शीर्षकहरू

प्राधिकरणले १९ बीमा कम्पनीलाई कारबाही गर्दा एलआईसीलाई किन गरेन छानबिन ?

प्राधिकरणले १९ बीमा कम्पनीलाई कारबाही गर्दा एलआईसीलाई किन गरेन छानबिन ?

काठमाडौं । नेपाल बीमा प्राधिकरण लाइफ इन्स्योरेन्स कर्पाेरेशन (एलआईसी) नेपाललाई छानबिन गर्न उदासीन देखिएको छ । पछिल्लो समय प्राधिकरणले १९ वटा बीमा कम्पनीलाई कारबाही गरेको छ । तर, विभिन्न कैफियत गरेको एलआईसी नेपाललाई भने छानबिन गर्न आलटाल गरेको छ ।

एलआईसी नेपालले नक्कली एमडीआरटीको नाममा लाखौँ रुपैयाँ दुरुपयोग गरेको उजुरी प्राधिकरणमा परेको छ । यस्तै, बीमा अभिकर्तालाई कमसल गुणस्तरको झोला दिएर महँगो मूल्य असुलेको, डमी बीमित बनाएर रकम दुरुपयोग गरेको, नक्कली एमडीआरटीलाई विदेशमा घुमाउन लगेर कम्पनीको रकम दुरुपयोग गरेको लगायतका उजुरी परेको थियो ।

यस विषयमा बीमा प्राधिकरणले छानबिन समिति गठन पनि गर्यो तर छानबिनका लागि टिम फिल्डमा परिचालन गरिएन । प्राधिकरणले छानबिन समिति समेत बनाइसकेको १ महिनासम्म पनि छानबिनका लागि परिचालन नगराउनुलाई शंकाको दृष्टिकोणले हेरिएको छ । ताकी सोही एक महिना भित्र अन्य १९ वटा कम्पनीलाई भने प्राधिकरणले धमाधम कारबाही गरिरहेको छ ।

प्राधिकरणका केही कर्मचारीले यो बिषयमा तत्कालै छानबिन गरेर कम्पनीलाई कारबाही गर्नुपर्ने धारणा राख्दै आएका छन् । एक कर्मचारीले भने, 'एलआईसीका कर्मचारीले कम्पनीको लाखौँ रकम दुरुपयोग गरेको विषयमा तत्कालै छानबिन गर्नु पर्दछ । यस्ता विकृतिको विषमा नियामक मौन रहँदा अन्य कम्पनीहरूले पनि गल्ती गर्न प्रोत्साहित हुन्छन् । त्यसकारण यस विषयमा गम्भीर हुनु पर्दछ ।’

तर, प्राधिकरणका उच्च तहका केही कर्मचारीले यस विषयलाई छानबिन नगरि छोडिदिने मनसाय बनाएको स्रोतको भनाई छ । 

प्राधिकरणका सूचना अधिकारी पूर्णबहादुर थापाका अनुसार निर्देशक शाम्भा राज लामिछानेको संयोजकत्वमा छानबिन समिति गठन भएको छ । छानबिन गर्न किन ढिला भयो भन्ने विषयमा आफुँ जानकार नरहेको सूचना अधिकारी थापाको भनाई छ । उनले भने, 'छानबिन समिति गठन गरिसकेको अवस्था छ । किन छानबिन भएन भनेर मलाई जानकारी आएको छैन । छानबिन र अनुसन्धान जस्तो विषयमा मैले के हुँदैछ ? भनेर सोधन मिल्दैन । रिपोर्ट आएपछि मात्रै मलाई थाहा हुने विषय हो ।’

पछिल्लो १/२ महिनामा प्राधिकरणले २ दर्जन बढी कम्पनीलाई छानबिन गरेको थियो । जसमा १९ वटालाई त कारबाही नै गरेको छ । तर, बारम्बार गम्भीर गल्ती गर्ने एलआईसी नेपाललाई भने छानबिनमा आलटाल गर्नुलाई शंकाको दृष्टिले हेर्न सकिन्छ । 

कक्टेल डिनरदेखि विदेश भ्रमणसम्म गराएर लाखौं दुरूपयोग

घटना नम्बर १ : कम्पनीले २०८१ मंसिर १६ गते होटल सोल्टीमा अध्यक्ष क्लबको मिटिङ्ग गर्यो । अध्यक्ष क्लबमा छनौट भएका बाहेक अन्य ३० प्रतिशत बढी मानिसलाई त्यस मिटमा कम्पनीका कर्मचारीले सामेल गराए । आफ्नो चिनजानका आधारमा कर्मचारीले किर्ते हस्ताक्षर गराएर ३० प्रतिशत बढीलाई सो मिटिङमा सामेल गराएको उजुरीमा उल्लेख छ । 

