काठमाडौं। अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले दशकौँदेखि थाँती रहेका संरचनात्मक समस्या केवल एकै बजेटले समाधान हुन्छ भन्ने अपेक्षा अव्यवहारिक हुने बताएका छन्।
सोमबार काठमाडौंमा आयोजित आर्थिक वर्ष २०८३/८४ को बजेटसम्बन्धी नीति संवाद कार्यक्रममा बोल्दै उनले बजेटको सीमितता स्पष्ट गर्दै सरकारका स्रोत र खर्चको ठूलो हिस्सा पहिले नै पूर्वनिर्धारित हुने भएकाले सबै समस्या एकैपटक समाधान हुन्छ भन्ने धारणा गलत भएको उल्लेख गरे।
“स्रोत, समय र अपेक्षाको चापका बीच बजेट ल्याइएको हुन्छ। बजेटका सन्दर्भमा अलिकति अतिरञ्जना पनि भएको छ,” उनले भने, “दशकौँदेखि थाँती रहेका समस्या एकै बजेटले समाधान गर्छ भन्ने अपेक्षा अलिक अव्यवहारिक छ।”
अर्थमन्त्री वाग्लेले बजेटमा सरकारको करिब ७० प्रतिशत खर्च संरचना पहिले नै तय भइसकेको हुने भएकाले बाँकी सीमित दायराभित्र मात्र नयाँ प्राथमिकता तय गर्न सकिने स्पष्ट पारे।
उनले पछिल्ला तीन दशकयता एकैपटक ठूलो मात्रामा कर संरचना नचलाइएको अवस्थामा यस वर्ष केही महत्वपूर्ण सुधार प्रयास गरिएको बताए। यद्यपि समयको दबाबका कारण अपेक्षित परिपक्वतासहित सबै सुधार गर्न नसकिएको उनले स्वीकार गरे।
वाग्लेले सरकारले चुनावअघि गरेको कर भार घटाउने प्रतिबद्धता पूरा गर्ने प्रयास भइरहेको पनि बताए।
त्यसैगरी उनले बजेटले मात्र अर्थतन्त्र रूपान्तरण नहुने भन्दै त्यसले सिर्जना गर्ने आधार र लगानीको वातावरणमा निजी क्षेत्रको सक्रिय भूमिका निर्णायक हुने धारणा राखे। “बजेटले रोप्ने बीउ र रणनीतिक लगानीको जगमा निजी क्षेत्रले अर्थतन्त्रको वृद्धि अघि बढाउनुपर्छ,” उनले भने।
आर्थिकन्यूज
प्रतिक्रिया