काठमाडौं। नेपाल राष्ट्र बैंकले आगामी आर्थिक वर्ष २०८३/८४ को मौद्रिक नीति तर्जुमाका लागि सरोकारवाला पक्षसँग राय तथा सुझाव माग गरेको छ।
राष्ट्र बैंकको आर्थिक अनुसन्धान विभागले शुक्रबार सूचना जारी गर्दै नयाँ मौद्रिक नीतिका लागि आवश्यक सुझाव उपलब्ध गराउन इच्छुक व्यक्ति, व्यवसायी, बैंक तथा वित्तीय संस्था, विभिन्न संघ-संस्था र अन्य सरोकारवालालाई आह्वान गरेको हो।
नेपाल राष्ट्र बैंक ऐन, २०५८ अनुसार केन्द्रीय बैंकले प्रत्येक आर्थिक वर्षको मौद्रिक नीति सार्वजनिक गर्नुअघि सरोकारवालासँग परामर्श तथा सुझाव संकलन गर्ने अभ्यासअनुसार यस वर्ष पनि सुझाव संकलन प्रक्रिया सुरु गरिएको जनाएको छ।
राष्ट्र बैंकका अनुसार आगामी असार ५ गतेभित्र सुझाव पठाउन सकिनेछ। प्राप्त सुझावलाई मौद्रिक नीति तर्जुमाको क्रममा आवश्यकताअनुसार समावेश गरिने जनाइएको छ।
सुझाव राष्ट्र बैंकको बालुवाटारस्थित आर्थिक अनुसन्धान विभागमा प्रत्यक्ष रूपमा बुझाउन सकिनेछ। साथै इमेलमार्फत पनि राय तथा सुझाव पठाउन सकिने व्यवस्था गरिएको छ।
राष्ट्र बैंकले मुलुकको आर्थिक अवस्था, वित्तीय क्षेत्रको स्थायित्व, कर्जा विस्तार, ब्याजदर, तरलता व्यवस्थापन तथा आर्थिक वृद्धिलाई सघाउने नीतिगत उपायबारे सरोकारवालाबाट रचनात्मक सुझाव प्राप्त हुने अपेक्षा गरेको छ।
सरकारले आगामी आर्थिक वर्षको बजेट सार्वजनिक गरिसकेको अवस्थामा अब वित्तीय तथा मौद्रिक नीतिबीच समन्वय कायम गर्दै आर्थिक गतिविधि विस्तार, निजी क्षेत्रको मनोबल वृद्धि, लगानी प्रवर्द्धन र वित्तीय स्थायित्वलाई केन्द्रमा राखेर राष्ट्र बैंकले नयाँ मौद्रिक नीति ल्याउने तयारी गरिरहेको छ।
आर्थिकन्यूज
प्रतिक्रिया