काठमाडौं। लक्ष्मी सनराइज बैंक र आइएमएस सफ्टवेयर प्रा.लि. (प्राविधिक सेवा प्रदायक–टीएसपी) बीच साना तथा मझौला उद्यम (एसएमई) लक्षित डिजिटल कर्जा सेवा विस्तार गर्न सहकार्य भएको छ। नेपाल राष्ट्र बैंकको डिजिटल लेन्डिङ मार्गदर्शनअनुसार भएको यो सहकार्यले एसएमईलाई कर्जा प्रक्रिया पूर्ण रूपमा डिजिटल माध्यमबाट सरल, छरितो र पारदर्शी बनाउने अपेक्षा गरिएको छ।
सम्झौताअनुसार बैंकका एसएमई ग्राहकहरूले अब छिट्टै अनलाइन प्रणालीमार्फत कर्जाका लागि आवेदन दिन, आवश्यक कागजात पेश गर्न तथा स्वीकृति प्रक्रियासमेत डिजिटल रूपमा पूरा गर्न सक्नेछन्। यसका लागि उद्यमहरूले आफ्नो व्यवसायमा इन्टरप्राइज रिसोर्स प्लानिङ प्रणाली प्रयोग गरेको हुनुपर्नेछ भने आइएमएस सफ्टवेयरसँग आबद्ध तथा निर्धारित मापदण्ड पूरा गरेका व्यवसायहरू यस सुविधाका लागि योग्य हुनेछन्।
आइएमएस सफ्टवेयरले प्राविधिक सेवा प्रदायक (टीएसपी) का रूपमा डिजिटल लेन्डिङ प्लेटफर्म उपलब्ध गराउनेछ। उक्त प्लेटफर्ममार्फत ERP प्रणालीमा उपलब्ध व्यावसायिक तथ्यांकका आधारमा कर्जा मूल्याङ्कन र स्वीकृति प्रक्रिया अगाडि बढाइनेछ। यसले परम्परागत कर्जा प्रक्रियामा हुने ढिलाइ, कागजी झन्झट र लागत घटाउने विश्वास गरिएको छ।
बैंकका अनुसार यो सहकार्यले एसएमई क्षेत्रमा वित्तीय पहुँच विस्तार गर्न मात्र नभई व्यवसायहरूलाई डिजिटल प्रणाली अपनाउन पनि प्रोत्साहन गर्नेछ। डेटा–आधारित मूल्याङ्कन प्रणालीमार्फत कर्जा स्वीकृति प्रक्रिया अझ प्रभावकारी बन्ने र जोखिम व्यवस्थापनमा समेत सुधार आउने अपेक्षा गरिएको छ।
लक्ष्मी सनराइज बैंकले आफ्नो बैंकिङ विशेषज्ञता र आइएमएस सफ्टवेयरको प्राविधिक क्षमताको संयोजनमार्फत नेपालमा डिजिटल बैंकिङलाई नयाँ उचाइमा पुर्याउने लक्ष्य राखेको जनाएको छ। यसले साना तथा मझौला उद्यमहरूको दिगो विकासमा महत्वपूर्ण योगदान पुर्याउने र समग्र डिजिटल अर्थतन्त्र सुदृढ बनाउन मद्दत गर्ने विश्वास व्यक्त गरिएको छ।
आर्थिकन्यूज
प्रतिक्रिया