काठमाडौं । नेपालको बैंकिङ क्षेत्रमा सीमित व्यापारिक घरानामा अत्यधिक ऋण केन्द्रित हुने प्रवृत्तिले वित्तीय स्थायित्वमाथि गम्भीर प्रश्न उठाएको छ। पछिल्लो तथ्यांकअनुसार शङ्कर ग्रुप अन्तर्गतका विभिन्न कम्पनीहरूले बैंक तथा वित्तीय संस्थाबाट करिब ९८ अर्ब रुपैयाँभन्दा बढी ऋण लिएका छन्।
सबैभन्दा बढी ऋण जगदम्बा स्टिलले लिएको देखिएको छ। कम्पनीले विभिन्न बैंक तथा वित्तीय संस्थाबाट ३१ अर्ब १५ करोड ५२ लाख रुपैयाँ ऋण लिएको छ। त्यस्तै सौरभ सिमेन्ट इन्डस्ट्रिजले १४ अर्ब ८६ करोड ९८ लाख रुपैयाँ तथा रिद्धि सिद्धि सिमेन्टले ११ अर्ब ९३ करोड ७५ लाख रुपैयाँ ऋण उपयोग गरेका छन्।
ऊर्जा क्षेत्रमा माथिल्लो बलेफी हाइड्रोपावरले ७ अर्ब २४ करोड ८० लाख रुपैयाँ तथा बलेफी हाइड्रोपावर लिमिटेडले ५ अर्ब ४८ करोड रुपैयाँ ऋण लिएका छन्। मोदी इनर्जी लिमिटेडको ऋण दायित्व ३ अर्ब ६५ करोड ४६ लाख रुपैयाँ पुगेको छ।
त्यस्तै जगदम्बा मोटर्सले ५ अर्ब ९६ करोड रुपैयाँ, जगदम्बा सिन्थेटिक्सले ३ अर्ब ५९ करोड रुपैयाँ तथा जगदम्बा हस्पिटालिटी अन्तर्गत सञ्चालित हिल्टन होटलले ५ अर्ब ३० करोड रुपैयाँ ऋण लिएको विवरणमा उल्लेख छ।
सिमेन्ट उद्योगतर्फ शुभश्री जगदम्बा सिमेन्ट मिल्सले २ अर्ब १४ करोड ८० लाख रुपैयाँ ऋण उपयोग गरेको छ भने जगदम्बा अटो ग्रुपले १ अर्ब ९१ करोड रुपैयाँ र जगदम्बा हायर पर्चेजले १ अर्ब ७७ करोड २५ लाख रुपैयाँ ऋण लिएका छन्।
यसबाहेक जगदम्बा फ्लोर एन्ड एग्रोले १ अर्ब २४ करोड १६ लाख रुपैयाँ तथा जगदम्बा मोबाइलले ९० करोड रुपैयाँ ऋण लिएको देखिन्छ। यीबाहेक समूहअन्तर्गतका अन्य कम्पनीहरूले समेत करोडौँ रुपैयाँ ऋण उपयोग गरेका छन्।
ऋण एकै समूहमा केन्द्रित हुँदा जोखिम
बैंकिङ क्षेत्रका जानकारहरूका अनुसार सीमित व्यापारिक समूहमा अत्यधिक ऋण केन्द्रित हुनु वित्तीय प्रणालीका लागि दीर्घकालीन जोखिमको विषय हो। एउटै समूहका कम्पनीहरूमा ठूलो परिमाणमा कर्जा प्रवाह हुँदा जोखिम पनि एउटै ठाउँमा केन्द्रित हुने भएकाले कुनै कारणवश व्यवसाय प्रभावित भए बैंकहरू समेत समस्यामा पर्न सक्छन्।
विश्लेषकहरूका अनुसार बैंकको ठूलो हिस्सा केही सीमित समूहले उपयोग गर्दा नयाँ, साना तथा नवप्रवर्तनमुखी उद्यमीहरूलाई कर्जा पहुँचमा कठिनाइ हुने गरेको छ। यसले प्रतिस्पर्धात्मक बजार विकास र उद्यमशीलता विस्तारमा समेत नकारात्मक प्रभाव पार्न सक्ने उनीहरूको भनाइ छ।
बैंकिङ प्रणालीमाथि दबाबको चिन्ता
वित्तीय क्षेत्रका विज्ञहरूका अनुसार यदि ठूलो ऋण लिएका समूहहरू आर्थिक संकटमा परे वा ऋण भुक्तानीमा समस्या आयो भने त्यसको प्रत्यक्ष असर बैंक तथा वित्तीय संस्थामा पर्नेछ। यस्तो अवस्थामा खराब कर्जा बढ्ने, बैंकहरूको नाफा घट्ने तथा समग्र वित्तीय प्रणालीमाथि दबाब सिर्जना हुने जोखिम रहन्छ।
बैंकिङ क्षेत्रका सरोकारवालाहरूले ठूलो परिमाणको कर्जा वितरण गर्दा नियामकीय निगरानी, जोखिम व्यवस्थापन तथा कर्जा विविधीकरणमा विशेष ध्यान दिनुपर्ने आवश्यकता औंल्याएका छन्। उनीहरूका अनुसार स्वस्थ बैंकिङ प्रणालीका लागि कर्जा सीमित समूहमा केन्द्रित नभई उत्पादनशील तथा विविध क्षेत्रमा प्रवाह हुन आवश्यक छ।
ऋण चलाएका कम्पनीको अबस्था कस्तो
समूहको सबैभन्दा ठूलो कम्पनी जगदम्बा स्टिल्स हो, जसले सन् २०२४ मा २९ अर्ब ७२ करोड रुपैयाँभन्दा बढीको कारोबार गरेको थियो। यद्यपि कम्पनीको व्यापार पछिल्ला वर्षहरूमा लगातार घटिरहेको देखिन्छ। त्यसपछि जगदम्बा इन्टरप्राइजेजले वार्षिक १४–१५ अर्ब रुपैयाँ हाराहारी कारोबार गर्दै आएको छ।
