रसुवा। नेपाल–चीन व्यापारको प्रमुख प्रवेशद्वार रसुवागढी नाकाबाट चालु आर्थिक वर्षको हालसम्म ४० अर्ब रुपैयाँभन्दा बढी मूल्यका वस्तु आयात भएको छ।
रसुवा भन्सार कार्यालयका अनुसार साउनदेखि हालसम्म यस नाकाबाट ४० अर्ब १० करोड रुपैयाँ बराबरका चिनियाँ वस्तु नेपाल भित्रिएका छन्। आयातित वस्तुहरूमा तयारी पोसाक, जुत्ता–चप्पल, रोल कपडा, विद्युतीय सामग्री, फलफूल, लसुन, अदुवा, थर्मस, हाइड्रोपावर उपकरण तथा विद्युतीय सवारीसाधन प्रमुख छन्।
भन्सार कार्यालयका निमित्त प्रमुख भरतसिंह विकका अनुसार सोही अवधिमा नेपालबाट करिब ९० करोड रुपैयाँ बराबरका वस्तु चीनतर्फ निर्यात भएको छ। आयात–निर्यात दुवैलाई समेट्दा यस नाकाबाट कुल १० अर्ब ८० करोड रुपैयाँ राजस्व संकलन भएको छ।
रसुवागढी नाका ऐतिहासिक रूपमा नेपाल र तिब्बतबीचको व्यापारिक मार्गका रूपमा परिचित रहँदै आएको हो। लिच्छवी र मल्लकालदेखि नै यो मार्गबाट नुन, ऊन, जडीबुटी लगायतका वस्तुहरूको कारोबार हुने गरेको इतिहास छ। आधुनिक सडक तथा पूर्वाधार विस्तारसँगै यो नाका अहिले अन्तर्राष्ट्रिय व्यापारको महत्वपूर्ण केन्द्र बनेको छ।
हालका वर्षहरूमा विद्युतीय सवारीसाधनको जाँचपास प्रक्रियाबारे उठेका प्रश्नहरूका सम्बन्धमा कार्यालयले भन्सार ऐन तथा नियमावलीअनुसार अग्रिम राजस्व बुझाउने व्यवस्था रहेको स्पष्ट पारेको छ। निमित्त प्रमुख विकका अनुसार तोकिएको प्रक्रियाअनुसार नै राजस्व संकलन हुने भएकाले राज्यलाई कुनै आर्थिक क्षति नभएको छ।
रसुवागढी नाकाबाट हुने आयात–निर्यात गतिविधिले राजस्व वृद्धि, व्यापार विस्तार तथा समग्र आर्थिक गतिविधि प्रवर्द्धनमा महत्वपूर्ण योगदान दिँदै आएको भन्सार कार्यालयले जनाएको छ।
आर्थिकन्यूज
प्रतिक्रिया