काठमाडौं । नेपाल र भारतबीच प्रत्यक्ष रूपमा रकम पठाउन तथा प्राप्त गर्न सकिने नयाँ सेवा औपचारिक रूपमा सुरु गरिएको छ। भारत भ्रमणमा रहेका परराष्ट्रमन्त्री शिशिर खनाल र भारतका विदेशमन्त्री एस. जयशंकरले संयुक्त रूपमा उक्त सेवाको शुभारम्भ गरेका हुन्।
भारतको युनिफाइड पेमेन्ट इन्टरफेस (यूपीआई) र नेपालको नेसनल पेमेन्ट इन्टरफेस (एनपीआई) प्रणालीबीच अन्तर–आबद्धता स्थापना भएपछि दुई देशबीच बैंक खाताबाट सिधै रकम स्थानान्तरण गर्न सकिने भएको हो।
यो सेवा नेपाल र भारतबीच २०८० सालमा भएको क्रस–बोर्डर पेमेन्ट सम्झौताअन्तर्गत सुरु गरिएको हो। सेवामार्फत अब दुवै देशका बैंक खाताबीच प्रत्यक्ष रूपमा रकम पठाउन र प्राप्त गर्न सकिनेछ।
नेपाल क्लियरिङ हाउस (एनसीएचएल) का प्रमुख कार्यकारी अधिकृत निलेशमान सिंह प्रधानका अनुसार प्रारम्भिक चरणमा यो सुविधा नेपालमा कार्यरत वा अस्थायी रूपमा बसोबास गरिरहेका भारतीय नागरिकले प्रयोग गर्न सक्नेछन्। उनीहरूले नेपालबाट भारतमा प्रतिपटक १५ हजार भारतीय रुपैयाँसम्म पठाउन सक्ने व्यवस्था गरिएको छ।
त्यसैगरी, नेपालबाट एक महिनामा अधिकतम २ लाख भारतीय रुपैयाँसम्म पठाउन सकिनेछ। भारतमा रहेका नेपाली कामदार वा त्यहाँका बासिन्दाले भने प्रतिपटक २ लाख भारतीय रुपैयाँसम्म नेपालमा रकम पठाउन सक्नेछन्।
हाल यो सेवामा दैनिक वा मासिक कारोबार संख्या सम्बन्धी कुनै सीमा तोकिएको छैन। बैंक खाताबाट बैंक खातामै सिधै रकम स्थानान्तरण गर्न सकिने यो सुविधा नेपालका करिब आधा दर्जन बैंकमार्फत उपलब्ध भएको बताइएको छ।
यसअघि नेपाल भ्रमणमा आउने भारतीय नागरिकले नेपालमा क्यूआर कोडमार्फत भुक्तानी गर्न सक्ने सुविधा पाइसकेका छन्। तर नेपालबाट भारत जाने नेपाली नागरिकले भने हालसम्म भारतमा क्यूआर कोडमार्फत भुक्तानी गर्ने सुविधा पाएका छैनन्।
आर्थिकन्यूज
प्रतिक्रिया