शीर्षकहरू

सौराहामा हुने भयो ‘इसेवा ह्याकाथन २०२६’, २० टोलीका ६३ युवा प्रतिस्पर्धामा

सौराहामा हुने भयो ‘इसेवा ह्याकाथन २०२६’, २० टोलीका ६३ युवा प्रतिस्पर्धामा

काठमाडौं । नेपालको अग्रणी डिजिटल भुक्तानी सेवा प्रदायक इसेवाले आगामी जेठ १५ देखि १७ गतेसम्म चितवनको पर्यटकीय केन्द्र सौराहामा ‘इसेवा ह्याकाथन २०२६’ आयोजना गर्ने भएको छ। वन्यजन्तु तथा वातावरण संरक्षण क्षेत्रमा क्रियाशील अन्तर्राष्ट्रिय संस्था विश्व वन्यजन्तु कोष (डब्लूडब्लूएफ)सँगको सहकार्यमा ह्याकाथन आयोजना गर्न लागिएको हो।

विगत १७ वर्षदेखि डिजिटल भुक्तानी, वित्तीय समावेशीकरण र डिजिटल अर्थतन्त्रको विस्तारमा सक्रिय इसेवाले नवप्रवर्तन, युवा सशक्तीकरण तथा सामाजिक उत्तरदायित्वलाई प्रवर्द्धन गर्ने उद्देश्यले ह्याकाथन आयोजना गर्न लागेको जनाएको छ।  कार्यक्रममार्फत नेपालमा नवप्रवर्तन संस्कृतिको विकास, डिजिटल समाधानको खोजी तथा युवा उद्यमशीलतालाई प्रोत्साहन गर्ने लक्ष्य राखिएको छ।

ह्याकाथनमा देशभरिबाट छनोट भएका २० टोलीका ६३ जना युवा सहभागी हुनेछन्। सहभागीहरूले फिनटेक, साइबर सुरक्षा तथा डिजिटल प्रविधिमा आधारित व्यवहारिक समाधान र प्रोटोटाइपहरू विकास गरी प्रस्तुत गर्नेछन्।

इसेवाका प्रमुख कार्यकारी अधिकृत जगदीश खड्काले युवाहरूमा समस्या समाधानमुखी सोच विकास गर्न, प्रविधिमैत्री समाधान निर्माण गर्न तथा दिगो विकासमा योगदान पुर्‍याउन ह्याकाथन प्रभावकारी माध्यम हुने विश्वास व्यक्त गरे।

उनका अनुसार ह्याकाथनले डिजिटल प्रणाली विकास, साइबर सुरक्षा र वातावरणीय दिगोपनासम्बन्धी नवीन समाधान खोज्न डेभलपर, डिजाइनर तथा इन्नोभेटरहरूलाई एउटै मञ्चमा ल्याउनेछ। यस्ता पहलले युवामा सिर्जनशीलता र नवप्रवर्तनात्मक सोच अभिवृद्धि गर्नुका साथै सुरक्षित फिनटेक इकोसिस्टम निर्माण र वातावरण संरक्षणमा समेत योगदान पुग्ने अपेक्षा गरिएको छ।

तीन दिनसम्म सञ्चालन हुने आवासीय प्रतियोगिताका क्रममा सहभागी टोलीहरूलाई फिनटेक, साइबर सुरक्षा तथा सूचना प्रविधि क्षेत्रका विज्ञ र उद्योग नेतृत्वकर्ताबाट प्रत्यक्ष मेन्टोरसिप तथा प्राविधिक मार्गदर्शन प्रदान गरिनेछ। यसले उनीहरूलाई आफ्ना अवधारणालाई थप परिष्कृत गर्दै व्यवहारिक समाधानमा रूपान्तरण गर्ने अवसर प्रदान गर्नेछ।

प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्ने टोलीहरूका लागि आकर्षक नगद पुरस्कारको व्यवस्था गरिएको छ। प्रथम हुने टोलीले ३ लाख रुपैयाँ, दोस्रो हुने टोलीले २ लाख रुपैयाँ र तेस्रो हुने टोलीले १ लाख रुपैयाँ नगद पुरस्कार प्राप्त गर्ने इसेवाले जनाएको छ।

इसेवाका अनुसार ह्याकाथनबाट विकसित हुने डिजिटल समाधानहरूले सामाजिक तथा वातावरणीय प्रभाव सिर्जना गर्न सक्ने नवप्रवर्तनलाई प्रोत्साहन गर्नुका साथै नेपालमा प्रविधिमूलक उद्यमशीलताको विकासमा समेत टेवा पुर्‍याउनेछन्।
 

प्रतिक्रिया