काठमाडौं। कुमारी बैंक लिमिटेडले आइएमएस सफ्टवेयर प्रालिसँगको सहकार्यमा नेपालमा पहिलो पटक रियल–टाइम ईआरपी (ERP)–आधारित डिजिटल कर्जा प्लेटफर्म सञ्चालनमा ल्याएको छ।
बैंकले डिजिटल बैंकिङलाई नयाँ उचाइमा पुर्याउने उद्देश्यसहित सुरु गरिएको यो प्लेटफर्ममार्फत व्यवसायीहरूलाई पूर्ण डिजिटल प्रक्रियाबाट कर्जा आवेदन, स्वीकृति, वितरण तथा भुक्तानीसम्मको सेवा उपलब्ध गराइने जनाएको छ।
नयाँ प्रणालीमार्फत व्यवसायहरूको बिक्री, कारोबार र वित्तीय गतिविधिको रियल–टाइम डाटाका आधारमा कर्जा योग्यता मूल्यांकन गर्न सकिने बैंकले जनाएको छ। यसले परम्परागत प्रक्रियाभन्दा छिटो, पारदर्शी र प्रभावकारी रूपमा कर्जा प्रवाह गर्न सहयोग गर्ने अपेक्षा गरिएको छ।
ईआरपी प्रणालीसँग प्रत्यक्ष एकीकृत (Integrated) हुने यस प्लेटफर्मले कागजी प्रक्रिया घटाउँदै शाखा धाउने झन्झट अन्त्य गर्ने लक्ष्य राखेको छ। यो डिजिटल कर्जा प्रणाली विशेषगरी साना तथा मझौला उद्यम (एसएमई) लाई लक्षित गरिएको हो।
योग्य व्यवसायहरूले आफ्नै ईआरपी प्रणालीमार्फतै कर्जा आवेदन गर्न सक्नेछन् भने कर्जाको मूल्यांकन र निर्णय प्रक्रिया स्वचालित डाटा विश्लेषणका आधारमा हुनेछ।
बैंकका अनुसार यस प्रणालीमार्फत कार्यशील पुँजी कर्जा (वर्किङ क्यापिटल लोन) अधिकतम ५ लाख रुपैयाँसम्म उपलब्ध गराइनेछ, जसलाई १२ महिनासम्मको समान मासिक किस्तामा (ईएमआई) भुक्तानी गर्न सकिने व्यवस्था गरिएको छ।
कुमारी बैंकले यो पहल नेपाल राष्ट्र बैंकको डिजिटल लेन्डिङ मार्गदर्शनअनुसार गरिएको उल्लेख गर्दै डिजिटल अर्थतन्त्रलाई सुदृढ बनाउन महत्वपूर्ण योगदान पुग्ने विश्वास व्यक्त गरेको छ।
बैंकका अनुसार यो प्रणालीले कर्जा प्रक्रियालाई समयमै निर्णययोग्य बनाउने, जोखिम मूल्यांकन सुधार गर्ने तथा वित्तीय पहुँच विस्तार गर्नेछ।
कुमारी बैंकले देशभरका २८६ शाखा र ४१ एक्सटेन्सन काउन्टरमार्फत बैंकिङ सेवा दिँदै आएको छ। बैंकले आधुनिक डिजिटल बैंकिङ, मोबाइल बैंकिङ तथा प्राविधिक साझेदारीमार्फत ग्राहकलाई अझ सरल र प्रभावकारी सेवा प्रदान गर्ने प्रतिबद्धता जनाएको छ।
बैंकले यो पहलले विशेषगरी साना तथा मझौला उद्यमहरूलाई औपचारिक वित्तीय प्रणालीमा थप समावेश गर्ने र उनीहरूको व्यवसाय विस्तारमा सहयोग पुग्ने अपेक्षा गरेको छ।
आर्थिकन्यूज
प्रतिक्रिया