अटोमोबाइल क्षेत्रमा जगदम्बा मोटर्स र जगदम्बा अटो ग्रुप प्रमुख छन्। जगदम्बा मोटर्सले सन् २०२४ मा ८ अर्ब ८२ करोड रुपैयाँ कारोबार गर्दा जगदम्बा अटो ग्रुपको व्यापार बढेर झण्डै ७ अर्ब रुपैयाँ पुगेको छ।
सिमेन्ट क्षेत्रमा शङ्कर ग्रुपको प्रभाव उल्लेखनीय छ। शौर्य सिमेन्ट रिद्धि सिद्धि सिमेन्ट, शुभश्री जगदम्बा सिमेन्ट र जगदम्बा सिमेन्ट इन्डस्ट्रिज मार्फत समूहले वार्षिक अर्बौं रुपैयाँको कारोबार गर्दै आएको छ। शौर्य सिमेन्टको कारोबार ७ अर्ब रुपैयाँभन्दा बढी रहेको छ भने रिद्धि सिद्धि सिमेन्टको कारोबार ५ अर्ब ८१ करोड रुपैयाँ पुगेको छ।
जलविद्युत क्षेत्रमा बलेफी हाइड्रोपावर, अपर बलेफी हाइड्रोपावर तथा मोदी इनर्जीमा समूहको लगानी रहेको छ। बलेफी हाइड्रोपावरले गत आवमा ८३ करोड रुपैयाँ कारोबार गरेको छ भने मोदी इनर्जीले ४१ करोड रुपैयाँभन्दा बढीको व्यापार गरेको छ।
त्यस्तै जगदम्बा मोबाइल्स, जगदम्बा सिन्थेटिक्स, जगदम्बा फ्लोर एन्ड एग्रो र जगदम्बा हायर पर्चेज जस्ता कम्पनीहरू पनि समूहका महत्वपूर्ण व्यवसायका रूपमा रहेका छन्। होटल व्यवसायमा समूहले सञ्चालन गरेको हिल्टन काठमाडौं करिब ८ अर्ब रुपैयाँ लागतको परियोजना हो। हिल्टन होटल भदौ २३ र २४ गतेको जेनजी आन्दोलनमा जलेपछि बीमा गरिएको रकम नपाएपछि झन समस्या रहेको छ ।
माथि उल्लेख गरिएको तथ्यांक जगदम्बाले आफ्नो कम्पनीका लागि अबस्यक पर्ने ऋणका लिन विभिन्न रेटिङ कम्पनीले उपलब्ध गराएको तथ्याकका आधारमा तयार पारिएको हो ।
शंकर समूहका सञ्चालक सहित ५९ जना विरुद्ध मुद्दा दायरको तयारी
बीमा कम्पनीहरूको अर्बौं रुपैयाँ दुरुपयोग गरी सेयर बजारमा गैरकानुनी लगानी गरेको आरोपमा ५९ जनाविरुद्ध मुद्दा दर्ता हुने भएको छ। केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) को प्रतिवेदनका आधारमा जिल्ला सरकारी वकिल कार्यालयले जिल्ला अदालत काठमाडौंमा अभियोग दर्ता गर्ने तयारी गरेको छ।
सीआईबीका अनुसार हिमालयन रि–इन्स्योरेन्स, हिमालयन लाइफ इन्स्योरेन्स, नेपाल माइक्रो इन्स्योरेन्स तथा तिनका सहायक कम्पनीहरूको ३ अर्ब ७३ करोड ८५ लाख रुपैयाँभन्दा बढी रकम दुरुपयोग गरिएको छ। उक्त रकम भृकुटी स्टक ब्रोकिङमार्फत व्यक्तिगत ग्राहकहरूको सेयर कारोबार मिलाउन प्रयोग गरिएको आरोप छ।
अनुसन्धानमा सुलभ अग्रवाल, दीपक भट्ट, शेखर गोल्छालगायतले बीमा कम्पनीको रकम प्रयोग गरी सेयर खरिद तथा बजार प्रभावित पार्ने गतिविधि गरेको उल्लेख गरिएको छ। सुलभ अग्रवालमाथि ३ अर्ब ७३ करोड ८५ लाख रुपैयाँ र दीपक भट्टमाथि २ अर्ब ८९ करोड २० लाख रुपैयाँ बिगो दाबी गरिएको छ।
प्रकरणमा भृकुटी स्टक ब्रोकिङका कार्यकारी सञ्चालक सन्दीप चाचानसहित विभिन्न बीमा कम्पनी र सहायक संस्थाका पदाधिकारीलाई प्रतिवादी बनाउन सिफारिस गरिएको छ। तत्कालीन हिमालयन लाइफका सीईओ मनोजकुमार कर्णलाई पनि इन्साइडर ट्रेडिङ तथा रकम दुरुपयोगसम्बन्धी आरोपमा प्रतिवादी बनाउने तयारी रहेको स्रोतले जनाएको छ।
सीआईबीले बीमा ऐन, २०७९ अन्तर्गत रकम अपचलन, हिनामिना, भित्री कारोबार (इन्साइडर ट्रेडिङ) र धितोपत्र बजारमा मूल्य हेरफेर गरेको कसुरमा कैद, जरिवाना र बिगो जफतको मागसहित अभियोजन गर्न सिफारिस गरेको छ।
आर्थिकन्यूज
प्रतिक्रिया