शीर्षकहरू

एनएमबी बैंकद्वारा नेपाल–भारत तत्काल रकम स्थानान्तरण सेवा सुरु

एनएमबी बैंकद्वारा नेपाल–भारत तत्काल रकम स्थानान्तरण सेवा सुरु

काठमाडौं । एनएमबी बैंकले नेपाल र भारतबीच सहज तथा तत्काल रकम पठाउन मिल्ने ‘इन्डो–नेपाल पीटूपी (पर्सन–टु–पर्सन) रेमिट्यान्स’ सेवा सञ्चालनमा ल्याएको छ।

नेपाल क्लियरिङ हाउस लिमिटेड (एनसीएचएल) सँगको सहकार्यमा सुरु गरिएको यो सेवामार्फत अब भारतबाट नेपालमा तथा नेपालबाट भारतमा छिटो, सुरक्षित र सहज रूपमा रकम स्थानान्तरण गर्न सकिने बैंकले जनाएको छ।

बैंकका अनुसार नयाँ सेवाले परम्परागत रेमिट्यान्स प्रक्रियामा हुने ढिलाइ तथा झन्झट कम गर्नेछ। भारतबाट रकम पठाएलगत्तै एनएमबी बैंकमा रहेको लाभग्राहीको खातामा रकम जम्मा हुने व्यवस्था मिलाइएको छ। यसले सीमापार व्यक्तिगत रकम स्थानान्तरणलाई थप प्रभावकारी बनाउने अपेक्षा गरिएको छ।

सेवाअन्तर्गत ग्राहकहरूले लामो बैंक खाता नम्बर आदानप्रदान गर्नुपर्ने झन्झटबाट पनि छुटकारा पाउने बैंकको भनाइ छ। बैंकले ग्राहकलाई ‘भर्चुअल पेमेन्ट एड्रेस (भीपीए)’ उपलब्ध गराउनेछ, जसको प्रयोग गरेर रकम पठाउन र प्राप्त गर्न सकिनेछ।

यो सेवा मोबाइल बैंकिङ एप, बैंकको वेबसाइट वा बैंक शाखामार्फत सक्रिय गर्न सकिने व्यवस्था गरिएको छ। डिजिटल माध्यम प्रयोग गर्न सहज नभएका ग्राहकले बैंक शाखामा पुगेर कर्मचारीको सहयोगमा पनि सेवा लिन सक्नेछन्।

बैंकका अनुसार भारतमा रहेका नेपाली तथा नेपालमा रहेका भारतीय नागरिकलाई लक्षित गरी ल्याइएको यो सेवाले पारिवारिक खर्च, व्यक्तिगत आवश्यकता तथा साना रकम स्थानान्तरणलाई थप सहज बनाउनेछ। ग्राहकको कारोबारलाई सुरक्षित बनाउन बैंकले आन्तरिक निगरानी तथा सुरक्षा प्रणालीलाई समेत सुदृढ बनाएको जनाएको छ।

एनएमबी बैंकले हाल देशभर १९८ शाखा, १७६ एटीएम र नौ एक्सटेन्सन काउन्टरमार्फत बैंकिङ सेवा प्रदान गर्दै आएको छ। बैंकले डिजिटल बैंकिङ सेवाको विस्तारसँगै ग्राहकलाई थप प्रविधिमैत्री वित्तीय सुविधा उपलब्ध गराउने रणनीति अघि बढाएको जनाएको छ।

प्रतिक्रिया