काठमाडौं। मुलुकको समग्र औद्योगिक तथा व्यावसायिक क्षेत्रमा कर्जाको माग सुस्त रहँदा बैंक तथा वित्तीय संस्थामा लगानीयोग्य तरलता बढ्दै गएको छ । तर सोहीबीच सेयर बजारमा लगानी गर्न प्रयोग हुने मार्जिन प्रकृतिको सेयर धितो कर्जा भने उल्लेख्य रुपमा विस्तार भएको देखिएको छ।
नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको चालु आर्थिक वर्षको १० महिनाको वित्तीय प्रतिवेदन अनुसार बैंक तथा वित्तीय संस्थाहरूको कुल शेयर धितो कर्जा १ खर्ब ६२ अर्ब ५३ करोड ९५ लाख रुपैयाँ पुगेको छ । जुन गत असार मसान्तको तुलनामा २१ अर्ब ८३ करोड रुपैयाँले बढी हो।
घट्दो ब्याजदर र बैंकहरुमा बढ्दो तरलताका कारण शेयर बजारप्रति लगानीकर्ताको आकर्षण र आत्मविश्वास बढ्दा कर्जाको माग निरन्तर उकालो लागेको देखिन्छ। उत्पादनमूलक तथा औद्योगिक क्षेत्रमा कर्जाको माग अपेक्षित रूपमा नबढ्दा बैंकहरू सस्तो ब्याजदरमा पनि लगानी विस्तार गर्न बाध्य भएका छन्, जसको प्रत्यक्ष असर सेयर धितो कर्जामा देखिएको हो।
राष्ट्र बैंकको तथ्यांकअनुसार यस अवधिमा साना र खुद्रा लगानीकर्ताको तुलनामा ठूला तथा संस्थागत ऋणीहरुतर्फ कर्जाको वृद्धि तीव्र देखिएको छ।
१ करोड रुपैयाँभन्दा बढीको ठूला शेयर धितो कर्जा सबैभन्दा बढी १७.२ प्रतिशतले वृद्धि भई १ खर्ब १५ अर्ब ९४ करोड ६८ लाख रुपैयाँ पुगेको छ। नीतिगत रूपमा ठूला लगानीकर्ता र संस्थागत वर्गका लागि कर्जा वातावरण केही सहज बनेको कारण यो वर्गको कर्जामा तीव्र वृद्धि देखिएको छ । यसले शेयर बजारमा ठूला तथा संस्थागत लगानीकर्ताको सक्रियता अझ बलियो हुँदै गएको संकेत गर्छ।
त्यस्तै, ५० लाखदेखि १ करोड रुपैयाँसम्मको मध्यम वर्गीय सेग्मेन्टमा प्रवाह भएको शेयर धितो कर्जा पनि १४.७ प्रतिशतले बढेको छ। यो समूहमा नियमित बजार सक्रियता रहने मध्यम तथा व्यावसायिक लगानीकर्ताको सहभागिता बढेको देखिन्छ।
तर साना लगानीकर्तातर्फको कर्जा वृद्धिदर भने तुलनात्मक रूपमा कमजोर देखिएको छ। २५ लाखदेखि ५० लाख रुपैयाँसम्मको कर्जा ११ प्रतिशतले बढ्दा २५ लाख रुपैयाँभन्दा कमको कर्जा वृद्धि मात्र ६.३ प्रतिशतमा सीमित भएको छ। यसले बजारमा साना लगानीकर्ताको सहभागिता अपेक्षाकृत सुस्त रहेको देखाउँछ।
बैंकहरूले उत्पादनमूलक क्षेत्रमा कर्जाको माग कमजोर भएपछि सस्तो ब्याजदरमा शेयर बजारतर्फ कर्जा प्रवाह बढाएको विश्लेषकहरु बताउँछन्। तर, ठूला लगानीकर्तामा कर्जा केन्द्रित हुँदै जाँदा बजार संरचना र जोखिम व्यवस्थापनमा दीर्घकालीन चुनौती पनि देखिन सक्ने उनीहरूको मूल्यांकन छ।
आर्थिकन्यूज
प्रतिक्रिया