कम्पनीले अभिकर्ताहरुलाई अध्यक्ष क्लबको मिटिङ्ग, सीईओ क्लबको मिटिङ्गको नाममा कक्टेल डिनर गराउँने गर्दछ । १६ गते पनि कक्टेल डिनरका लागि अध्यक्ष क्लबको मिटिङ्गका नाममा अन्य ३० प्रतिशतलाई कक्टेल डिनरमा सामेल गराएको उजुरीमा उल्लेख छ। 

सो मिटमा २७२ जनालाई सहभागी गराएको थियो । जसमा ३० प्रतिशत अर्थात् ८० जना बाहिरि मानिस समावेश थिए । यसरी बाहिरि मान्छे र नक्कली एमडीआरटी घुसाएर त्यो मिटमा ८० लाख रुपैयाँ बढी खर्च गरेकाे देखिन्छ । जुन जनताको रकम हो । यसबारे नेपाल बीमा प्राधिकरणमा तत्कालै छानबिनका लागि पनि उजुरी परेको थियो ।

घटना नम्बर २ : यस्तै, कम्पनीले २०८२ मा पनि अध्यक्ष क्लबको मिटिङ्ग गरेको थियो । हायत होटलमा गरेको सो मिटिङ्गमा पनि ३० प्रतिशत एक्सट्रा मानिसलाई प्रवेश गराएको थियो । 

घटना नम्बर ३ : २०८२ चैत ४ गते कम्पनीले गोकर्ण रिसोर्टमा १११ जनालाई कक्टेल डिनर सहित बासको व्यवस्था गर्यो । खासगरी एमडीआरटीका लागि योग्य भएका अभिकर्ताका लागि कम्पनीले यस्तो व्यवस्था गरेको थियो ।

तर, त्यहाँ २२ जना नक्कली एमडीआरटी थिए । अर्थात् २२ जना एमडीआरटीका लागि योग्य भएका थिएनन्, तर उनीहरुलाई पनि सो कक्टेल डिनर सहितको बास गराइएको थियो ।

कसरी बनाइयो नक्कली एमडीआरटी ? 

कसरी नक्कली एमडीआरटी खडा गरियो भन्ने प्रसंग पहिला एमडीआरटी भनेको के हो ? भनेर बुझन जरुरी हुन्छ । एमडीआरटी (मिलियन डलर राउन्ड टेबल) एक अन्तराष्ट्रिय संस्था हो । जसको हेडअफिस अमेरिकामा छ । एमडीआरटीमा छनौँट हुनका लागि बीमा अभिकर्ताले वर्षमा ५४ लाख रुपैयाँको बीमा पोलिसि बिक्री गरेको हुनु पर्दछ ।

जनुवारी देखि डिसेम्बरसम्म उक्त टार्गेट पुरा गर्नु पर्दछ । जहाँ अभिकर्ताले एकल बीमा शुल्क बीमालेख मार्फतको ६ प्रतिशत रकम मात्रै गणना गर्न पाइन्छ । 

तर, ६ प्रतिशतको स्थानमा २५ प्रतिशत गणना गरेर एमडीआरटीको टार्गेट पुर्याइएको थियो । यसरी एमडीआरटीको नियमभन्दा बढी गणना गरेर नक्कली एमडीआरटी बनाइएको थियो । उनीहरुलाई गोकर्णेश्वर रिसोर्टमा सामेल गराइएको थियो ।

गोकर्णेश्वर रिसोर्टमा कक्टेल डिनर सहित एक रातको बास बस्दा प्रति व्यक्ति ३० हजारदेखि सुरु हुन्छ । यस आधारमा सो दिन कम्पनीले करिब ७ लाख रुपैयाँ दुरुपयोग गरेको देखिन्छ ।

कम्पनीका कर्मचारीहरूले यस्तो प्रकारको मिट आयोजना गरेर कराेडौँ रुपैयाँ दुरुपयोग गरेको बारेमा नेपाल बीमा प्राधिकरणमा उजुरी नै परेको हाे । 

यसका साथै दर्जनौं फेक एमडीआरटी अभिकर्तालाई विदेश भ्रमण गराएर पनि लाखौं रुपैयाँ कम्पनीको दुरुपयोग भएको उजुरीमा उल्लेख छ ।

प्रतिक्रिया