शीर्षकहरू

अव्यवस्थित प्लटिङका कारण तारकेश्वरको पाँचमाने गैरीगाउँ जोखिममा

अव्यवस्थित प्लटिङका कारण तारकेश्वरको पाँचमाने गैरीगाउँ जोखिममा

काठमाडौं । अव्यवस्थित प्लटिङका कारण तारकेश्वर नगरपालिका –३ गैरीगाउँ रामघाट तथा पाँचमाने जोखिममा परेको छ । गाउँ माथि ठाडो भिरालो जग्गामा गरिएको प्लटिङका कारण सिङ्गो गाउँ नै जोखिममा परेको हो । 

बर्खा लागेसँगै भिरालो जग्गामा प्लटिङ गरिएको ठाउँबाट ढुङ्गा माटो बगेर झरेका कारण गाउँ जोखिममा परेको स्थानीयको भनाई छ । पटक–पटक भिरालो जग्गामा प्लटिङ नगर्नका लागि सम्बन्धित निकायमा हारगुहार गर्दा पनि केही सुनुवाइ नभएको पीडित स्थानीयहरू बताउँछन् ।  

‘हामीले यो कमसल भिरालो जग्गामा डोजर लगाएर प्लटिङ नगर्नका लागि स्थानीय निकायदेखि बफर जोन र अन्य सम्बन्धित निकायहरूमा पटक पटक अनुरोध गर्यौ। तर, हाम्रो कुराको कुनै सुनुवाइ भएन’, ‘स्थानीय सुदिप फुयाँलले भने, ‘सुरुमा थोरै जग्गा मात्रै सम्माउने अनुमति लिएका थिए । पछि बिस्तारै सिङ्गो भिरालो डाँडा नै महिनौँ डोजर लगाएर जमिन भास्न काम गरियो ।’     

प्लटिङ कै कारण बालीनालीमा समेत ठुलो क्षति गरेको स्थानीय बद्री दाहालले बताए । ‘साबिकको खोला नै पुरेर प्लटिङ गरिएको छ । भू—माफियाहरूले पैसा कमाउने लोभमा आज सिङ्गो गाउँलाई नै विस्थापित हुने अवस्थामा पुर्यायो । गाउँसँगै बालीनालीमा समेत ठूलो क्षति भएको छ ।’ यस अघिका जनप्रतिनिधि प्रति आक्रोशित हुँदै उनले बाँदर हिँड्दा पनि लड्ने भीरमा प्लटिङ गर्ने अनुमति दिएर जनतामाथि गद्दारी गरेका उनको आरोप छ ।    

त्यस्तै, प्लटिङका कारण आएको गेगरसहितको बाढीले बालीनालीमा लाखौँको क्षति हुन सक्ने स्थानीय रामचन्द्र पलेलले बताए । उनले आक्रोश हुँदै भने, “प्लटिङका कारण निर्माणाधीन मन्दिर परिसरमा लगाएको वाल पनि भत्किन लागेको छ । भर्खर त वर्षा सुरु भएको छ । सुरुवातमै यस्तो हालत छ । झन् अझ ठुलो पानी पर्दा के होला ?’ साथै उनले प्लटिङबाट हुन सक्ने धनजनको क्षति न्युनिकरण गर्न तत्काल उचित व्यवस्थापन गर्नुपर्ने उनले माग राखे । 

साबिकको खोला नाली पुरेर प्लटिङ गरिएको अर्का एक स्थानीयले बताए । ‘नक्सामै भएको खोला पुरेर प्लटिङ गरेका छन् । यति मात्रै होइन प्लटिङ बनाएका वालहरू पनि पुरै कमसल छन्’, स्थानीय सुदर्शन फुयाँलले भने, ‘प्लटिङ कै कारण माथि डाँडा र तल भएका बस्तीहरू विस्थापित हुने अवस्था आएको छ ।’

यस अघिका नगर प्रमुखले गरेको गल्तीको परिणाम आज यस क्षेत्रका स्थानीयले दुख झेल्नु परेको तारकेश्वर नगरपालिका वडा नम्बर ३ का वडा अध्यक्ष पर्शुराम अर्यालले बताए । उनले भने, ‘ यस अघिका नगर प्रमुखले गरेको गल्तीको परिणाम आज यस क्षेत्रका स्थानीयले दुख पाएका छन् । प्लटिङ प्रभावित स्थानीय बासिन्दालाई यथासम्भव राहतको व्यवस्था गर्ने गरी काम अघि बढाएको छु । तत्काल प्लटिङ व्यवसायीलाई बोलाई प्लटिङका  कारणले भएको क्षति र नोक्सानीलाई न्यूनीकरण तथा रोकथाम गर्न सहमति गरिसकेका छौँ ।’   

त्यस्तै तारकेश्वर नगरपालिकाकी उपप्रमुख सृजना बुर्लाकोटीले अव्यवस्थित ढङ्गले निर्माण गरेका प्लटिङहरूको सूक्ष्म निगरानी गरिने बताइन । उनले भनिन्, ‘अव्यवस्थित ढङ्गले निर्माण  गरिएका प्लटिङहरूले गर्न सक्ने हानि नोक्सानीलाई मध्यनजर गरेर निर्मम तवरले प्रस्तुत हुनेछौँ । हाम्रो पहिलो प्राथमिकता बर्खा याममा प्लटिङबाट हुने क्षतिलाई रोकथाम तथा न्यूनीकरण गर्ने हुनेछ । बर्खापछि अव्यवस्थित प्लटिङको अनुगमन गरी मापदण्ड नपुर्याइ गरिएका प्लटिङहरूलाई खारेज समेत गर्ने गरी अघि बढ्छौँ ।’ 

एक स्थानीयका अनुसार तत्कालीन नगर प्रमुखको  आदेशमा तारकेश्वर नगरपालिकामा मात्रै यस्ता १०० भन्दा बढी अव्यवस्थित प्लटिङ गरिएको छ । यो त एउटा सानो उदाहरण मात्रै हो । अव्यवस्थित प्लटिङका कारण कति पय ठाउँमा त जनधनको समेत क्षति भएको छ । कतिपय स्थानीयहरू आफ्नो थाक थलो छोडेर अन्यत्र विस्थापित समेत भएका छन् ।     

 

प्रतिक्रिया