शीर्षकहरू

उद्योग वाणिज्य संघ काठमाडौँको आयोजनामा अभिमुखीकरण कार्यक्रम सम्पन्न

उद्योग वाणिज्य संघ काठमाडौँको आयोजनामा अभिमुखीकरण कार्यक्रम सम्पन्न

काठमाडौँ । नेपाल उद्योग वाणिज्य संघ, काठमाडौँको आयोजनामा आर्थिक वर्ष २०८३/८४ को बजेट वक्तव्य, आर्थिक विधेयक, कर, राजस्व, भन्सार, आर्थिक ऐन तथा एमआरपी सम्बन्धी छलफल तथा अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ।

काठमाडौँस्थित एल्लो प्यागोडा होटल, कान्तिपथमा आयोजित कार्यक्रममा चार्टर्ड एकाउन्टेन्ट शेषमणि दाहालले बजेटमार्फत प्रस्तावित कर तथा राजस्व नीतिहरू, भन्सार दरमा गरिएका परिवर्तन, आर्थिक ऐनका प्रमुख व्यवस्थाहरू तथा एमआरपी सम्बन्धी प्रावधानहरूबारे विस्तृत प्रस्तुतीकरण गरेका थिए। उनले नयाँ व्यवस्थाहरूको प्रभाव, उद्योग तथा व्यवसाय क्षेत्रका अवसर र चुनौती तथा कार्यान्वयनका व्यवहारिक पक्षहरुबारे सहभागीहरूलाई जानकारी गराएका थिए।

कार्यक्रममा आर्थिक विधेयक, २०८३ मा प्रस्तावित संशोधन तथा सुधारका विषयमा समेत विस्तृत छलफल गरिएको थियो। छलफलका क्रममा कर प्रणालीलाई सरल, पारदर्शी र व्यवसायमैत्री बनाउन कर प्रशासनको डिजिटलकरण, करदातामैत्री सेवा प्रवाह तथा कर विवाद समाधान प्रक्रियालाई सहज बनाउने विषयहरूमा जोड दिइएको थियो।

त्यसैगरी, व्यवसाय दर्ता, सञ्चालन तथा खारेजी प्रक्रियालाई छरितो बनाउने, लगानीमैत्री वातावरण सुदृढ गर्ने तथा निजी क्षेत्रको सहभागिता अभिवृद्धि गर्ने विषयहरूमा पनि विशेष जोड दिइएको थियो। साथै कर छुट तथा सहुलियतलाई लक्षित समूहसम्म प्रभावकारी रूपमा पुर्‍याउने, प्रशासनिक झन्झट घटाउने र राजस्व संकलन प्रणालीलाई प्रविधिमैत्री बनाउने विषयमा समेत छलफल भएको थियो।

कार्यक्रममा सहभागी उद्योगी, व्यवसायी तथा उद्यमीहरूले बजेटका विभिन्न पक्षबारे जिज्ञासा राख्दै सुझाव तथा धारणा व्यक्त गरेका थिए। अन्तरक्रियात्मक रूपमा सञ्चालन गरिएको कार्यक्रममा सहभागीहरूले व्यवसाय सञ्चालन, कर प्रशासन तथा भन्सार प्रक्रियासम्बन्धी आवश्यक जानकारी प्राप्त गरेका थिए।

प्रतिक्रिया