शीर्षकहरू

निश्चित ब्याचबाहेक सबै करेन्ट चाउचाउ उपभोग योग्य छन : यशोधा फुड्स

निश्चित ब्याचबाहेक सबै करेन्ट चाउचाउ उपभोग योग्य छन : यशोधा फुड्स

काठमाडौं । यशोधा फुड्स प्रालिले निश्चित ब्याच नम्बरको उत्पादनबाहेक अन्य सबै करेन्ट चाउचाउ उपभोगका लागि सुरक्षित रहेको जनाएको छ। कम्पनीले एक सूचना जारी गर्दै खाद्य तथा गुण नियन्त्रण कार्यालयले गुणस्तरसम्बन्धी प्रश्न उठाएको ‘करेन्ट हट एण्ड स्पाइसी’ १०० ग्रामको उत्पादन मिति २०२६/०२/२३ र ब्याच नम्बर ०४ए भएको उत्पादनमा मात्र समस्या देखिएको स्पष्ट पारेको हो।

कम्पनीका अनुसार उक्त उत्पादन मिति र ब्याच नम्बर ०४ए बाहेक अन्य मितिमा उत्पादन भएका तथा फरक ब्याच नम्बर भएका सम्पूर्ण करेन्ट चाउचाउ उपभोगका लागि पूर्ण रूपमा सुरक्षित र गुणस्तरीय छन्।

“खाद्य तथा गुण नियन्त्रण कार्यालयले जारी गरेको सूचनामा उल्लेख गरिएको ‘करेन्ट हट एण्ड स्पाइसी’ १०० ग्रामको उत्पादन मिति २०२६/०२/२३ र ब्याच नम्बर ०४ए बाहेकका सम्पूर्ण उत्पादनहरू निर्वाध रूपमा उपभोग गर्न सकिन्छ,” कम्पनीद्वारा जारी सूचनामा उल्लेख छ।

यशोधा फुड्सले उपभोक्ता, विक्रेता तथा आधिकारिक वितरकहरूलाई सोही ब्याचबाहेकका अन्य उत्पादन ढुक्क भएर खरिद, बिक्री तथा उपभोग गर्न आग्रह गरेको छ।

कम्पनीले आफ्ना उत्पादनहरूको गुणस्तर र उपभोक्ताको स्वास्थ्यप्रति सदैव प्रतिबद्ध रहेको जनाउँदै सम्बन्धित निकायसँग आवश्यक समन्वय र परीक्षण प्रक्रियामा सहकार्य गरिरहेको पनि जनाएको छ।

प्रतिक्रिया