शीर्षकहरू

बीमा  र शेयर बजारको अर्बौं रकम दुरुपयोग प्रकरणमा ५९ जनाविरुद्ध मुद्दा दर्ता हुने

बीमा  र शेयर बजारको अर्बौं रकम दुरुपयोग प्रकरणमा ५९ जनाविरुद्ध मुद्दा दर्ता हुने

काठमाडौं । बीमा कम्पनीहरूको अर्बौं रुपैयाँ दुरुपयोग तथा सेयर बजारमा गैरकानुनी लगानी गरेको आरोपमा  जनाविरुद्ध बिमा कसुरअन्तर्गत मुद्दा दर्ता हुने भएको छ। जिल्ला सरकारी वकिलको कार्यालयले केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) को अनुसन्धान प्रतिवेदनका आधारमा सोमबार नै जिल्ला अदालत काठमाडौंमा अभियोग दर्ता गर्ने तयारी गरेको छ।

सीआईबीले हिमालयन रि–इन्स्योरेन्स, हिमालयन लाइफ इन्स्योरेन्स, नेपाल माइक्रो इन्स्योरेन्स तथा तिनका सहायक कम्पनीहरूको रकम व्यक्तिगत स्वार्थका लागि प्रयोग गरिएको निष्कर्ष निकालेको छ। अनुसन्धानअनुसार भृकुटी स्टक ब्रोकिङ कम्पनी (ब्रोकर नं ५५) मार्फत बिमा कम्पनीहरूको कोषबाट रकम निकालेर निजी व्यक्तिहरूको सेयर कारोबार मिलाउन प्रयोग गरिएको थियो।

प्रतिवेदनमा हिमालयन रि–इन्स्योरेन्सबाट प्राप्त २ अर्ब ७३ करोड ३३ लाख रुपैयाँ दीपक भट्ट, राजबहादुर शाह, शुभी अग्रवाल र ऋषिराज मोरको नाममा रहेका व्यक्तिगत ग्राहक खाताको शेयर खरिद तथा सेटलमेन्टमा प्रयोग भएको उल्लेख छ। समग्रमा विभिन्न बिमा कम्पनी र तिनका सहायक संस्थाको ३ अर्ब ७३ करोड ८५ लाख रुपैयाँभन्दा बढी रकम दुरुपयोग भएको सीआईबीको निष्कर्ष छ।

अनुसन्धानले सुलभ अग्रवाल, दीपक भट्ट र शेखर गोल्छाको समूहले नियामकीय सीमा नाघेर बिमा कम्पनीको रकम प्रयोग गरी सेयर खरिद गरेको तथा बजार प्रभावित पार्ने गतिविधिमा संलग्न रहेको देखाएको छ। सीआईबीका अनुसार लगानी समितिको स्वीकृतिबिना र बिमा प्राधिकरणको निर्देशन विपरीत रकम परिचालन गरिएको थियो।

प्रकरणमा हिमालयन रि–इन्स्योरेन्सका सञ्चालक तथा पदाधिकारी, नेपाल माइक्रो इन्स्योरेन्सका पदाधिकारी, हिमालयन लाइफ इन्स्योरेन्सका सहायक कम्पनीका अधिकारी तथा भृकुटी स्टक ब्रोकिङ कम्पनीका कार्यकारी सञ्चालक सन्दीप चाचानसहित ४० जनालाई प्रतिवादी बनाउन सिफारिस गरिएको छ।

सीआईबीले मुख्य योजनाकारका रूपमा सुलभ अग्रवालमाथि ३ अर्ब ७३ करोड ८५ लाख रुपैयाँ बिगो कायम गर्न सिफारिस गरेको छ भने दीपक भट्टमाथि २ अर्ब ८९ करोड २० लाख रुपैयाँ बिगो दाबी गरिएको छ। त्यसैगरी शुभी अग्रवालमाथि ६२ करोड ९० लाख, राजबहादुर शाहमाथि ८९ करोड ७१ लाख र ऋषिराज मोरमाथि २३ करोड १ लाख रुपैयाँ बिगो कायम गरी कैद तथा जरिवानाको माग गरिएको छ। त्यस्तै, इन्साइडर ट्रेडिङ तथा बीमा क्षेत्रको रकम दुरुपयोग आरोपमा तत्कालिन हिमालयन लाइफ इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत मनोजकुमार कर्णलाई समेत सिआइबीले बयान लिइसकेको स्रोतले बताएको छ । कर्णलाई समेत प्रतिवादी बनाएर सोमबार जिल्ला अदालतमा मुद्दा दायर हुन सक्ने बताइएको छ । 

यस्तै, हिमालयन सेक्युरिटिज बैंकर लिमिटेडमा २२ करोड रुपैयाँभन्दा बढी तथा हिमालयन क्यापसर्भ लिमिटेडमा ३७ करोड रुपैयाँ आर्थिक हिनामिना भएको निष्कर्ष निकाल्दै सम्बन्धित पदाधिकारीहरूविरुद्ध पनि मुद्दा चलाउन सिफारिस गरिएको छ। हिमालयन इन्भेस्टमेन्ट बैंकर र हिमालयन लार्ज क्याप फन्डमा समेत २५ करोड ३७ लाख रुपैयाँभन्दा बढीको अनियमितता भेटिएको छ।

सीआईबीले प्रतिवादीहरूलाई बिमा ऐन, २०७९ को दफा १४० र १४१ अन्तर्गत बिमा कम्पनीको रकम अपचलन, हिनामिना, भित्री कारोबार (इन्साइडर ट्रेडिङ) तथा धितोपत्र बजारमा मूल्य हेरफेर गरेको कसुरमा हदैसम्मको कैद, जरिवाना र बिगो जफतको मागसहित अभियोजन गर्न सरकारी वकिल कार्यालयलाई सिफारिस गरेको छ।

 

प्रतिक्रिया