aarthiknews.com शुक्रबार, ०८ असोज २०७८   Friday, 24 September, 2021
 
Bajaj_Bike

'शेयर बजारमा बैंकका लगानीकर्तालाई हतोत्साहित गरियो'

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • बुधबार, २३ भदौ २०७८
Citizen life
nabil bank
'शेयर बजारमा बैंकका लगानीकर्तालाई हतोत्साहित गरियो'
Global IME
LBEF
yamaha_MAW

काठमाडौँ। पुँजी बजारले वाणिज्य बैंकका लगानीकर्ताहरूलाई हतोत्साहित गरेको बैंकरहरुको गुनासो छ। बैंकहरूको शेयर मुल्य जे जति हुनुपर्थ्यो योजनावद्द ढङ्गले त्यति हुन नदिएको बैंकरहरु बताउँछन्।  

नेपाल इन्भेष्टमेन्ट बैंकका अध्यक्ष पृथ्वी बहादुर पाँडे नेप्से परिसूचकमा बैक तथा वित्तीय कम्पनीहरूको शेयर मूल्य ठिक ढङ्गको नदेखिएको बताउँछन्। उनी भन्छन्, "वाणिज्य बैंक भन्दा मुनाफा, नेटवर्थ र अन्य सबै वित्तीय अवस्था समेत कमजोर देखिएका विकास बैंक तथा फाइनान्स कम्पनीहरूको शेयर मूल्य वाणिज्य बैंकको भन्दा धेरै माथि छ।  त्यसलाई कसरी सही हो भन्ने ?"

त्यसो त वाणिज्य बैंकहरु कै पनि शेयर मूल्यमा निकै ठुलो फरक देख्न सकिन्छ जबकि उनीहरूको मुनाफा आर्जनको अनुपात भने त्यति धेरै हुँदैन। अन्य धेरै सूचकाङ्कका आधारमा शेयर मुल्य निकै हुनुपर्ने जस्तो देखिएका बैंक शेयर समेत बजारमा कम मूल्यमा नै पाइने गरेको छ। यस्तो स्थितिलाई पाँडे "बैंकका लगानीकर्तालाई हतोत्साहित गर्ने योजनाबद्ध खेल चलिरहेको" रूपमा व्याख्या गर्छन्। 

हुन पनि बैंकमा लगानीगर्नेहरु आफैँ खुसी हुने अवस्था समेत छैन। पाँडे भन्छन्, "बैङ्कहरूको रिटर्न अन इक्युटी (नेटवर्थको तुलनामा खुद मुनाफा) १० देखि १२ प्रतिशतभन्दा बढी देखिँदैन । हाम्रै नेपाल इन्भेष्टमेन्ट बैंकको ११.५ प्रतिशत मात्र छ।" उनले भनेको ठिकै हो, "यही गतिमा चल्ने र यस्तै मुनाफाले निरन्तरता पाउने हो भने बैंकमा कसले लगानी गर्ने भन्ने प्रश्न उठ्छ।"

यसरी निकै कम मुनाफा दिँदा समेत आम मानिसहरूमा भने बैंक सञ्चालकहरूले अचाक्ली कमाइ गरेको भन्ने बुझाइ रहेकोमा समेत पाँडेले गुनासो गरे। व्यापारीले जति लगानी गर्छन् त्यति नै कमाइ गरिरहेका छन्। तर, उनीहरूको कमाइका विषयमा चर्चा नहुने तर, ठुलो जोखिम उठेर गरेको लगानीबाट नाम मात्रको प्रतिफल पाउँदा समेत 'बैंकले लुटे' भन्ने भावमा प्रसार प्रचार गर्ने गरिएकोमा बैंक सञ्चालकहरूको दुखेसो रहँदै आएको छ। 

पाँडे बैङ्कहरूको सङ्ख्या बढी भएका कारण मुनाफा कम आर्जन भएको बताउँछन्। मुद्दती खातामा राखेको निक्षेपमा प्राप्त हुने ब्याज भन्दा कम वा सो हाराहारीमा मुनाफा आर्जन गर्न अब कसैले पनि बैंकको मालिक बन्ने रहर गर्ने अवस्था छैन। यदि १०/१२ वटा भन्दा बढी वाणिज्य बैंक राखिरहने हो भने यस्तो  रिटर्न अन इक्युटी अझ घट्ने उनको ठम्याई रहेको छ। तर, बैङ्कहरूको सङ्ख्या तुरुन्तै घट्ने लक्षण भने छैन। 

