शीर्षकहरू

ग्लोबल आइएमई बैंकको सञ्चालकमा बिन्द्रा हाडा भट्टराई नियुक्त

ग्लोबल आइएमई बैंकको सञ्चालकमा बिन्द्रा हाडा भट्टराई नियुक्त

काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेडको सञ्चालक समितिको रिक्त स्वतन्त्र महिला सञ्चालक पदमा पूर्वसचिव बिन्द्रा हाडा भट्टराई नियुक्त भएकी छन्।

बैंकको शुक्रबार बसेको सञ्चालक समितिको बैठकले भट्टराईलाई स्वतन्त्र महिला सञ्चालकका रूपमा नियुक्त गर्ने निर्णय गरेको हो। नवनियुक्त सञ्चालक भट्टराईलाई बैंकका अध्यक्ष चन्द्रप्रसाद ढकालले विशेष समारोहबीच सञ्चालक समितिमा स्वागत गरेका छन्।

भट्टराईसँग सार्वजनिक प्रशासन, सुशासन तथा विकास व्यवस्थापन क्षेत्रमा साढे तीन दशकभन्दा लामो अनुभव रहेको छ। उनी नेपाल सरकारकी पूर्वसचिव हुनुका साथै राष्ट्रिय सूचना आयोगकी पूर्वआयुक्तसमेत हुन्।

उनले सिँचाइ मन्त्रालय, नेपाल ट्रस्टको कार्यालय, राष्ट्रिय योजना आयोग, राष्ट्रिय सूचना आयोग, महिला, बालबालिका तथा समाजकल्याण मन्त्रालय तथा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयलगायत विभिन्न निकायमा उच्च तहमा रहेर काम गरिसकेकी छन्।

शैक्षिक रूपमा भट्टराईले त्रिभुवन विश्वविद्यालयबाट रसायनशास्त्र र जनप्रशासनमा स्नातकोत्तर तथा कानुनमा स्नातक गरेकी छन्। साथै अमेरिकाको नर्थ क्यारोलिना विश्वविद्यालयबाट सार्वजनिक नीति (ट्रेड एन्ड फाइनान्स) र ड्युक विश्वविद्यालयबाट गैरनाफामुखी व्यवस्थापन विषयमा उच्च शिक्षा हासिल गरेकी छन्।

हाल उनी साउथ एसिया वाच अन ट्रेड, इकोनोमिक्स एन्ड इन्भाइरोन्मेन्टकी कार्यकारी सदस्य तथा प्रोफेसल होल्डिङ्सको स्वतन्त्र सञ्चालकका रूपमा कार्यरत छिन्।

बैंकले भट्टराईको अनुभव, नेतृत्व क्षमता र नीतिगत ज्ञानले संस्थाको व्यावसायिक रणनीति, सुशासन, सामाजिक उत्तरदायित्व तथा दिगो विकासका लक्ष्यलाई अझ प्रभावकारी रूपमा अघि बढाउन सहयोग पुग्ने विश्वास व्यक्त गरेको छ।

स्वागत कार्यक्रममा बैंकका अन्य सञ्चालक, प्रमुख कार्यकारी अधिकृत तथा उच्च व्यवस्थापन तहका पदाधिकारीहरूको उपस्थिति रहेको थियो।

प्रतिक्रिया