काठमाडौं । ईभीको नयाँ कर नीतिपछि बीएमडब्लु आईएक्स १ को मूल्यमा भारी वृद्धि भएको छ । नेपालका लागि बीएमडब्लुको आधिकारीक आयातकर्ता तथा वितरक कम्पनी लक्ष्मी प्रिमियम मोटर्स प्रालिले बीएमडब्लुको उक्त ईभीको मूल्य बढाएको हो ।
कम्पनीका अनुसार सो गाडीको मूल्य १ करोड ३० लाख रुपैयाँले वृद्धि भएको छ । हाल बीएमडब्लु आईएक्स१ को मूल्य ३ करोड २० लाख ९६ हजार रुपैयाँ तोकिएको छ । यसअघि १ करोड ९९ लाख ९६ हजार रुपैयाँ थियो ।
सरकारले बजेटमार्फत ईभीमा लाग्ने करको व्यवस्था परिवर्तन गरेपछि बीएमडब्लुका विद्युतीय गाडीहरूको मूल्य बढेको हो । नयाँ व्यवस्थाअनुसार अब ईभीमा लाग्ने कर मोटरको क्षमता भन्दा पनि गाडीको आयात मूल्यका आधारमा निर्धारण गरिनेछ। यसले विशेषगरी उच्च मूल्यका विद्युतीय गाडीहरूमा बढी प्रभाव परेको छ।
बीएमडब्लु आईएक्स१ मात्र नभई बीएमडब्लुका अन्य विद्युतीय मोडेलहरूको मूल्यमा पनि वृद्धि भएको लक्ष्मी प्रिमियम मोटर्सले जनाएको छ । नयाँ कर संरचनाका कारण विभिन्न मोडेलमा फरक–फरक दरले मूल्य समायोजन गरिएको छ।
अटोमोबाइल क्षेत्रका जानकारहरूका अनुसार नयाँ नीति लागू भएपछि प्रिमियम तथा लक्जरी ईभी ब्रान्डहरू सबैभन्दा बढी प्रभावित भएका छन् । यसले नेपालमा विद्युतीय सवारीसाधनको मूल्य संरचनामा ठूलो परिवर्तन ल्याएको छ।
मूल्य वृद्धि भए पनि बीएमडब्लुका विद्युतीय गाडीहरूले अत्याधुनिक प्रविधि, उच्च सुरक्षा, उत्कृष्ट आरामदायी अनुभव तथा शून्य उत्सर्जनयुक्त ड्राइभिङ अनुभव प्रदान गरिरहने कम्पनीको भनाइ छ। लक्ष्मी प्रिमियम मोटर्सले नेपाली ग्राहकहरूलाई बीएमडब्लुका नवीनतम् विद्युतीय सवारीसाधन उपलब्ध गराउने प्रतिबद्धता पनि दोहोर्याएको छ।
आर्थिकन्यूज
प्रतिक्रिया