शीर्षकहरू

वीरगञ्जका मेयर राजेशमान सिंह निलम्बित, सिंहसहित ७ जनाविरुद्ध भ्रष्टाचार मुद्दा

वीरगञ्जका मेयर राजेशमान सिंह निलम्बित, सिंहसहित ७ जनाविरुद्ध भ्रष्टाचार मुद्दा

विरगञ्ज। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले वीरगञ्ज महानगरपालिकाका प्रमुख राजेशमान सिंह सहित ७ जनाविरुद्ध नागरिकता प्रमाणपत्र प्राप्तिका लागि झुट्टा विवरण पेश गरेको आरोपमा विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको छ।

आयोगका अनुसार प्राप्त उजुरीमाथि अनुसन्धान गर्दा राजेशमान सिंहले अर्की महिलाको छोरीलाई आफ्नै छोरी देखाएर जन्मदर्ता र नागरिकता प्रमाणपत्र बनाएको भेटिएको दाबी गरिएको छ।

अनुसन्धानबाट सिंहले वीरगञ्ज महानगरपालिका–३ का तत्कालीन वडा सचिव भिखारी राय, तत्कालीन वडा सदस्य तथा कार्यवाहक वडा अध्यक्ष तुफैल अख्तर ठकुराई र जिल्ला प्रशासन कार्यालय पर्साका तत्कालीन प्रशासकीय अधिकृत षडकुमार पोखरेलसँग मिलेमतो गरी गलत विवरणका आधारमा जन्मदर्ता प्रमाणपत्र तयार गराएको आरोप लगाइएको छ।

अख्तियारका अनुसार सिंहले सूचकका रूपमा फाराम भरी २०७१ कात्तिक २० गते जन्मदर्ता प्रमाणपत्र लिएका थिए। सोही प्रमाणपत्रका आधारमा नागरिकताको सिफारिस तयार गरी २०७५ साउन १३ गते जिल्ला प्रशासन कार्यालय पर्साबाट रुबीना श्रेष्ठका नाममा नागरिकता प्रमाणपत्र जारी गराइएको दाबी गरिएको छ।

अनुसन्धानबाट जन्मदर्ता प्रमाणपत्र जारी गर्ने क्रममा जानीजानी गलत लिखत तयार पार्ने, सरकारी कागजातमा गैरकानुनी रूपमा हेरफेर गर्ने तथा अभिलेख लुकाउने वा नष्ट गर्ने कार्यसमेत भएको अख्तियारको निष्कर्ष छ।

मुद्दामा तत्कालीन गृह मन्त्रालयका उपसचिव तथा छानबिन समिति संयोजक पुष्कर राना र शाखा अधिकृत तथा समिति सदस्य परशुराम पोखरेललाई पनि प्रतिवादी बनाइएको छ। आयोगका अनुसार उनीहरूले नागरिकता जारी प्रक्रियासम्बन्धी छानबिन गर्दा वास्तविक तथ्य ढाकछोप गर्ने गरी गलत प्रतिवेदन तयार पारेका थिए।

अख्तियारले छानबिन समितिले नागरिकता जारी प्रक्रियामा भएका अनियमितता, कागजात नष्ट गरिएको विषय तथा अनुसन्धान हुनुपर्ने आधारहरू उल्लेख नगरी तथ्य लुकाउने प्रयास गरेको दाबी गरेको छ।

उक्त घटनामा संलग्न सबै प्रतिवादीविरुद्ध भ्रष्टाचार निवारणसम्बन्धी कानुनअनुसार कारबाही र सजायको माग गर्दै सोमबार विशेष अदालत काठमाडौंमा आरोपपत्र दायर गरिएको आयोगले जनाएको छ।

प्रतिक्रिया