काठमाडौं । राइड शेयरिङ प्लेटफर्म उबर नेपालमा प्रवेश गरेको छ । शुक्रबार एक कार्यक्रम गर्दै उबर नेपाल भित्र्याएको हो । तर, यो इन्टरनेशनल कम्पनी उबर नेपालमा गरेको प्रवेश गैरकानुनी भएको छ ।
नेपालमा विदेशी कम्पनीले राइड शेयरिङ सेवा सञ्चालन गर्दा नेपालीको पनि स्वामित्व चाहिन्छ । अर्थात् कुनै पनि विदेशी कम्पनीले नेपालमा राइड शेयरिङ सेवा सञ्चालन गर्दा उसले ७० प्रतिशत बढी स्वामित्व राख्न पाउँदैन । ३० प्रतिशत स्वामित्व नेपालीकाे अनिवार्य रुपमा हुनुपर्दछ ।
विदेशी लगानी तथा प्रविधि हस्तान्तरण ऐन, २०७५ ले यस विषयमा प्रस्ट पारेको छ । ऐन अनुसार ७० प्रतिशत बढी विदेशी लगानी हुने राइड शेयरिङ कम्पनीलाई विदेशी लगानी खुला गरिएको छैन ।
ऐनको यो प्रावधानलाई मिचेर उबर नेपालमा लन्च नै भएको छ । यस्तै कुनै विदेशी राइड सेवा कम्पनी नेपालमा सेवा सुरु गर्नु पूर्व हालसम्मको प्रावधान अनुसार उद्योग विभागमा पनि दर्ता हुनु पर्दछ । विभागमा राइड शेयरिङ सेवा सञ्चालन गर्ने उद्देश्य खुलाएर दर्ता हुनु पर्दछ । दर्ता पछि विभागले सर्टिफिकेट दिन्छ ।
तर, उबर उद्योग विभागमा दर्ता नै नभएको पाइएको छ । विभागका सूचना अधिकारी सुरेश दाहालले हालसम्म उबर उद्योग विभागमा दर्ता नै नभएको जानकारी दिए । आर्थिक न्यूजसँग कुरा गर्दै उनले भने, 'हालसम्मको उद्योग विभागका उबर दर्ता भएको छैन । सेवा सञ्चालनका लागि विभागले कुनै सहमति, अनुमति पनि दिएको छैन ।’
यसरी विदेशी कम्पनीले नेपालको नियमको ठाडो उल्लङ्घन गर्दै गैरकानुनी रुपमा सञ्चालन हुँदा नेपालका निकाय भने हेरेको हेरै गरेर बस्नु परेको अवस्था छ । यस विषयमा कसले कारबाही गर्ने, कुन निकायको क्षेत्राधिकार हो भन्ने विषय पनि हालसम्म स्पष्ट छैन ।
उद्योग विभागका कर्मचारीहरूका अनुसार राइड शेयरिङको विषय यातायात क्षेत्रमा पर्ने भएकाले उद्योग विभागले कारबाही गर्न मिल्दैन । यता, यातायात विभागले भने हालसम्म राइड शेयरिङ प्लेटफर्मलाई नचिन्ने जनाएको छ । यातायात विभागले हालसम्म राइड शेयरिङलाई नचिन्ने महानिर्देशक राजीव पोख्रेलकाे भनाइ छ । उनले भने, 'राइड शेयरिङ यातायात सम्बन्धित भएपनि यसबारे कुनै कानून बनेको छैन । विभागको क्षेत्राधिकार भित्र छ भनेर कानुनले नभनेसम्म हामी राइड शेयरिङलाई चिन्दैनौँ ।’
यसरी, नेपालमा दर्ता नै नभई, नेपालको कानूनी प्रावधान मिचेर गैरकानुनी रुपमा सञ्चालनमा आएको उबरलाई कसले कानूनी दायरामा ल्याउने भन्ने विषय नै स्पष्ट छैन ।
उबरले शुक्रबारदेखि नेपालमा औपचारिक रुपमा प्रवेश गरेको गैरकानुनी रुपमा घोषणा गरेको थियो । हालसम्म २ हजार ५०० जना चालक आबद्ध भएको कम्पनीले दाबी गरेको छ ।
यसअघि राइड शेयरिङ प्लेटफर्म याङ्गो पनि नेपालमा गैरकानुनी रुपमा प्रवेश गरेको थियो । याङ्गो पनि नेपालमा हालसम्म दर्ता नै भएको छैन ।
आर्थिकन्यूज
प्रतिक्रिया