काठमाडौं । नेपालकै सबैभन्दा ठूलो सरकारी स्वामित्वको उदयपुर सिमेन्ट उद्योग लिमिटेडमा गोपिकृष्ण न्यौपानेले महाप्रबन्धकको जिम्मेवारी सम्हालेको एक वर्ष पूरा भएको छ । न्यौपानेले महाप्रबन्धकको जिम्मेवारी सम्हालेपछि व्यवस्थापकीय र प्राविधिक पक्ष सुधारसँगै उदयपुर सिमेन्ट उद्योगले क्लिंकर उत्पादन, सिमेन्ट बिक्री र राजश्व योगदान छलाङ मारेको हो ।
उद्योगले २०७७ माघ ३ गते नयाँ महाप्रवन्धको कार्यभार सम्हाल्न आएका न्यौपानेको एक वर्षको प्रगति विवरण सार्वजनिक गरेको छ । उद्योगका प्रशासन महाशाखा प्रमुख कमलप्रसा पौडेल र प्रवक्ता लक्ष्मण अर्यालद्वारा जारी विज्ञप्तिमा ०७७ माघदेखि ०७८ पुस मसान्तसम्म क्लिंकर उत्पादन, सिमेन्ट बिक्री परिमाण, बिक्री रकम र राजश्व योगदान जस्ता गतिविधि सार्वजनिक भएको हो ।
उद्योगका अनुसार न्यौपानेको एक वर्षे कार्यकालमा उद्योगले १ लाख ४ हजार १ सय ८५ मेट्रिक टन क्लिंकर उत्पादन गरेको छ भने १९ लाख ६९ हजार ३ सय ८३ बोरा सिमेन्ट बिक्री गरेको छ । सिमेन्ट बिक्रीबाट १ अर्ब २८ करोड ५७ लाख ८७ हजार रुपैयाँ उद्योगलाई प्राप्त भएको छ । उद्योगले यस अवधिमा सिमेन्ट बिक्री गरे वापत सरकारलाई करिब १० करोड राजश्वसहित २३ करोड हाराहारी वित्तीय योगदान गरेको छ । मूल्य अभिवृद्धि कर (भ्याट) बापत मात्र ७ करोड ९१ लाख २ हजार २ सय ९३ रुपैयाँ बुझाएको उद्योगले अन्तःशूल्क बापत ९९ लाख ३८ हजार ८ सय ९६ रुपैयाँ तिरेको छ । अग्रिम कर (टिडिएस) तथा अन्य कर वापत उद्योगले ८२ लाख ६९ हजार ३ सय २८ रुपैयाँ बुझाएको छ ।
उद्योगले जनाए अनुसार यस अवधिमा उद्योगले विद्युत महसुल भुक्तानी मात्र १३ करोड २४ लाख ६ हजार ५४ रुपैयाँ तिरेको छ । विद्युत महसुल तथा भ्याट, अन्तःशूल्क, अग्रिम करलगायत विभिन्न कर गरी एक वर्षमा २२ करोड ९७ लाख १६ हजार ५ सय ६१ रुपैयाँ उद्योगले राज्यलाई योगदान गरेको छ ।
साउनदेखि पुस मसान्तसम्म ५० हजार २ सय मेट्रिक टन क्लिंकर उत्पादन गर्ने लक्ष्य लिएको उद्योगले २०.८३ प्रतिशत बढी अर्थात ६० हजार ६ सय ५५ टन उत्पादन गर्न सफल भएको छ । त्यस्तै ७ लाख ९९ हजार ९ सय २० बोरा सिमेन्टको लक्ष्य लिएको उद्योगले यो अवधिमा ९ लाख २ सय बोरा सिमेन्ट उत्पादन गरेको छ । यो अंक लक्ष्यभन्दा १२.५४ प्रतिशत बढी हो भने बिक्री पनि ८.४१ प्रतिशतले बढेको छ । त्यसैगरि, कोइला खरिदमा बोलपत्रको माध्यमबाट प्रतिष्पर्धा गराइनुको साथै गुणस्तरमा समेत ध्यान दिएको परिणामस्वरूप पहिले १ टन कोइलाबाट ३.५ मे. टन क्लिंकर पाक्ने गरेकोमा अहिले १ टन कोइलाबाट ५ टन पाक्न थालेको उद्योगले जनाएको छ ।
१४ वर्षदेखि हुन नसकेको उद्योगको वार्षिक साधारण सभा समेत न्यौपानेले कार्यभार सम्हालेको एक वर्ष भित्रमै गर्न सफल भएका छन् । उद्योगको आर्थिक वर्ष २०६३/६४ देखि २०७६/७७ सम्म १४ वर्षको वार्षिक साधारणसभा सम्पन्न गरि २०४४/४५ देखिको सम्पूर्ण विवरण कम्पनी ऐन, २०६३ बमोजिम कम्पनी रजिस्ट्रारको कार्यालयमा अभिलेख गराइ सेयरधनी लगत, प्रबन्ध पत्र नियमावलीमा संशोधन, पुँजी वृद्धी गरी अधिकृत पूँजी १० अर्ब कायम गर्ने कार्यहरु सम्पन्न भएको छ ।
त्यसैगरि, उद्योगले अल्पकालीन तथा दीर्घकालीन उद्देश्य समेत सार्वजनिक गरेको छ । उद्योगको अल्पकालीन उद्देश्यमा उद्योगको दैनिक क्षमता ८ सय मेट्रिक टनलाई प्राप्ति गर्दै क्षमता विस्तार गरी ११ सय मेट्रिक टन पुर्याई अन्य उद्योगसंग प्रतिस्पर्धा हुँदै उद्योगका कर्मचारीहरुको निकट भविष्यको अर्बौँ रुपैयाँ दायित्व उद्योग स्वयंको कमाइबाट तिर्न सकिने गरि नाफामा लैजाने रहेको छ । त्यस्तै, दीर्घकालीन उद्देश्यमा उद्योगको खानीलाई तीस वर्षमा सक्नेगरि आम जनसमुदायको सहभागितामा अर्को एउटा प्लाण्ट स्थापना गरी राजस्व र रोजगारीको प्रमुख श्रोत बनाउन सकिने बारेमा अध्ययन समेत भइरहेको उद्योगले जनाएको छ ।
आर्थिकन्यूज
प्रतिक्रिया