बजारमा बिग मर्जरको हल्ला र चर्चा चले पनि ठुला बैंकहरु मर्जरमा गइहाल्ने देखिएको छैन। तर, हिमालयन बैंकसँग मर्जरको अन्तिम अवस्थामा रहेको यो इन्भेष्टमेन्ट बैंकका अध्यक्ष पाँडे भने बैंकहरुलाई मर्जरमा जान ठुला कुराले नभई स-साना कुरा र प्रवृत्तिले रोकिरहेको तर्क पेस गर्छन्। 

उनी भन्छन्, "धेरै सञ्चालकहरूमा मर्जरपछि मेरै नेतृत्वमा बैंक रहनुपर्छ भन्ने सोच छ। तर, मर्ज भनेको प्राविधिक कुरा मात्र होइन। भावनात्मक रूपले नै दुई प्रतिस्पर्धी संस्था सामूहिक हितको लागी एक हुने कुरा हो भन्ने बुझ्न जरुरी छ।" त्यसबाहेक ठुला बैंकका सञ्चालकहरूमा मैले चलाएको बैंक नै सबैभन्दा राम्रो, स्तरीय र अब्बल हो भन्ने बुझाई छ। 

कतिपय सन्दर्भमा मर्जरको लागि हुने छलफलमा एक बैंकका सञ्चालकले अर्का बैंकका सञ्चालकलाई 'हाम्रो बैंक र तिम्रो बैंकको सेयर आदान प्रदान अनुपात (स्वाप रेसियो)  १००:२० भन्दा बढी हुँदैन' भन्दै होच्याउने र सुरुमा नै दबाएर कुरा गर्ने चलन समेत रहेको चर्चा छ। यस्ता व्यक्तिगत इगो र अन्य बैंकको अव्यवहारिक ढङ्गले आधारहीन मूल्याङ्कन गर्ने प्रवृत्ति समेत मर्जरका लागि हुने गम्भीर वार्तामा बाधक बन्ने देखिएको छ। 

नेपालका बैंकमा विदेशी लगानीकर्ताहरूले पनि नेपालका बैंकले आकर्षक प्रतिफल नदिएको कारणले नै यहाँबाट लगानी फिर्ता लैजाने गरेको उनको बुझाई रहेको छ। त्यस बाहेक विदेशी लगानीकर्ताले नेपालमा बैंकमा थप लगानी भित्राउन नसकेको पनि उनले बताए। यसरी नेपालमा लगानी गरेका विदेशीले समेत भविष्य नदेखेर धमाधम बाहिरिँदै गरेको बैंकिंग क्षेत्रलाई बलियो बनाउने बारे सबैले गम्भीर भएर सोच्नुपर्नेमा पाँडेको जोड छ। 

यदि अहिले ९५ प्रतिशत भन्दा बढी नेपालीले नै लगानी गरेको नेपालको बैंकहरुलाई धराशायी हुनबाट रोक्न र यसमा लगानी गर्ने मानिसहरूमा बढ्दै गएको विकर्षणको अवस्थालाई अन्त्य गर्न उनको सरोकारवाला सबैलाई आग्रह छ। अहिले नेपालको बैंकिंग क्षेत्रले एक लाख भन्दा धेरै शिक्षित नागरिकलाई रोजगारी उपलब्ध गराइरहेको हुनाले उनीहरूको रोजगारीको स्थायित्वको लागि समेत सरकार सचेत बन्नु पर्छ।

यसमा जोड दिँदै पाँडे थप्छन्, " बैंकले ठुलो सङ्ख्यामा ब्रेन ड्रेन रोकेको छ। उनीहरूले विदेशमा हुने झैँ कमाइ गर्ने र जीवन बाँच्ने आधार बैंकको जागिर बनेको छ। त्यसैले बैंकलाई बलियो बनाउने तर्फ सबैले जोड दिनु जरुरी छ।"

 

प्रतिक्रिया दिनुहोस