काठमाडौं। विद्युत् नियमन आयोगको अध्यक्ष र सदस्य पदका लागि आवेदन दिने उम्मेदवारको संख्या सार्वजनिक भएको छ। आयोगका पदाधिकारी नियुक्त गर्न गठित सिफारिस समितिका अनुसार अध्यक्ष पदका लागि १० जना र सदस्य पदका लागि २२ जनाले आवेदन दिएका छन्।
समितिले आयोगमा एक अध्यक्ष र एक महिलासहित चार सदस्य नियुक्तिका लागि दरखास्त आह्वान गरेको थियो। आवेदन दिने अन्तिम मिति जेठ २१ गते तोकिएको थियो।
अध्यक्ष पदका लागि आवेदन दिनेमा रुद्रप्रसाद गौतम, केशव अधिकारी, रामप्रसाद धिताल, रामेश्वरप्रसाद कलवार, मधुप्रसाद भेटवाल, मोतीबहादुर कुँवर, मधुसुधन अधिकारी, भोलानाथ शर्मा अधिकारी, नारायणप्रसाद सापकोटा र शान्तीकला सुवेदी रहेका छन्।
सदस्य पदका लागि २२ जनाले आवेदन दिएका छन्। उनीहरूमध्ये केही उम्मेदवार अध्यक्ष र सदस्य दुवै पदमा प्रतिस्पर्धामा छन्।
सिफारिस समितिका अनुसार आवेदन दिएका उम्मेदवारमध्ये आवश्यक न्यूनतम शैक्षिक योग्यता र कार्यानुभव पूरा गर्नेहरूको मात्र दरखास्त स्वीकृत हुनेछ। स्वीकृत उम्मेदवारमध्ये व्यावसायिक कार्ययोजनामा कम्तीमा ५० प्रतिशत अंक प्राप्त गर्ने उम्मेदवारलाई मात्र प्रस्तुतीकरण र अन्तर्वार्ताका लागि छनोट गरिनेछ।
यसअघि आयोगका अध्यक्ष तथा चार सदस्य ‘सार्वजनिक पदाधिकारीको पदमुक्त सम्बन्धी विशेष व्यवस्था अध्यादेश, २०८३’ बमोजिम पदमुक्त भएपछि आयोग नेतृत्वविहीन बनेको थियो। त्यसपछि नयाँ पदाधिकारी नियुक्तिका लागि प्रक्रिया अघि बढाइएको हो।
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले पदाधिकारी छनोटका लागि मन्त्रालयका सचिव चिरञ्जीवी चटौत को संयोजकत्वमा तीन सदस्यीय सिफारिस समिति गठन गरेको छ। समितिमा ऊर्जा मन्त्रालयका सहसचिव सागरराज गौतम र ऊर्जा विज्ञ सतिषनारायण जोशी सदस्य छन्।
आयोगको नयाँ नेतृत्व चयनलाई ऊर्जा क्षेत्रले चासोका साथ हेरिरहेको छ। विद्युत् महसुल निर्धारण, विद्युत् बजार नियमन, प्रसारण पहुँच तथा ऊर्जा क्षेत्रका नीतिगत निर्णयमा आयोगको भूमिका महत्वपूर्ण मानिन्छ।
आर्थिकन्यूज
प्रतिक्रिया