काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले नेपाल धितोपत्र बोर्ड (सेबोन) को ३४ औँ वार्षिकोत्सवका अवसरमा शुभकामना व्यक्त गर्दै पुँजी बजारलाई सुरक्षित, प्रतिस्पर्धी र अन्तर्राष्ट्रिय मापदण्डअनुसार विकास गर्नुपर्ने आवश्यकता औँल्याएका छन्।
शुभकामना सन्देशमा अर्थमन्त्री वाग्लेले व्यक्तिगत तथा संस्थागत लगानीकर्ताको आकर्षण बढाउन पुँजी बजारलाई थप विश्वसनीय, पारदर्शी र व्यवस्थित बनाउनु आवश्यक रहेको बताएका छन्। उनले सेबोनले आफ्नो संस्थागत तथा नियामकीय क्षमता सुदृढ गर्दै सेवा प्रवाहलाई चुस्त, प्रविधिमैत्री र प्रभावकारी बनाउनुपर्नेमा जोड दिएका छन्।
उनका अनुसार प्रभावकारी नियमन र सुपरिवेक्षणमार्फत प्रणालीगत जोखिम न्यूनीकरण गर्दै पुँजी बजारलाई थप स्थिर र दीगो बनाउन सकिनेछ। वाग्लेले सेबोनले आगामी दिनमा सुशासन प्रवर्द्धन, बजार सुधार तथा विकासमार्फत लगानीकर्ताको हित संरक्षणमा अझ सक्रिय भूमिका खेल्ने अपेक्षा व्यक्त गरेका छन्।
यसैबीच, सेबोनले ३४औँ वर्षमा प्रवेश गरेको अवसरमा जारी गरेको सन्देशमा पुँजी तथा वस्तु विनिमय बजारलाई अझ भरपर्दो, विश्वसनीय र गतिशील बनाउने प्रतिबद्धता दोहोर्याएको छ।
बोर्डका कार्यवाहक प्रमुख उत्तरकुमार खत्रीले जारी गरेको सन्देशमा धितोपत्र सम्बन्धी ऐन, २०६३ ले प्रदान गरेको अधिकारअनुसार बजार नियमनलाई अन्तर्राष्ट्रिय मापदण्डअनुरूप सुदृढ गर्दै लगिएको उल्लेख गरिएको छ। उनले नेपाल सरकारको नीतिअनुसार पुँजी बजारलाई सुरक्षित, प्रतिस्पर्धी र लगानीमैत्री बनाउन बोर्ड निरन्तर क्रियाशील रहेको बताए।
सन्देशमा बजार संरचनागत सुधार, प्रविधिको उपयोग तथा संस्थागत क्षमता विकासलाई प्राथमिकतामा राखिएको छ। नेप्से तथा सीडीएस एण्ड क्लियरिङ प्रणालीको पुनर्संरचना गर्दै संस्थागत लगानीकर्ता, पेन्सन कोष, बीमा कम्पनी, म्युचुअल फण्ड तथा गैरआवासीय नेपाली (एनआरएन) को सहभागिता विस्तार गर्ने लक्ष्य लिइएको छ।
त्यसैगरी ऋण बजार, बण्ड बजार, पूर्वाधार बण्ड तथा जोखिम व्यवस्थापन उपकरणको विकासमार्फत दीर्घकालीन पुँजी निर्माण गर्ने रणनीति अघि सारिएको छ। बजार सुधारका लागि विभिन्न आयोग तथा कार्यदलले दिएका सुझावहरू क्रमशः कार्यान्वयन गरिने प्रतिबद्धता पनि बोर्डले जनाएको छ।
चालु आर्थिक वर्ष २०८३/८४ को बजेट वक्तव्यमा सूचीकृत धितोपत्र बिक्री गर्दा लाग्ने पुँजीगत लाभकरलाई अन्तिम करका रूपमा व्यवस्था गरिएपछि बजार थप गतिशील हुने अपेक्षा गरिएको छ।
सेबोनले सार्वजनिक निष्काशनलाई स्वच्छ र पारदर्शी बनाउन कानुनी तथा संरचनागत सुधार, एसएमई प्लेटफर्म सञ्चालन, वस्तु विनिमय बजारको विकास तथा बजार सहभागीहरूको व्यवसायिक क्षमता अभिवृद्धिलाई प्राथमिकतामा राखेको छ। साथै लगानीकर्ता शिक्षा तथा सचेतना कार्यक्रमलाई समेत विस्तार गरिने उल्लेख गरिएको छ।
बोर्डले अन्तर्राष्ट्रिय संगठन IOSCO का सिद्धान्त, विश्वव्यापी अभ्यास तथा राष्ट्रिय नीतिअनुसार धितोपत्र बजारलाई थप पारदर्शी र विश्वसनीय बनाउन प्रतिबद्धता जनाएको छ। नियामकीय क्षमता सुदृढीकरण तथा अन्तर्राष्ट्रिय सहकार्य विस्तारमार्फत बजार सुपरीवेक्षणलाई अझ प्रभावकारी बनाइने पनि बोर्डको भनाइ छ।
सेबोनले सरकारको आवधिक योजना, नीति तथा बजेटले तय गरेका लक्ष्यअनुसार धितोपत्र तथा वस्तु विनिमय बजार विकासमा सक्रिय भूमिका खेल्दै सरोकारवाला निकायसँग सहकार्य गरी अघि बढ्ने प्रतिबद्धता व्यक्त गरेको छ।

आर्थिकन्यूज
प्रतिक्रिया