काठमाडौं । सरकारले ल्याएको आर्थिक वर्ष २०८३/८४ को बजेटप्रति नाडा अटोमोबाइल्स एशोसिएसन अफ नेपालले मिश्रित प्रतिक्रिया दिएको छ। विद्युतीय सवारी साधनमा हालसम्म लाग्दै आएको अन्तःशुल्क हटाएर त्यसको सट्टा ‘स्वच्छ पूर्वाधार लगानी शुल्क’ लागू गर्ने व्यवस्थासहितको कर संरचना परिवर्तनप्रति नाडाले ध्यानाकर्षण जनाएको छ।
नाडाका अनुसार नयाँ कर व्यवस्थाले विद्युतीय मात्र नभई इन्धनबाट चल्ने सवारी साधनहरूको समेत मूल्य वृद्धि हुने जोखिम बढाएको छ। हालको बजेटले कर प्रणालीमा संरचनागत परिवर्तन ल्याएको भए पनि त्यसले बजारमा मूल्य स्थिरता कायम गर्न नसक्ने अवस्था देखिएको नाडाको मूल्यांकन छ।
संस्थाले नेपाल विश्व व्यापार संगठनको सदस्य भएको करिब दुई दशक पूरा भइसकेको तथा मुलुक अल्पविकसित राष्ट्रबाट स्तरोन्नति हुँदै विकासशील राष्ट्रतर्फ अघि बढिरहेको सन्दर्भमा सवारी साधनमा थप कर वृद्धि नगर्न सरकारसँग आग्रह गरेको छ।
यसअघि मोटर पिक पावरका आधारमा महशुल दर निर्धारण हुँदै आएकोमा नयाँ बजेटमार्फत कारोबार मूल्यका आधारमा कर लगाउने व्यवस्था गरिएको छ। नाडाले यस्तो परिवर्तनले कर प्रणालीलाई केही हदसम्म आधुनिक बनाउने संकेत गरे पनि व्यवहारमा यसले सवारी साधनको लागत बढाउने र बजारमा मूल्य अस्थिरता सिर्जना गर्ने जोखिम रहेको जनाएको छ।
यसैबीच, सवारी साधनको मूल्य स्थिरता कायम गर्न कर प्रणालीलाई नेपाली रुपैयाँको सट्टा अमेरिकी डलरका आधारमा निर्धारण गर्नु बढी व्यावहारिक हुने नाडाको सुझाव छ। विनिमय दरमा हुने उतारचढावले सवारी साधनको मूल्यमा प्रत्यक्ष प्रभाव पार्ने भएकाले डलरमा कर निर्धारण गर्दा स्थिरता कायम गर्न सहयोग पुग्ने उसको तर्क छ।
नाडाले कर नीतिमा बारम्बार हुने परिवर्तनले लगानी तथा व्यवसायिक वातावरणमा अनिश्चितता बढाउने भन्दै दीर्घकालीन र स्थिर कर नीतिको मागसमेत दोहोर्याएको छ।
बजेटमा सडक पूर्वाधार निर्माणका लागि करिब तीन खर्ब रुपैयाँ विनियोजन गरिएको तथा अधुरा रहेका सडक र राजमार्गहरू समयमै सम्पन्न गर्ने सरकारको प्रतिबद्धतालाई नाडाले सकारात्मक रूपमा लिएको छ। पूर्वाधार विस्तारले समग्र अटोमोबाइल क्षेत्रको माग र गतिविधिमा समेत सकारात्मक प्रभाव पार्ने अपेक्षा गरिएको छ।
तर, यस्ता महत्वाकांक्षी योजनाहरूको सफलता यसको प्रभावकारी कार्यान्वयनमा निर्भर रहने भन्दै नाडाले कार्यान्वयन पक्ष नै बजेटको मुख्य चुनौती हुने निष्कर्ष निकालेको छ। समग्रमा बजेटलाई नाडाले सन्तुलित र भविष्य निर्माणमुखी भनेको छ।
आर्थिकन्यूज
प्रतिक्रिया