शीर्षकहरू

समस्याग्रस्त पाँच सहकारीका ११४ ठूला ऋणीको नाम सार्वजनिक

समस्याग्रस्त पाँच सहकारीका ११४ ठूला ऋणीको नाम सार्वजनिक

काठमाडौं । बागमती प्रदेशअन्तर्गत समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले समस्याग्रस्त घोषित पाँच सहकारी संस्थाका ११४ जना ठूला ऋणीको नामावली सार्वजनिक गरेको छ।

समितिको शुक्रबारको निर्णयअनुसार लालीगुराँस सेभिङ एण्ड क्रेडिट को–अपरेटिभ लिमिटेड, सुमेरु सेभिङ एण्ड क्रेडिट को–अपरेटिभ लिमिटेड, नेशनल नमोबुद्ध बचत तथा ऋण सहकारी संस्था लिमिटेड, दर्शन बचत तथा ऋण सहकारी संस्था लिमिटेड र सिभिल सेभिङ एण्ड क्रेडिट को-अपरेटिभ लिमिटेड का ठूला ऋणीहरूको विवरण सार्वजनिक गरिएको हो।

समितिका अनुसार लालीगुराँस सहकारीका १३ जना, सुमेरुका ३१ जना, नेशनल नमोबुद्धका ११ जना, दर्शन सहकारीका ५४ जना र सिभिल सहकारीका पाँच जना ऋणीको नाम सार्वजनिक गरिएको छ।

समिति सदस्य रामेश्वर ढकालका अनुसार समितिमा उपलब्ध ऋण विवरणका आधारमा नामावली सार्वजनिक गरिएको हो। समस्याग्रस्त सहकारी संस्थाको रकम असुली प्रक्रिया प्रभावकारी बनाउन तथा बचतकर्ताको रकम फिर्ता गर्ने प्रक्रियालाई सहज बनाउन यो कदम चालिएको समितिको भनाइ छ।

समितिले सार्वजनिक गरिएका ऋणीहरूलाई सम्बन्धित सहकारी संस्थाबाट लिएको ऋण तत्काल चुक्ता गर्न आग्रह गरेको छ। ऋण असुलीबाट प्राप्त रकम बचतकर्तालाई फिर्ता गर्ने प्रक्रियामा उपयोग गरिने समितिले जनाएको छ।

पछिल्ला वर्षहरूमा वित्तीय संकटका कारण समस्याग्रस्त घोषित सहकारी संस्थाहरूमा बचतकर्ताको ठूलो रकम फसेपछि सरकार तथा नियामक निकायले ऋण असुली र सम्पत्ति व्यवस्थापन प्रक्रिया तीव्र बनाउँदै आएका छन्।

प्रतिक्रिया