काठमाडौं । बीमा कम्पनीहरूको अर्बौं रुपैयाँ धितोपत्र बजारमा दुरुपयोग भएको निष्कर्षसहित केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले ४० जना व्यक्ति तथा संस्थाविरुद्ध मुद्दा चलाउन सिफारिस गरेको छ। तर प्रतिवेदन सार्वजनिक भएसँगै अर्को प्रश्न पनि उठ्न थालेको छ—अनुसन्धानका क्रममा बारम्बार जोडिएका केही प्रभावशाली पात्रहरू किन अभियोजनको दायरामा देखिएका छैन ?
हिमालयन लाइफ इन्स्योरेन्स, हिमालयन रि–इन्स्योरेन्स, भृकुटी स्टक ब्रोकिङ र विभिन्न माइक्रो इन्स्योरेन्स कम्पनीहरू जोडिएको यो प्रकरणमा पूर्व सीईओ मनोजकुमार कर्ण, व्यवसायी दीपक भट्ट तथा अग्रवाल परिवारसँग सम्बन्धित कारोबारहरू अहिले सबैभन्दा बढी चर्चामा छन्।

’शेयर बजारको नेटवर्किङ सेन्टर’ का रूपमा मनोज कर्ण ?
स्रोतहरूका अनुसार हिमालयन लाइफ इन्स्योरेन्सका तत्कालीन प्रमुख कार्यकारी अधिकृत मनोजकुमार कर्णले बीमा क्षेत्र, ब्रोकर कम्पनी र ठूला लगानीकर्ताबीच सेतुको भूमिका निर्वाह गरेका थिए। युनियन लाइफ इन्स्योरेन्समा शंकर समूहको प्रवेशदेखि तीन जीवन बीमा कम्पनीको मर्जरसम्म कर्णको सक्रिय भूमिका रहेको दाबी गरिन्छ।
बीमा क्षेत्रका जानकारहरूका अनुसार मर्जरपछि बनेको हिमालयन लाइफमा शक्ति केन्द्रित हुँदै जाँदा निर्णय प्रक्रियामा कर्णको प्रभाव अस्वाभाविक रूपमा बढेको थियो। यही अवधिमा भृकुटी स्टक ब्रोकिङमार्फत विभिन्न समूहका सेयर कारोबारहरू केन्द्रित हुन थालेको आरोप पनि लाग्दै आएको छ। यद्यपि सीआईबीको अन्तिम सिफारिसमा कर्णको भूमिका अपेक्षाअनुसार नदेखिएको भन्दै बजारमा अनेक प्रश्न उठिरहेका छन्।
करोडको क्यापसर्भ प्रकरण र अनुत्तरित प्रश्न
अनुसन्धान प्रतिवेदनअनुसार हिमालयन रि–इन्स्योरेन्सको सहायक कम्पनी हिमालयन क्यापसर्भ लिमिटेडमा मात्रै करिब ३७ करोड रुपैयाँ बराबरको आर्थिक दुरुपयोग भएको देखिएको छ ।
प्रतिवेदनले विभिन्न कम्पनीहरूको वित्तीय स्रोत प्रयोग गरी सेयर बजारमा प्रभाव पार्ने र निश्चित समूहहरूको कारोबार व्यवस्थापन गर्ने संरचना रहेको संकेत गरेको छ। यही संरचनाको केन्द्रमा को थियो भन्ने विषयमा भने अनुसन्धानले पूर्ण उत्तर दिएको छैन भन्ने टिप्पणी बजार विश्लेषकहरूको छ।
अग्रवाल परिवारको शेयर कारोबारः संयोग कि योजनाबद्ध संरचना ?
प्रकरणको अर्को महत्वपूर्ण पाटो हिमालयन लाइफका तत्कालीन अध्यक्ष शुलभ अग्रवालसँग जोडिएको छ । धितोपत्र दर्ता तथा निष्काशन नियमावलीअनुसार अध्यक्ष पदमा रहँदा प्रत्यक्ष रूपमा सेयर कारोबार गर्न नपाइने व्यवस्था छ। तर प्रतिवेदनले शुलभ अग्रवालको नाममा रहेको ८ लाख ३ हजार ३१ कित्ता सेयर अदालतको मिलापत्रमार्फत छोरा कृषिव अग्रवालको नाममा सारिएको देखाएको छ।
त्यसपछि ती सेयर बिक्री भए र कृषिव अग्रवालको खातामा ३२ करोड ८३ लाख रुपैयाँभन्दा बढी रकम जम्मा भयो। बैंक विवरणअनुसार केही दिनभित्रै त्यसमध्ये २३ करोड रुपैयाँ शुलभ अग्रवालको खातामा स्थानान्तरण भएको देखिन्छ।
अनुसन्धानकर्ताहरूले यही तथ्यलाई कानुनी बन्देज छल्ने सम्भावित उपायका रूपमा हेरेका छन्।
२ अर्ब ७३ करोडको रहस्य
सीआईबी प्रतिवेदनको सबैभन्दा गम्भीर तथ्य भनेको हिमालयन रि–इन्स्योरेन्सबाट आएको २ अर्ब ७३ करोड ३३ लाख रुपैयाँ हो। प्रतिवेदनअनुसार उक्त रकम विभिन्न व्यक्तिगत ग्राहक खाताहरूको शेयर कारोबार राफसाफ गर्न प्रयोग भएको थियो। भृकुटी स्टक ब्रोकिङले दीपक भट्ट, राजबहादुर शाह, शुभी अग्रवाल तथा ऋषिराज मोरसँग सम्बन्धित खाताहरूमा उक्त रकम प्रयोग भएको स्वीकार गरेको उल्लेख छ ।
आर्थिकन्यूज
प्रतिक्रिया