शीर्षकहरू

पोखरा-दुबई सिधा उडान नियमित हुने, टिकट बुकिङ खुला

पर्यटन र लगानीमा नयाँ अवसरको ढोका, वैदेशिक यात्रा सहज, क्षेत्रीय अर्थतन्त्रलाई लाभ

पोखरा-दुबई सिधा उडान नियमित हुने, टिकट बुकिङ खुला

पोखरा। पोखरा अन्तरराष्ट्रिय विमानस्थलबाट संयुक्त अरब इमिरेट्स (यूएई) को दुबईका लागि नियमित सिधा हवाई उडान सञ्चालन हुने भएको छ। आगामी असोज ७ गतेदेखि दैनिक उडान सुरु गर्ने तयारीसँगै वायुसेवा कम्पनी फ्लाई दुबईले टिकट बुकिङसमेत खुला गरेको छ।

पोखरा विमानस्थल सञ्चालनमा आएको तीन वर्षपछि पहिलो पटक नियमित अन्तरराष्ट्रिय व्यावसायिक उडान सुनिश्चित भएको हो। यसअघि चार्टर उडान तथा आकस्मिक मेडिकल उडान मात्र सीमित रूपमा सञ्चालन हुँदै आएका थिए।

नयाँ उडान सेवा सुरु भएसँगै पोखरालाई अन्तरराष्ट्रिय पर्यटन नक्सामा सिधै जोड्ने महत्वपूर्ण कदमका रूपमा हेरिएको छ। पर्यटन व्यवसायीहरूले यसलाई गण्डकी प्रदेशको अर्थतन्त्र र रोजगारी विस्तारका लागि ‘गेम चेन्जर’ अवसरका रूपमा व्याख्या गरेका छन्।

पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले दुबई उडानलाई शहरको अन्तरराष्ट्रिय पहिचान विस्तार गर्ने ऐतिहासिक उपलब्धि बताएका छन्। उनका अनुसार यो सेवा केवल हवाई पहुँच विस्तार मात्र नभई पोखरालाई पर्यटन, लगानी र व्यवसायिक केन्द्रका रूपमा विकास गर्ने अवसर हो।

होटल संघ नेपालका केन्द्रीय सदस्य भरत पराजुलीले यूएईसँगको सिधा हवाई सम्पर्कले पर्यटन आदान–प्रदान, व्यापार र लगानी विस्तारमा सकारात्मक प्रभाव पार्ने विश्वास व्यक्त गरे। यूएईका राजदूतसँग भएको छलफलपछि यो प्रक्रिया अझ तीव्र बनेको उनको भनाइ छ।

पोखरा पर्यटन परिषद्का निवर्तमान अध्यक्ष पोमनारायण श्रेष्ठले दुबई उडानले पोखराको पर्यटन क्षेत्रमा नयाँ ऊर्जा थप्ने उल्लेख गरे। त्यस्तै, महिला पर्यटन व्यवसायी मञ्च (ओटेफ) की अध्यक्ष ममता न्यौपानेले यसले पोखरालाई अन्तरराष्ट्रिय बजारसँग प्रत्यक्ष जोड्ने महत्वपूर्ण अवसर सिर्जना गर्ने बताइन्।

वैदेशिक यात्रा सहज, क्षेत्रीय अर्थतन्त्रलाई लाभ

दैनिक उडान सुरु भएपछि गण्डकी प्रदेश तथा आसपासका जिल्लाबाट वैदेशिक रोजगारी, उच्च शिक्षा र व्यवसायका लागि विदेश जाने यात्रुहरूलाई प्रत्यक्ष सुविधा पुग्ने अपेक्षा गरिएको छ।

विशेषगरी यूएईमा ठूलो संख्यामा रहेका नेपाली श्रमिक तथा विद्यार्थीहरूलाई काठमाडौँ निर्भरता घटाएर समय र लागत दुवै बचत हुने अनुमान गरिएको छ।

सन् २०२३ जनवरी १ मा उद्घाटन गरिएको पोखरा अन्तरराष्ट्रिय विमानस्थलबाट नियमित अन्तरराष्ट्रिय उडान सुरु भएसँगै पोखरा मुलुकको दोस्रो प्रमुख अन्तरराष्ट्रिय हवाई प्रवेशद्वारका रूपमा स्थापित हुने अपेक्षा गरिएको छ।

फ्लाई दुबईको सेवा सुरु भएपछि यात्रुहरूले कम्पनीको आधिकारिक वेबसाइट तथा मान्यता प्राप्त ट्राभल एजेन्सीमार्फत टिकट बुकिङ गर्न सक्ने जनाइएको छ।

प्रतिक्रिया