शीर्षकहरू

बजेट कार्यान्वयनमा जुट्न प्राधिकरणलाई ऊर्जामन्त्रीको निर्देशन

बजेट कार्यान्वयनमा जुट्न प्राधिकरणलाई ऊर्जामन्त्रीको निर्देशन

काठमाडौ। ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले आगामी आर्थिक वर्षको बजेट प्रभावकारी रूपमा कार्यान्वयन गर्न नेपाल विद्युत् प्राधिकरणलाई स्पष्ट कार्ययोजना बनाएर तत्काल काममा जुट्न निर्देशन दिएका छन्।

प्राधिकरणका कामु कार्यकारी निर्देशक र उपकार्यकारी निर्देशकहरूसँगको छलफलमा मन्त्री श्रेष्ठले बजेटमा समेटिएका आयोजना तथा कार्यक्रम तोकिएको समयभित्र सम्पन्न गर्नुपर्नेमा जोड दिए। कार्यान्वयनका क्रममा देखिने नीतिगत तथा प्रशासनिक अवरोध समाधानका लागि मन्त्रालयले आवश्यक सहजीकरण गर्ने, तर नेतृत्व भने प्राधिकरण व्यवस्थापनले नै लिनुपर्ने उनले बताए।

उनले प्रसारण लाइन, सबस्टेसनलगायत पूर्वाधार निर्माणका लागि पर्याप्त बजेट विनियोजन भएकाले समयमै आयोजना सम्पन्न हुने गरी मातहतका निकाय परिचालन गर्न सुझाव दिए। प्राधिकरणले सेवा प्रवाह सुधार, गुणस्तरीय तथा दिगो विद्युत् आपूर्ति सुनिश्चित गर्न र प्रतिफलमुखी लगानीमा ध्यान दिनुपर्ने उनको भनाइ थियो।

मन्त्री श्रेष्ठले विद्युत् महसुल बक्यौता असुलीलाई नियमित कार्यसूचीका रूपमा अघि बढाउन, संस्थागत सुशासन सुदृढ गर्न तथा कार्यसम्पादनलाई परिणाममुखी बनाउन पनि निर्देशन दिए। छलफलमा उपकार्यकारी निर्देशकहरूले आगामी असार १५ भित्र विस्तृत कार्ययोजना तयार गरी सञ्चालक समितिमा पेस गर्ने तयारी रहेको जानकारी दिएका थिए।

प्रतिक्रिया