काठमाडौं। विश्व वातावरण दिवस २०२६ को अवसरमा कुमारी बैंक लिमिटेडले इलाम जिल्लामा ३०० वटा बिरुवा रोपेको छ।
बैंकको फिक्कल शाखाको पहलमा इलाम नगरपालिका र लुम्बिनी विश्व शान्ति मञ्चसँग सहकार्य गरी इलाम नगरपालिकाको स्वामित्वमा रहेको चियाबगान क्षेत्रभित्र वृक्षरोपण कार्यक्रम सम्पन्न गरिएको बैंकले जनाएको छ।
कार्यक्रममार्फत प्राकृतिक सन्तुलन संरक्षण, हरियाली प्रवर्द्धन तथा वातावरणीय सुधारमा योगदान पुग्ने विश्वास गरिएको छ। साथै जैविक विविधताको संरक्षण र जलवायु परिवर्तनका असर न्यूनीकरणमा समेत यसले सहयोग पुर्याउने अपेक्षा गरिएको बैंकको भनाइ छ।
वृक्षरोपण अभियानले इलामजस्तो पर्यटकीय क्षेत्रको आकर्षण बढाउन मद्दत पुग्ने र दीगो पर्यटन विकासमा सकारात्मक योगदान गर्ने विश्वास पनि व्यक्त गरिएको छ।
कुमारी बैंकले विगत २५ वर्षदेखि बैंकिङ सेवा प्रदान गर्दै आएको छ। हाल बैंकले देशभर ३०६ शाखा सञ्जाल तथा ४१ एक्सटेन्सन काउन्टरमार्फत सेवा प्रवाह गरिरहेको छ।
‘समुदायका लागि कुमारी बैंक’ अवधारणाअन्तर्गत बैंकले विभिन्न सामाजिक उत्तरदायित्वका कार्यक्रम सञ्चालन गर्दै आएको जनाएको छ। यसअन्तर्गत विपन्न तथा आवश्यकतामुखी विद्यार्थीलाई शैक्षिक सामग्री वितरण, सामुदायिक तथा सरकारी विद्यालयको पूर्वाधार विकासमा सहयोग, स्वच्छ वातावरणका लागि सरसफाइ सामग्री वितरण, अनाथालयलाई सहयोग तथा वित्तीय र डिजिटल साक्षरता अभिवृद्धिसम्बन्धी कार्यक्रम सञ्चालन गर्दै आएको छ।
बैंकले आगामी दिनमा पनि यस्ता सामाजिक तथा वातावरणमैत्री कार्यक्रमलाई निरन्तरता दिने प्रतिबद्धता जनाएको छ।
आर्थिकन्यूज
प्रतिक्रिया