शीर्षकहरू

आँखुखोलाको साधारणसभा सम्पन्न, हकप्रदबाट संकलित ४० करोड ऋण तिर्न प्रयोग गरिने

आँखुखोलाको साधारणसभा सम्पन्न, हकप्रदबाट संकलित ४० करोड ऋण तिर्न प्रयोग गरिने

काठमाडौं । आँखुखोला जलविद्युत कम्पनी लिमिटेडको १७औँ र १८औँ संयुक्त वार्षिक साधारणसभा सम्पन्न भएको छ। सभाले आर्थिक वर्ष २०८०/८१ र २०८१/८२ को वार्षिक प्रतिवेदन, लेखापरीक्षकको प्रतिवेदनसहित वासलात, नाफा–नोक्सान हिसाब तथा नगद प्रवाह विवरण छलफलपछि पारित गरेको छ।

सभाले कम्पनी ऐन, २०६३ को दफा १११ अनुसार आर्थिक वर्ष २०८२/८३ का लागि लेखापरीक्षकको नियुक्ति तथा पारिश्रमिक निर्धारणसम्बन्धी प्रस्ताव पनि स्वीकृत गरेको छ।

त्यसैगरी, नेपाल धितोपत्र बोर्डबाट स्वीकृत हकप्रद शेयर निष्काशन तथा बाँडफाँट प्रक्रिया पूरा गरी संकलित करिब ४० करोड रकम बैंक ऋण घटाउन प्रयोग गरिने कम्पनीले जनाएको छ।

कम्पनीका अनुसार उक्त पुँजीलाई वित्तीय दायित्व व्यवस्थापन गर्दै संस्थागत वित्तीय संरचना सुदृढ बनाउने लक्ष्य राखिएको छ।

त्यसैगरी कम्पनीले गणेश हिमाल हाइड्रोपावर लिमिटेडमार्फत आँखुखोला–२ जलविद्युत् आयोजनामा लगानी विस्तार गरिरहेको जनाएको छ।

कम्पनीले यसअघि आँखुखोला–१ जलविद्युत् आयोजना सफलतापूर्वक निर्माण सम्पन्न गरी राष्ट्रिय प्रसारण लाइनमा विद्युत् आपूर्ति गरिसकेको जानकारी दिएको छ।

साधारणसभामा अध्यक्ष राम श्रेष्ठले कम्पनीको उपलब्धि, चुनौती र आगामी योजनाबारे जानकारी दिँदै ऊर्जा उत्पादन र विद्युत् क्षेत्रको विकासमा कम्पनीको योगदान निरन्तर बढ्दै गएको बताए। उनले लगानीकर्ता, कर्मचारी, स्थानीय समुदाय तथा सरोकारवालाको सहकार्यले कम्पनीको सफलतामा महत्वपूर्ण भूमिका खेलेको उल्लेख गरे।

उनले आगामी दिनमा उत्पादन क्षमता विस्तार, सेवा सुधार र संस्थागत विकासलाई अझ सुदृढ बनाउँदै लैजाने प्रतिबद्धता व्यक्त गरे। साथै स्वच्छ ऊर्जा उत्पादन र राष्ट्रिय ऊर्जा सुरक्षामा निजी क्षेत्रको भूमिका अझ महत्वपूर्ण बन्दै गएको धारणा पनि व्यक्त गरे।

कार्यक्रममा कम्पनीका पदाधिकारी, सेयरधनी, कर्मचारी तथा सरोकारवालाहरूको सहभागिता रहेको थियो। सहभागीहरूले कम्पनीको समग्र प्रगति, उपलब्धि र भावी योजनाबारे छलफल तथा सुझाव प्रस्तुत गरेका थिए।

प्रतिक्रिया