काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद अमरेशकुमार सिंहले आगामी आर्थिक वर्षको बजेटलाई ‘कार्यान्वयनमा कमजोर र घाटा–केन्द्रित’ भन्दै कडा आलोचना गरेका छन्।
प्रतिनिधिसभामा बजेटमाथिको छलफलका क्रममा बोल्दै उनले अर्थमन्त्री डा. स्वर्णिम वाग्लेलाई लक्षित गर्दै ‘यो बजेटबाट नेपालको कति प्रतिशत जनता खुसी भए?’ भन्ने प्रश्न उठाए।
उनले बैंकरहरू खुसी भएको भनिए पनि बैंकिङ प्रणालीमा निक्षेप बढ्दै जानु र कर्जा प्रवाह सुस्त रहनुले अर्थतन्त्रमा संरचनागत समस्या देखिएको टिप्पणी गरे।
सांसद सिंहले शिक्षा र स्वास्थ्य मौलिक हक भए पनि ती क्षेत्रमा कर लगाइएको विषयप्रति आपत्ति जनाउँदै बजेटले सर्वसाधारण तथा विपन्न वर्गको अपेक्षा पूरा नगरेको दाबी गरे।
उनका अनुसार बजेटले उत्पादन वृद्धि, रोजगारी सिर्जना र ग्रामीण अर्थतन्त्र सुदृढीकरणमा पर्याप्त ध्यान नदिएको छ। किसानले उत्पादनको उचित मूल्य नपाउने र उपभोक्ताले महँगो मूल्य तिर्नुपर्ने अवस्थालाई पनि बजेटले सम्बोधन गर्न नसकेको उनको भनाइ थियो।
सिंहले बजेट ठूलो मात्रामा घाटा (डेफिसिट) मा निर्भर रहेको उल्लेख गर्दै आन्तरिक ऋण बढ्दै गएकोप्रति चिन्ता व्यक्त गरे। पुँजीगत खर्च कमजोर हुँदा विकास र रोजगारी सिर्जना दुवै प्रभावित हुने अवस्था रहेको उनले बताए।
उनले मुलुकको अर्थतन्त्र रेमिट्यान्स–निर्भर बन्दै गएको, उत्पादन क्षमतामा कमजोरी रहेको तथा बेरोजगारी बढिरहेको उल्लेख गर्दै वर्तमान बजेटले दीर्घकालीन समाधान दिन नसकेको टिप्पणी गरे।
साथै, उनले अर्थमन्त्रीको शैक्षिक पृष्ठभूमि र नमुना विद्यालय विस्तारजस्ता योजनाको अभावतर्फ संकेत गर्दै व्यंग्यात्मक टिप्पणीसमेत गरे।
सांसद सिंहले बजेटलाई आशावादीभन्दा बढी ‘घाटा–केन्द्रित र कमजोर कार्यान्वयनयोग्य’ भएको आरोप लगाउँदै आलोचना गरेका छन्।
आर्थिकन्यूज
प्रतिक्रिया