल टेलिकमले आगामी फिफा विश्वकप २०२६ लाई लक्षित गर्दै ‘फिफा विश्वकप २०२६ टिभी प्याकेज’ सञ्चालनमा ल्याउने भएको छ। कम्पनीले आइपीटीभी (IPTV) सेवाग्राहीलाई लक्षित गर्दै विश्वकपका सबै खेलहरूको प्रत्यक्ष प्रसारण हेर्न मिल्ने विशेष प्याकेज उपलब्ध गराउने जनाएको छ।

कम्पनीका अनुसार उक्त प्याकेज आइपीटीभी ग्राहकले रु ९९९ मा खरिद गर्न सक्नेछन्। प्याकेज लिएका ग्राहकले विश्वकपका सम्पूर्ण खेलहरूको प्रत्यक्ष प्रसारण हेर्न पाउने व्यवस्था गरिएको छ।

नेपाल टेलिकमको आईपीटीभी सेवा लिएका ग्राहकले टेलिभिजन सेटमार्फत उपलब्ध स्पोर्ट्स च्यानल छनोट गरी विशेष इन्ट्री स्ट्रिममार्फत सामग्री पहुँच गर्न सक्नेछन्। त्यसका लागि ग्राहकको मोबाइल नम्बरमा पठाइने ओटीपी (OTP) प्रविष्ट गरेपछि सेवा सक्रिय हुने व्यवस्था गरिएको छ।

ग्राहकको मोबाइल ब्यालेन्सबाट तोकिएको शुल्क स्वतः कट्टा हुने र सेवा तुरुन्तै सक्रिय हुने कम्पनीले जनाएको छ। साथै, टेलिकमको ग्राहक सेवा केन्द्रमार्फत पनि सेवा सक्रिय गर्न सकिने सुविधा रहेको छ।

टेलिकमले यो अफर सञ्चालनमार्फत उच्च गुणस्तरको डिजिटल मनोरञ्जन सेवा विस्तार गर्ने र खेलकुद सामग्रीमा ग्राहकको पहुँच थप सहज बनाउने लक्ष्य राखेको जनाएको छ।

कम्पनीले यस अफरअन्तर्गत २६ जेठदेखि ३१ असारसम्म वार्षिक १०० एमबीपीएस वा सोभन्दा माथिको इन्टरनेटसहितको आईपीटीभी प्याकेज लिने वा अपग्रेड गर्ने ग्राहकलाई विश्वकप टिभी प्याकेज निःशुल्क उपलब्ध गराइने पनि जनाएको छ।

ग्राहकले मोबाइलबाट *1416# डायल गरी प्याकेज लिन सक्ने व्यवस्था गरिएको छ।

नेपाल टेलिकमले ग्राहकलाई प्रविधिमैत्री सेवा र खेलकुद मनोरञ्जनमा सहज पहुँच उपलब्ध गराउने प्रतिबद्धता जनाएको छ।

प्रतिक्रिया