शीर्षकहरू

सर्वोत्तम पेन्ट्सको आईपीओ खुला, सन्तुलित वित्तीय आधार तर कारोबार विस्तारमा चुनौती

सर्वोत्तम पेन्ट्सको आईपीओ खुला, सन्तुलित वित्तीय आधार तर कारोबार विस्तारमा चुनौती

काठमाडौं । सर्वोत्तम पेन्ट्स इण्डष्ट्रिज लिमिटेडले आज (जेठ २८ गते) देखि सर्वसाधारणका लागि प्राथमिक शेयर (आईपीओ) निष्काशन तथा बिक्री खुला गरेको छ। कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यका ७ लाख ५ हजार ५०० कित्ता साधारण शेयर सार्वजनिक निष्काशनमा ल्याएको हो।

कम्पनीले जारी पूँजी ३४ करोड रुपैयाँको २५ प्रतिशत बराबर ८ लाख ५० हजार कित्ता आईपीओ निष्काशन गर्न नेपाल धितोपत्र बोर्डबाट अनुमति प्राप्त गरेको थियो।

कुल निष्काशित शेयरमध्ये ८५ हजार कित्ता वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि छुट्याएर निष्काशन तथा बाँडफाँट गरिसकिएको छ। त्यस्तै ४२ हजार कित्ता सामूहिक लगानी कोष र १७ हजार कित्ता कर्मचारीका लागि सुरक्षित राखिएको छ। यी हिस्साबाहेक बाँकी रहेको ७ लाख ५ हजार ५०० कित्ता शेयर सर्वसाधारणका लागि खुला गरिएको हो।

कम्पनीको आईपीओमा न्यूनतम १० कित्ता र अधिकतम ५ हजार कित्तासम्म आवेदन दिन सकिनेछ। आवेदन अवधि असार २ गतेसम्म कायम रहनेछ। सो अवधिसम्म पूर्ण आवेदन नपरेमा निष्काशन अवधि असार ११ गतेसम्म लम्बिने कम्पनीले जनाएको छ।

शेयर निष्काशन तथा बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटल लिमिटेड रहेको छ। लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त आस्बा सदस्य बैंक तथा वित्तीय संस्था, तिनका शाखा कार्यालय तथा ‘मेरो शेयर’ प्रणालीमार्फत सि–आस्बा आवेदन दिन सक्नेछन्।

आईपीओ निष्काशनका लागि गरिएको साख मूल्याङ्कनमा केयर रेटिङ्स नेपालले कम्पनीलाई ‘केयर एनपी डबल बी माइनस’ (CARE-NP BB-) इस्यूअर रेटिङ प्रदान गरेको छ। उक्त रेटिङले कम्पनीको वित्तीय दायित्व बहन क्षमतामा मध्यम स्तरको जोखिम रहेको संकेत गर्छ।

कस्तो छ कम्पनी ?

आईपीओ खुलासँगै कम्पनीका वित्तीय तथा व्यावसायिक पक्षबारे लगानीकर्ताको चासो बढेको छ। कैलालीको गोदावरी नगरपालिका–२, अत्तरियास्थित उत्पादन प्लान्टबाट सञ्चालन हुँदै आएको सर्वोत्तम पेन्ट्सले एक दशकभन्दा बढी समयदेखि इमल्सन, इन्यामेल, डिस्टेम्पर र वाल पुट्टीलगायतका सजावटी रङ उत्पादन गर्दै आएको छ।

कम्पनीको सकारात्मक पक्षमध्ये न्यून ऋण भार प्रमुख मानिएको छ। आर्थिक वर्ष २०८०/८१ को अन्त्यसम्म कम्पनीको ऋण-खुद पूँजी अनुपात ०.२९ गुणामा झरेको छ, जुन अघिल्लो वर्ष ०.५२ गुणा थियो। ग्राहकबाट बक्यौता रकम असुल भएपछि कार्यपूँजी कर्जाको उपयोग घटेकाले ऋणको भार कम भएको कम्पनीको विवरणमा उल्लेख छ।

व्यवस्थापन तहमा अनुभवी नेतृत्व हुनु पनि कम्पनीको अर्को बलियो पक्ष मानिएको छ। अध्यक्ष शिवसिंह कार्की, प्रबन्ध निर्देशक लक्ष्मीदत्त पाण्डे तथा कार्यकारी निर्देशक नवीन भट्टले बैंकिङ, लगानी, उत्पादन तथा पेन्ट उद्योगमा लामो अनुभव हासिल गरेका छन्।

त्यसैगरी कम्पनीको ब्याज तिर्न सक्ने क्षमता पनि सुधारिएको देखिन्छ। आर्थिक वर्ष २०८०/८१ मा ब्याज कभरेज अनुपात २.०१ गुणा पुगेको छ, जुन अघिल्लो वर्ष १.५९ गुणा थियो।

यद्यपि कम्पनीले केही चुनौती पनि सामना गरिरहेको छ। बजारमा बढ्दो प्रतिस्पर्धा र आर्थिक सुस्तताका कारण ग्राहकबाट रकम असुल गर्न लामो समय लाग्ने गरेको छ। आर्थिक वर्ष २०८०/८१ मा बिक्रीपछि रकम उठाउन औसत ४५८ दिन लागेको देखिन्छ। कच्चा पदार्थ भण्डारण अवधि जोड्दा कम्पनीको सञ्चालन चक्र ५६४ दिन पुगेको छ, जसले नगद प्रवाहमा दबाब सिर्जना गरेको छ।

कम्पनीको कारोबार आकार पनि तुलनात्मक रूपमा सानो छ। आर्थिक वर्ष २०८०/८१ मा कम्पनीको कुल बिक्री करिब ९ करोड ५० लाख रुपैयाँमा सीमित रहेको छ। यस्तो अवस्थामा स्थापित राष्ट्रिय तथा बहुराष्ट्रिय ब्रान्डसँग प्रतिस्पर्धा गर्न कम्पनीलाई चुनौतीपूर्ण देखिन्छ।

पेन्ट उत्पादनका लागि आवश्यक अधिकांश कच्चा पदार्थ आयात गर्नुपर्ने भएकाले अन्तर्राष्ट्रिय बजार तथा अमेरिकी डलरको विनिमय दरमा हुने उतारचढावले लागत बढाउने जोखिम पनि कम्पनीसँग जोडिएको छ। कम्पनीको नाफा मार्जिन सीमित रहेकाले लागत वृद्धिको असर प्रत्यक्ष रूपमा नाफामा पर्न सक्छ।

यसरी हेर्दा सर्वोत्तम पेन्ट्सको वित्तीय संरचना तुलनात्मक रूपमा सन्तुलित देखिए पनि कारोबार विस्तार, नगद प्रवाह व्यवस्थापन, बजार प्रतिस्पर्धा तथा कच्चा पदार्थको लागत व्यवस्थापन कम्पनीका प्रमुख चुनौतीका रूपमा रहेका छन्। त्यसैले आईपीओमा लगानी गर्न चाहने लगानीकर्ताले कम्पनीका अवसर र जोखिम दुवै पक्षलाई ध्यानमा राखेर निर्णय लिनुपर्ने देखिन्छ।

प्रतिक्रिया