चितवन, सौराहा । नेपालको अग्रणी भुक्तानी सेवा प्रदायक कम्पनी इसेवाले सौराहामा आयोजना गरेको “इसेवा ह्याकाथन २०२६” भव्य रूपमा सम्पन्न भएको छ।
जेठ १५ गतेदेखि सुरु भएको आवासीय ह्याकाथन आइतबार सम्पन्न भएको हो। विश्व वन्यजन्तु कोष नेपालसँगको सहकार्यमा आयोजित कार्यक्रममा प्रविधि, नवप्रवर्तन, सिर्जनशील सोच तथा वातावरणीय दिगोपनासँग सम्बन्धित डिजिटल समाधानहरू प्रस्तुत गरिएका थिए।
नेपालमा नवप्रवर्तन संस्कृतिको विकास, डिजिटल समाधानको खोजी र युवा उद्यमशीलता प्रवर्द्धन गर्ने उद्देश्यले गरिएको ह्याकाथनमा देशभरबाट छनोट भएका २० टोलीका ६३ जना युवा सहभागी भएका थिए। सहभागीहरूले फिनटेक, साइबर सुरक्षा, डिजिटल समावेशीकरण तथा वातावरणीय दिगोपनासम्बन्धी विभिन्न प्रोटोटाइप तथा समाधान प्रस्तुत गरेका थिए।
प्रतिस्पर्धाको मूल्यांकनका आधारमा ‘कन्फ्युजन म्याट्रिक्स’ टोली प्रथम भएको छ। उक्त टोलीमा आदित्य कुमार साह तेली र पूजा यादव रहेका थिए। त्यस्तै ‘क्यास फ्लो’ टोली द्वितीय र ‘आर्याना’ टोली तृतीय भएका छन्। द्वितीय टोलीमा अभिनन्दन राजभण्डारी, एरबिन श्रेष्ठ, उत्सव दाहाल र सबिन न्यौपाने तथा तृतीय टोलीमा इन्द्र प्रसाद सापकोटा, समीप घिमिरे, सौगात अधिकारी र स्नेहा क्षेत्री सहभागी थिए।
प्रतियोगितामा प्रथम, द्वितीय र तृतीय हुने टोलीले क्रमशः रु. ३ लाख, रु. २ लाख र रु. १ लाख नगद पुरस्कार प्राप्त गरेका छन्।
समापन समारोहमा इसेवाका प्रमुख कार्यकारी अधिकृत जगदीश खड्काले सहभागी युवाहरूले प्रस्तुत गरेका समाधानहरूको प्रशंसा गर्दै ती नवप्रवर्तनहरूलाई भविष्यमा उपयोगमा ल्याइने बताए। उनले नवप्रवर्तन र सिर्जनशीलताले डिजिटल अर्थतन्त्र र फिनटेक क्षेत्रलाई अझ सुदृढ बनाउन महत्वपूर्ण भूमिका खेल्ने धारणा व्यक्त गरे।
इसेवाले यस्ता कार्यक्रममार्फत नवप्रवर्तन संस्कृति र उद्यमशीलता प्रवर्द्धनलाई निरन्तर अघि बढाउने प्रतिबद्धता जनाएको छ।
आर्थिकन्यूज
प्रतिक्रिया