काठमाडौं। नेपाल क्लियरिङ हाउस लिमिटेड (एनसीएचएल) ले ई-कमर्स कारोबारलाई थप सुरक्षित बनाउने उद्देश्यसहित ३डी सेक्योर एसीएस सेवा सुरु गरेको छ। राष्ट्रिय वाणिज्य बैंकको सहकार्यमा सुरु गरिएको यो सेवा अन्तर्गत अब इ-कमर्समार्फत हुने डेबिट र क्रेडिट कार्ड भुक्तानीमा थप सुरक्षा तह लागू हुने भएको छ।
नयाँ प्रणालीअनुसार अब कार्डधारीले अनलाइन कारोबार गर्दा अनिवार्य रूपमा प्रमाणीकरण प्रक्रिया पूरा गर्नुपर्नेछ। यसका लागि ओटीपी (वन टाइम पासवर्ड) आधारित भेरिफिकेसन प्रयोग हुनेछ, जसले कार्डधनीको पहिचान सुनिश्चित गरी अनधिकृत कारोबार रोक्ने लक्ष्य राखेको छ। बैंकहरूले आफ्नो कार्डमा यो फिचर एक पटक सक्रिय गरेपछि सेवा प्रयोग गर्न सक्नेछन्।
एनसीएचएलका अनुसार ३डी सेक्योर एसीएस समाधानले इ–कमर्स भुक्तानी प्रक्रियामा सुरक्षा मजबुत बनाउने मात्र होइन, डिजिटल कारोबारप्रति ग्राहकको विश्वास पनि बढाउने अपेक्षा गरिएको छ।
यस प्रणालीमार्फत नेटवर्क स्किम व्यवस्थापन, कार्ड जारी, कारोबार प्रोसेसिङ र सेटलमेन्ट तथा भुक्तानी गेटवे जस्ता सेवाहरूलाई एकीकृत रूपमा सञ्चालन गर्न सकिने व्यवस्था मिलाइएको छ।
हाल राष्ट्रिय वाणिज्य बैंकसहित एभरेस्ट बैंक, माछापुच्छ्रे बैंक, सिद्धार्थ बैंक, प्रभु बैंक, लक्ष्मी सनराइज बैंक लगायत वाणिज्य बैंक तथा वित्तीय संस्थाहरूले आफ्ना कार्डहरूलाई उक्त एसीएस समाधानसँग आबद्ध गरिसकेका छन्।
आर्थिकन्यूज
प्रतिक्रिया